close

निःशुल्क भीपीएन प्रयोग गरे माछापुच्छ्रे बैंकको मोबाइल बैङ्किङ एप नखुल्ने

टेकपाना टेकपाना

असार १६, २०८१ १६:४०

निःशुल्क भीपीएन प्रयोग गरे माछापुच्छ्रे बैंकको मोबाइल बैङ्किङ एप नखुल्ने

काठमाडौं । निःशुल्क उपलब्ध हुने भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्दा माछापुच्छ्रे बैंकको मोबाइल बैङ्किङ एप नखुल्ने भएको छ । निःशुल्क उपलब्ध हुने भीपीएन प्रयोग गर्दा डिभाइस नै ह्याक हुने सम्भावना भएको भन्दै बैंकले त्यस्तो बेला एप नखुल्ने बनाएको हो । 

“ग्राहकको हितलाई संरक्षण गर्न निःशुल्क भीपीएन प्रयोग भइरहेको बेला यस बैंकबाट सञ्चालित मोबाइल बैंकिङ (M-Smart) नचल्ने कुरा जानकारी गर्दछौं,” बैंकले हालै एक सूचना जारी गर्दै लेखेको छ, “ मोबाइल बैंकिङ (M-Smart) बाट उपलब्ध सेवाहरू प्रयोग गर्ने बखत यदि भीपीएन अन भएको खण्डमा उक्त भीपीएन अफ गरेपश्चात् मात्र एम-स्मार्ट चल्नेछ ।”

विद्युतीय उपकरणमा हाल निःशुल्क भीपीएन सेवाको प्रयोग बढ्‌दै गएकाले ठूलो मात्रामा साइबर सुरक्षा जोखिम उत्पन्न हुन सक्ने बैंकले उल्लेख गरेको छ । सूचनामा अगाडि भनिएको छ, “निःशुल्क भीपीएन सञ्चालनले तपाईंको व्यक्तिगत विवरणको गोपनीयता भङ्ग हुने, उपकरणमा भएको गतिविधिहरूको अनधिकृत निगरानी तथा नियन्त्रण हुने र डिभाइस नै ह्याक हुने खतरा बढ्न सक्छ ।”

त्यस्तै पछिल्लो समय ओटीपी चोरीको घटना बढ्दै गइरहेकाले एसएमएस प्रमाणीकरण (SMS Validation) संयन्त्र कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ । यसले गर्दा बैंक अकाउन्ट खोल्दा जुन मोबाइल नम्बर दर्ता हुन्छ त्यसलाई मात्र आधिकारिक मानिने बैंकले उल्लेख गरेको छ । 

सुरक्षित डिजिटल बैंकिङ अभ्यासहरू अपनाउन र डिजिटल कारोबार गर्दा सचेत रहन बैंकले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असार १६, २०८१ १६:४३