close

सञ्चालनमा आयो विद्युत प्राधिकरणको अन्तर्राष्ट्रिय स्तरको डेटा सेन्टर, केके छन् विशेषता ?

टेकपाना टेकपाना

असार १५, २०८१ १०:३५

सञ्चालनमा आयो विद्युत प्राधिकरणको अन्तर्राष्ट्रिय स्तरको डेटा सेन्टर, केके छन् विशेषता ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अत्याधुनिक डेटा सेन्टर सञ्चालनमा आएको छ । शुक्रबार काठमाडौंको स्युचाटारस्थित प्राधिकरणको डेटा सेन्टर भवनमा आयोजित कार्यक्रममा  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त डेटा सेन्टरको उद्घाटन गरे । 

सो अवसरमा बोल्दै मन्त्री बस्नेतले नेपालको डिजिटाइजेनका लागि विद्युत प्राधिकरणको डेटा सेन्टरले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । “ऊर्जा विकासको अभियानमा यो अर्को महत्त्वपूर्ण उपलब्धि हो,” उनले भने ।

स्युचाटारमा बनेको यो नै प्राधिकरणको पहिलो डेटा सेन्टर हो । यसअघि प्राधिकरण डेटा भण्डारणका लागि जीआईडीसी (गभर्मेन्ट इन्टिग्रेटेड डेटा सेन्टर) मा पूर्ण निर्भर थियो । जसले गर्दा जीआईडीसीमा समस्या आउँदा प्राधिकरण पनि प्रभावित हुने अवस्था थियो ।  

“पाँच/सात वर्ष अगाडि सञ्चालनका हिसाबले विद्युत प्राधिकरण कमजोर अवस्थामा थियो,” प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, “अहिले पनि सिस्टम अपरेसनमा जुन हिसाबले हामीले भरपर्दो र गुणस्तरीय सेवा दिन खोजिरहेका छौं, त्यसमा शतप्रतिशत सफल हुन सकेका छैनौं । सुधारको पहलका लागि डिजिटाइजेसन एकदमै महत्त्वपूर्ण हो । त्यसैका लागि हामीले डेटा सेन्टर सञ्चालनमा ल्याएका हौं ।”

प्रबन्ध निर्देशक घिसिङका अनुसार प्राधिकरणले देशैभर थ्री फेज स्मार्ट मिटर विस्तार गरिसकेको छ । र, सिङ्गल फेज स्मार्ट मिटर पाइलट प्रोजेक्टका रूपमा अगाडि बढाइएको छ । बिजुली प्रयोग गर्ने कूल ५६ लाख घरधुरीमध्ये हालसम्म तीन लाख स्मार्ट घरधुरीमा स्मार्ट मिटर जडान भइसकेको छ ।

उनका अनुसार डेटा सेन्टर सञ्चालनमा आएसँगै बिलिङ प्रणाली स्वचालित भएको छ । अर्थात् स्मार्ट मिटर जडान भएका घरमा विद्युतको बिल रिडिङ गर्न कर्मचारी गइरहन नपर्ने अवस्थालाई थप स्तरीय बनाइएको छ ।

“त्यस्तै प्राधिकरणको वित्तीय, मानव स्रोतसाधन र सबै किसिमको कामलाई डिजिटाइज गर्न ईआरपी सिस्टम अगाडि बढाएका छौं,” उनले भने, “प्राधिकरणभित्रको सबै सिस्टमलाई हामीले डिजिटाइज गरेर 'डिजिटल एनईए' स्थापित गर्ने कार्यक्रम ल्याएका छौं ।”

अब देशैभर सबस्टेसन विस्तार तथा जेनेरेसन प्लान्ट स्थापना अगाडि बढाउने योजना रहेको घिसिङले सुनाए ।

