काठमाडौं । २३ जेठ २०८१ मा धनगढीकी संगीता क्षेत्री (नाम परिवर्तन)को मोबाइलको स्पिकरले काम गर्न छोड्यो । सामान्य समस्याले स्पिकरबाट आवाज नआएको होला भन्ने लागेर उनी दिउँसो करिब ३ बजेतिर धनगढीको आशिष इलेक्ट्रोनिक्स एन्ड मोबाइल पसल पुगिन् ।
महिलाले फोनमा आएको समस्या पसल सञ्चालक सरताज आलमलाई सुनाइन् । त्यसपछि आलमले आफ्ना प्राविधिकलाई फोन थमाइदिए । ती प्राविधिक १४ वर्षका थिए ।
त्यसको दुई दिनपछि अर्थात् २५ जेठमा महिला मर्मत गर्न दिएको मोबाइल लिन पसल पुगिन् । अनि, सरताज आलमसँग आफ्नो फोन बन्यो कि बनेन भनेर सोधिन् ।
आलमले प्राविधिकसँग मोबाइलको अवस्था बुझे । प्राविधिकले स्पिकर परिवर्तन गर्दा पनि नबनेकाले सर्भिस सेन्टरमै लैजानुपर्ने बताए । त्यसपछि आलमले सर्भिस सेन्टरमा फोन गरेर बुझे । त्यहाँ बुझ्दा मोबाइल बनाउन चार-पाँच हजार रुपैयाँ लाग्ने जानकारी आयो । आलमले यो कुरा महिलालाई सुनाए ।
सामान्य स्पिकर बनाउन त्यति धेरै खर्च गर्न नसक्ने भन्दै महिलाले मोबाइल फिर्ता मागिन् ।
फिर्ता लिएर फोनमा आफ्नो फेसबुक अकाउन्ट खोल्दा त्यसमा विभिन्न अश्लील साइटहरू सर्च गरेको भेटाइन् । र, पसल सञ्चालक आलमलाई ‘कसले सर्च गरेको यस्तो’ भनेर सोधिन् । आलमले प्राविधिकलाई सोधे । उनले पनि आफूलाई थाहा नभएको बताए ।
फेसबुकमा अश्लील साइट सर्च गर्ने बाहेक ती महिलाकी बहिनीको फोटो प्रयोग गरी अश्लील भिडिओ समेत बनाइएको थियो । उक्त भिडिओ नक्कली अकाउन्टबाट ती महिलाकै फेसबुक मेसेन्जरमा पठाइएको थियो ।
यसरी मर्मत गर्न दिएको मोबाइलको फोटो अश्लील बनाई चरित्रहत्या गरेको भन्दै ती महिलाले सोही दिन अर्थात् २५ जेठमा जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिइन् । उनको निवेदनपछि जिप्रकाबाट खटिएको प्रहरी टोलीले २७ जेठमा आलम र ती किशोर प्राविधिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो ।
प्रतिवादी आलमको बयान
आरोपित सरताज आलमका अनुसार ती महिला ग्राहकले २३ जेठमा मोबाइल बनाउन दिएकी थिइन् । र, २५ जेठमा मर्मत गर्न दिएको मोबाइल मागिन् । त्यसपछि प्राविधिकसँग मोबाइलको अवस्थाबारे साेध्दा मर्मत नभएको जानकारी पाए ।
आलमले ‘किन बनेन ?’ भनेर सोधें । प्राविधिकको भनाइ उद्धरण गर्दै आलमले प्रहरीलाई भने, “मोबाइल किन नबनाएको भनी सोध्दा उनले भने ‘मोबाइलमा स्पिकर हालेँ, तर बनेन । मर्मत गर्नका लागि बढी खर्च लाग्ने भएकाले मैले ती महिलालाई छोडेको नम्बरमा फोन गर्दा मोबाइल स्विच अफ भन्यो । त्यसैले मैले मोबाइल मर्मत नगरेको ।’’
