close

विद्यार्थीलाई लक्षित गर्दै शिक्षा मन्त्रालयले ल्यायो ‘करियर काउन्सिलिङ’ वेबसाइट

टेकपाना टेकपाना

असार १८, २०८१ १९:३

विद्यार्थीलाई लक्षित गर्दै शिक्षा मन्त्रालयले ल्यायो ‘करियर काउन्सिलिङ’ वेबसाइट

काठमाडौं । विद्यार्थीहरूलाई भविष्यबारे मार्गदर्शन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘करियर काउन्सिलिङ’ नामक वेबसाइट सार्वजनिक गरेको छ । 'करियरका कुरा' नामक संवाद कार्यक्रम सञ्चालन गरिरहेको मन्त्रालयले सोही कुरालाई प्रवर्द्धन गर्नेगरी ‘वृत्ति मार्गनिर्देशन कार्यक्रम’ अन्तर्गत मङ्गलबार उक्त वेबसाइट सार्वजनिक गरेको हो । 

यस वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टा छुट्टै ट्याबमा राखिएको मन्त्रालयले जनाएको छ । जसमा आवश्यक स्रोत साधन राखिएको छ । 

विद्यार्थीलाई के गर्ने/के बन्ने भनेर अन्योल भइरहेको समयमा वेबसाइट उपयोगी हुने बताइएको छ । यसका लागि विद्यार्थी ट्याबमा स्व-मूल्याङ्कन विधि, वृत्ति जानकारी/स्रोतहरू, परामर्श र मार्गदर्शन विधि, उच्च शिक्षा तथा छात्रवृत्तिका अवसरहरू राखिएको छ । तर विद्यार्थीले वेबसाइटमा उपलब्ध रुचि र खुबीको प्रश्नावली तथा ई-लर्निङमा सहभागी हुन अकाउन्ट बनाउनुपर्ने हुन्छ । 

मन्त्रालयका अनुसार विद्यार्थीलाई सूचना, परामर्श, एवं वृत्ति मार्गनिर्देशन सेवा प्रदान गर्नु वेबसाइटको उद्देश्य रहेको छ । यसले वृत्ति, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइलाई श्रम बजारको आवश्यकता, वैयक्तिक रुचि, खुबी र क्षमता अनुसार दिगो, मर्यादित र व्यवस्थित रुपमा मार्ग निर्देशित गर्ने मन्त्रालयले विश्वास लिएको छ ।

वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असार १८, २०८१ १९:३