close

धनाढ्यको सूचीमा आफ्नै पूर्व सहयोगीसँग पछि परे बिल गेट्स

टेकपाना टेकपाना

असार १८, २०८१ १३:५८

धनाढ्यको सूचीमा आफ्नै पूर्व सहयोगीसँग पछि परे बिल गेट्स

काठमाडौं । कुनै समय माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सका सहायक र पछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका स्टिभ बाल्मर अहिले गेट्सभन्दा धनी भएका छन् । ब्लुमबर्गका अनुसार माइक्रोसफ्टको शेयर वृद्धि हुँदा सोमबार बाल्मर बिल गेट्सभन्दा धनी अर्थात् विश्वकै छैठौं धनाढ्य बनेका हुन् । 

यस वर्ष माइक्रोसफ्टको शेयर २१ प्रतिशतले वृद्धि भई ऐतिहासिक रेकर्ड कायम गरेको छ । विशेषगरी च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईसँग सहकार्य गरेपछि कम्पनीको बजार मूल्य निरन्तर बढेको छ ।

ब्लुमबर्गका अनुसार बाल्मरसँग हाल १५७.२ अर्ब डलर सम्पत्ति छ । यसमध्ये ९० प्रतिशतभन्दा बढी सम्पत्ति माइक्रोसफ्टमा शेयरका रूपमा छ । यता बिल गेट्सको भने फरक-फरक क्षेत्रमा गरी कूल १५६.७ अर्ब डलर सम्पत्ति छ । 

६८ वर्षीय बाल्मर सन् २००० देखि २०१४ सम्म माइक्रोसफ्टका सीईओ रहेका थिए । सन् २०१४ मा सीईओ पद त्यागे पनि उनीसँग माइक्रोसफ्टको चार प्रतिशत शेयर रहेको छ । 

सन् २०१४ मा उनीसँग कम्पनीको ३३ करोड ३० लाख शेयर भएको खुलेको थियो । उनले आफू माइक्रोसफ्टको सबैभन्दा ठूलो शेयरकर्ता रहेको समेत दाबी गरेका थिए । 

बाल्मरले बिल गेट्सलाई सन् १९७४ मा हार्वर्ड अध्ययन गर्ने क्रममा भेटेका थिए । पछि सन् १९७७ मा उनी हार्वर्डबाट गणित र अर्थशास्त्रमा स्नातक उत्तीर्ण भए । त्यसपछि उनी स्ट्यान्डफर्ड बिजनेस स्कुलमा अध्ययन गर्न थाले ।

३० औं नम्बर कर्मचारीका रूपमा सन् १९८० मा बाल्मर माइक्रोसफ्टमा जोडिएका थिए । बिल गेट्सले उक्साएपछि त्यही वर्ष स्ट्यान्डफर्ड युनिभर्सिटीको अध्ययन छोडी उनी पूर्ण रूपमा माइक्रोसफ्टमा आबद्ध भए । 

सन् २००० मा बिल गेट्सलाई पछि पार्दै उनी कम्पनीको सीईओका रूपमा नियुक्त भएका थिए । उनकै पालामा माइक्रोसफ्टले एक्सबक्स डिभाइस सार्वजनिक गरेको थियो ।  

३४ खर्ब ४० अर्ब डलर मार्केट भ्यालुका साथ माइक्रोसफ्ट विश्वकै मूल्यवान् कम्पनीका रूपमा रहेको छ । माइक्रोसफ्टलाई पछ्याउँदै स्मार्टफोन निर्माता कम्पनी एप्पल दोस्रो स्थानमा छ । हाल एप्पलको बजार मूल्य ३३ खर्ब ८० अर्ब डलर रहेको छ । त्यस्तै ३० खर्ब ७० अर्ब डलरका साथ एनभिदिया तेस्रो स्थानमा छ ।

पछिल्लो अध्यावधिक: असार १८, २०८१ १४:१६