प्राविधिकले नबन्ने जानकारी दिएपछि आलमले उक्त मोबाइलको सर्भिस सेन्टरमा फोन गरे । फोन गर्दा मोबाइल मर्मत गर्न चार-पाँच हजार रुपैयाँ लाग्ने जानकारी आयो । आलमले यो कुरा महिलालाई सुनाए । रकम धेरै लाग्ने भएपछि ती महिलाले मोबाइल मागेको आलमले प्रहरीलाई बताए ।
आलमका अनुसार महिलाले फोन मागेपछि आफ्नो फेसबुक खोलेर हेरिन् । त्यसमा विभिन्न अश्लील साइट सर्च गरेको देखिन् । त्यसबाहेक उनलाई 'एमडी धोनी' नामको फेसबुक अकाउन्टबाट ‘हेलो दिदी’ भन्दै मेसेज पठाइएको थियो ।
मेसेजपछि उनकी बहिनीको अश्लील फोटो पनि पठाइएको आलमले बयान दिएका छन् । त्यसपछि आलमले ती प्राविधिकलाई कसले गरेको भनेर सोधे । किशोरले आफूलाई थाहा नभएको जानकारी दिए । फोन ती किशोरले बाहेक अरूले प्रयोग नगरेकाले उनैले त्यस्तो गरेको हुनसक्ने आलमले आशंका व्यक्त गरे ।
के भन्छन् प्राविधिक ?
१४ वर्षीय ती किशोरझन्डै एक वर्षअघिदेखि उक्त मोबाइल पसलमा काम गर्दै आएका थिए । सुरुमा सरसफाइको काम गर्दै आएका उनी सामान्य किसिमका मोबाइल मर्मत गर्न जान्ने भइसकेका थिए । काम गर्दै आउने क्रममा पसलका सञ्चालक आलमले किशोरलाई गाली गर्ने र अनावश्यक मानसिक तनाव दिने गरेको ती किशोरले प्रहरीसँग बयानमा दिएका छन् ।
यसरी तनाव दिन थालेपछि उनी त्यहाँको काम छोडे र घरतिर लागे । घरमा गएपछि पनि आलमले आफूलाई जबर्जस्ती गरेर पसलमा ल्याएको किशोरको भनाइ छ ।
उक्त मोबाइल फोनका सन्दर्भमा उनले महिलाबाट मोबाइल पाउँदा त्यसको प्याटर्न र मोबाइल नम्बर मागेका थिए । उक्त प्याटर्न उनले पसलको बिलमा टिपेर राखेका थिए ।
ती महिला निस्किएपछि उनी मोबाइल मर्मत गर्न थाले । मोबाइल आफूले बनाउन नसक्ने भएपछि उनले त्यस मोबाइलमा भएको फेसबुक प्रयोग गर्न थाले । त्यही क्रममा उनले विभिन्न अश्लील साइट सर्च गरी हेरेको प्रहरीलाई बताए । त्यति मात्र नभई उनले उक्त फेसबुक अकाउन्टबाट विभिन्न व्यक्तिलाई फ्रेन्ड रिक्वेस्ट समेत पठाएको स्वीकारेका छन् ।
त्यसपछि उनी उक्त फोनको ग्यालरीमा गए । त्यहाँ फोटोहरू फेला पारे, जसमा केही फोटो ती महिलाकी बहिनीको थियो । किशोरले फोटो ब्लुटुथको सहायताले आफ्नो फोनमा ट्रान्सफर गरे ।
किशोरका अनुसार उनले फोटो आफ्नोमा ट्रान्सफर गरेपछि उक्त मोबाइल पसलको घर्रामा राखे । पछि पसलका सञ्चालक आलमले किशोरको फोन खोसे ।
आलमले अन्य ग्राहकका मोबाइल पनि कब्जामा लिई फोटो/भिडिओ डिलिट गरिदिने, फेसबुक फ्रेन्डहरूलाई अनफ्रेन्ड गरिदिने गरेको ती किशोरको भनाइ छ ।
त्यस दिन पनि उनले मोबाइल खोसे र आफू बस्ने कोठामा लिएर केही समय चलाए । अनि फोन फिर्ता दिए । उनले आफ्नो फोन प्रयोग गर्दा त्यसमा भएको फेसबुक अकाउन्ट बन्द गरिएको थियो ।
सो मोबाइलमा पछि 'एमडी धोनी' नामको अर्को फेसबुक अकाउन्ट लगइन गरिएको थियो । त्यसबाहेक फोनमा भएका क्यापकट तथा अन्य एपहरू पनि हटाइएको थियो ।