प्राधिकरणका उपप्रबन्धक एवं वितरण प्रणाली नियन्त्रण तथा तथ्याङ्क केन्द्र आयोजनाका आयोजना प्रमुख रविन्द्र श्रेष्ठले डेटा सेन्टर सञ्चालन प्राधिकरणको आईटी क्षेत्रमा एक कोशेढुंगा भएको उल्लेख गरे । “संसार आर्टिफिसियल इन्टेलिजेन्सको युगमा प्रवेश गरिरहेको अवस्थामा हामी बल्ल डिजिटाइजेसनलाई अगाडि बढाउन लागिरहेका छौं,” श्रेष्ठले भने, “डिजिटाइजेसनकै लागि हामीलाई डेटा सेन्टर चाहिएको थियो ।”

‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको डेटा सेन्टर भवनको भुइँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष रहेका छन् ।

पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डेटा सेन्टर रहेका छन् । ​श्रेष्ठका अनुसार ‘टियर थ्री’ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी डेटा सेन्टर निर्माण गरिएको हो । 

डेटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भर लगायतका सबै डेटा एकीकृत भण्डार गरी क्रमशः राख्दै लगिएको उनले सुनाए । त्यस्तै डेटा सेन्टर सुरक्षाका लागि नवलपरासीको सुनवलस्थित नयाँ बुटवल सबस्टेसनमा विपद् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । 

डेटा सेन्टरमा भौतिकभन्दा पनि अनलाइन आक्रमण बढी हुने भन्दै जोखिम न्यूनीकरणका लागि उत्कृष्ट मापदण्द अपनाएको श्रेष्ठको भनाइ छ । उनका अनुसार डेटा सेन्टरको रिकभरी डेटा सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डेटा सेन्टरलाई रिकभरी सेन्टरको रुपमा सञ्चालन गरिने छ ।  

सञ्चालनमा ल्याइएको नयाँ डेटा सेन्टरमा ४० ओटा सूचना प्रविधि र्‍याक रहेका छन् । जसमा ३६ ओटा सर्भर र चार ओटा नेटवर्क र्‍याक छन् ।

‘टियर थ्री’ मापदण्डका लागि तोकिएका सर्तहरू पूरा गर्न आवश्यक ब्याकअप सहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सीसीटीभी निगरानी, सञ्चालन तथा सुरक्षाको निरन्तर निगरानी लगायतको व्यवस्था गरिएको छ ।

अविछिन्न विद्युत् आपूर्तिका लागि वहुवैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएकाे छ । स्थानीय तथा देशको विद्युत् प्रणालीमै समस्या आई विद्युत् आपूर्ति बन्द भएमा डेटा सेन्टरलाई सुरक्षित रूपमा सञ्चालन गर्न एक मेगावाट क्षमताका दुई ओटा जेनेरेटर तयारी हालतमा राखिएको छ ।

३०० केभीए क्षमताका दुई थान मोड्युलर यूपीएस जडान गरिएको छ । यूपीएसको विश्वसनीयतालाई ध्यान दिएर  लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । मर्मतसम्भार तथा उपकरणहरू प्रतिस्थापन गर्दा डेटा सेन्टर बन्द गर्नु पर्दैन ।

प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र डेटा सेन्टरलाई जोड्न वैकल्पिक मार्गसहित अप्टिकल फाइबर जडान गरिएको छ । प्राधिकरणको प्रधान कार्यालय र डेटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबरमार्फत जोडिएको हो ।

डेटा सेन्टरका अतिरिक्त सेन्टरबाट काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउन निर्माणाधीन भूमिगत वितरण प्रणालीलाई अनुगमन, नियमन  र नियन्त्रण गर्न सकिने पूर्वाधार संरचना निर्माण गरिएको छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्विचिङ स्टेसनहरू जोडिने बताइएको छ ।

डेटा सेन्टर परिसरमा तीन ओटा विद्युतीय  गाडी एकैपल्ट चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ ।

डेटा सेन्टर निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनी लिमिटेडसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई सोही वर्षको नोभेम्बरबाट काम सुरु भएको थियो । सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत करिब एक अर्ब ४० करोड रुपैयाँ छ ।

पछिल्लो अध्यावधिक: असार १५, २०८१ ११:६