close

साओमीले बालबालिकाका लागि ल्यायो लोकेसन ट्रयाकिङ र भिडिओ कल गर्न मिल्ने स्मार्टवाच

टेकपाना टेकपाना

असार १७, २०८१ १७:२३

साओमीले बालबालिकाका लागि ल्यायो लोकेसन ट्रयाकिङ र भिडिओ कल गर्न मिल्ने स्मार्टवाच

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी साओमीले बालबालिका लक्षित स्मार्टवाच सार्वजनिक गरेको छ । कम्पनीले आइतबार चिनियाँ बजारमा ‘साओमी मिटु किड्स फोन वाच सेभेन’ स्मार्टवाच सार्वजनिक गरेको हो । 

यसअघि पनि बालबालिका लक्षित स्मार्टवाच ल्याएको साओमीले यस पटक भने केही फरक फिचरहरू समावेश गरिएको नयाँ उत्पादन ल्याइएको जनाएको छ । यसको मुख्य विशेषता जीपीएस ट्रयाकिङ हो । यस फिचरको सहायताले अभिभावकले बालबालिकाको सुरक्षालाई बढवा दिन सक्छन् । 

यसमा भिडिओ कलको सुविधाका साथै लामो समय टिक्ने ब्याट्री ब्याकअप सिस्टम समावेश गरिएको छ । यो स्मार्टवाचको मूल्य ३९९ युवान (करिब सात हजार रुपैयाँ) कायम गरिएको छ । आजदेखि चीनमा कम्पनीले यो स्मार्टवाचको अनलाइन प्रि-अर्डर खुलाएको छ । 

के छन् यसका थप विशेषता?

अन्य स्मार्टवाचको तुलनामा यसमा केही स्तरीय स्मार्ट फिचर समावेश गरिएको कम्पनीले जनाएको छ । बालबालिकाका लागि डिजाइन गरिएकाले सुरक्षालाई विशेष प्राथमिकता दिएर यो स्मार्टवाच तयार पारिएको छ । यसमा नौ तहको ‘सेफ्टी पोजिसनिङ सिस्टम’ समावेश छ । यसको सहायताले देशका चार हजार बढी शपिङ स्टोर र रेल स्टेसनको लोकेसन सहजै कभर हुने कम्पनीको दाबी छ । त्यसका साथै बालबालिकाको लोकेसन सटीक रूपमा पत्ता लगाउन यसमा एआई इनह्यान्स्ड ट्रयाकिङ फिचर राखिएको छ । 

यसमा अभिभावकले पहिले नै उनीहरूका बालबच्चा एउटा सीमित क्षेत्रभन्दा बाहिर गए अलर्ट गराउने सिस्टम सेट गर्न सक्छन् । त्यस्तोमा यदि उनीहरूको सन्तान उक्त क्षेत्रभन्दा बाहिर गए अभिभावकलाई त्यसको नोटिफिकेसन जान्छ ।  यस स्मार्टवाचले ९० दिनसम्मको लोकेसन हिस्ट्रीको रेकर्ड राख्ने बताइएको छ । 

यो स्मार्टवाचमा २ मेगापिक्सेल फ्रन्ट फेसिङ क्यामेरा राखिएको छ । यसले क्लियर भिडिओ कलको सुविधा दिने कम्पनीले जनाएको छ । यो स्मार्टवाचले फोरजी एलटीई सपोर्ट गर्छ । यसमा १.४ इन्च टीएफटी डिस्प्लेका साथै ४८ एमबी र्‍याम र २५६ एमबी इन्टर्नल स्टोरेज दिइएको छ । 

यसमा ९५० एमएएच क्षमताको ब्याट्री छ । ब्याट्रीलाई लामो समयसम्म टिकाइ राख्न यसमा 'लो पावर चिप्स' र 'अप्टिलाइज पावर सेभिङ एल्गोरिदम' समावेश गरिएको छ । यो स्मार्टवाच २० मिटर वाटरप्रुफ छ । बच्चाबच्चीका लागि यसमा केही स्पोर्ट ट्रयाक गर्ने फिचर राखिएका छन् । त्यस्तै यस स्मार्टवाचमा भ्वाइस असिस्टेन्टको सुविधा पनि छ । 

 

पछिल्लो अध्यावधिक: असार १७, २०८१ १७:२४