पछि किशोरले उक्त आईडीमा लगइन भएको 'एमडी धोनी' नामको अकाउन्टबाट महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाए र ती महिलाको मोबाइलबाट आफैंले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरे ।
अनि महिलालाई मोबाइल बनेन भन्ने जानकारी दिन उनले आफूले 'हेलो दिदी' लेखेर पठाए । त्यसबाहेक महिलाको नम्बरमा सम्पर्क गर्दा अफ भएको जानकारी आयो । त्यसपछि फोन घर्रामै राखेर अन्य काम गर्न थाले ।
पछि २५ गते ती महिलाले सोध्दा किशोरले फोनमा आफूले केही नगरेको बताए । तर, महिलाले उजुरी दिएपछि प्रहरीले २७ गते उनीहरूलाई नियन्त्रणमा लियो । बाटोमा ल्याउँदै गर्दा आलमले किशोरलाई ‘त्यो काम मैले गरेको हो । तिमी आफ्नो जिम्मा लिनू । तिमी नाबालक छौं । म तिमीलाई छुटाइहाल्छु’ भनेर सिकाएको ती किशोरले बयान दिएका छन् ।
ती किशोरले आफूले कसैको फोटो एडिट गरेर त्यसरी कसैलाई नपठाएको बयान दिएका छन् । ती फोटो अश्लील बनाएर पसल सञ्चालक आलमले नै पठाएको हुनसक्ने किशोरको आशंका छ ।
के भन्छ प्रहरी ?
प्रहरीले सबै घटना विश्लेषण गर्दै यी सबै काम किशोर र ती पसल सञ्चालक आलमले गरेको जनाएको छ । प्रहरी प्रतिवेदनमा भनिएको छ, “.... प्रतिवादी आलम र कानुनको विवादमा परेका बालकको संलग्नतामा पीडितको मोबाइल खोली अश्लील भिडिओ/फोटो बनाई पीडितको फेसबुक मेसेन्जर मार्फत पोस्ट गरी कसुर गरेको हुँदा निजहरू दुवै जनालाई कानुन बमोजिम कारवाही हुनुपर्छ । यसबाट प्रतिवादी सरताज आलम र कानुनको विवादमा परेका बालकले विद्युतीय कारोबार ऐन, २०६३ को ४७ (१) बमोजिमको कसुर गरेको तथ्य पुष्टि हुन आयो ।”
महिलाले प्रयोग गर्दै आएको फोन परीक्षणका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग डिजिटल फरेनन्सिक ल्याब नक्सालमा पठाइएको छ । त्यसको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
के हुन्छ सजाय ?
क्षतिपूर्तिको मागवादी:- विद्युतीय कारोबार ऐन, २०६३ को दफा ५२ बमोजिम निज प्रतिवादीबाट जाहेरवालालाई मनासिव क्षतिपूर्ति दिलाई भराई दिन हुन मागवादी लिइएको छ ।
अभियोगदाबीसँग सम्बन्धित कानुनी व्यवस्था :-
विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्ने (१) कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
बालबालिका सम्बन्धी ऐन २०७५ दफा ३६. सजाय सम्बन्धी व्यवस्था:
१४ वर्ष वा सो भन्दा माथि र १६ वर्ष वा सोभन्दा कम उमेरको बालबालिकाले कुनै कसुरजन्य कार्य गरेको भए निजलाई कानुन बमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुने छ ।
यस घटनामा तयार पारिएको अभियोगपत्र १७ असार २०८१ मा कैलाली जिल्ला अदालतमा दर्ता गरिएको छ ।