close

एसईईमा सोचे जस्तो नतिजा आएन ? रिटोटलिङका लागि यसरी दिनुहोस् अनलाइन आवेदन

टेकपाना टेकपाना

असार १९, २०८१ १६:४९

एसईईमा सोचे जस्तो नतिजा आएन ? रिटोटलिङका लागि यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं । एसईई २०८० मा सोचे जस्तो नतिजा नआएन अनलाइनबाटै रिटोटलिङ (पुनर्योग)का लागि आवेदन दिन सकिने भएको छ । हालै एक सूचना प्रकाशित गर्दै राष्ट्रिय परीक्षा बोर्डले रिटोटलिङका लागि आवेदन दिन सकिने वेबसाइट सार्वजनिक गरेको हो । 

नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा अनलाइन फाराम भरी आउँदो ३१ असारसम्म निवेदन दिन सकिने बोर्डले जनाएको छ ।

पुनर्योगका लागि आवेदन दिन तलको प्रक्रिया अपनाउनुहोस्:

१) सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् । 

२) त्यसपछि त्यहाँ देखिएको स्टुडेन्ट पेमेन्टको बटनमा ट्याप गर्नुहोस् ।

३) यति गरेपछि ‘Symbol No.*’ लेखेको बक्समा सिम्बोल नम्बर राख्नुहोस् । (याद गर्नुहोस् पछाडिको अक्षर भने सिम्बोल नम्बरमा राख्न पर्दैन) अनि छेउको अर्को अप्सनमा जन्ममिति राख्नुहोस् (उदाहरणका लागि :- 2064/01/01)। 

(कतिपय अवस्थामा तपाईंले राखेको सिम्बोल नम्बर नमिल्न सक्छ । उक्त साइटमा आठ डिजिटको सिम्बोल नम्बर राख्नुपर्ने हुन्छ । कतिपय विद्यालयले विद्यार्थीलाई अगाडिको स्कुल कोडबाट एउटा सङ्ख्या घटाएर सिम्बोल नम्बर उपलब्ध गराएको भेटिएको छ । त्यस्तोमा विद्यालयलाई सोधेर आफ्नो सिम्बोल नम्बर थाहा पाउन सकिन्छ ।)

४) यति गरेपछि तपाईंले रिटोटलिङ गर्न चाहेको विषयको अगाडिपट्टि रहेको बक्समा टिक लगाउनु पर्ने हुन्छ । 

५) अब त्यहाँ भुक्तानी गर्ने दुई ओटा विकल्प देखिन्छन् । हाललाई खल्ती र ईसेवाबाट भुक्तानी गर्न सकिन्छ । 

एउटा विषयको रिटोटलिङ गर्न ५०० रुपैयाँ लाग्छ । त्यस्तै थप ५ रुपैयाँ सेवाशुल्क लाग्छ । आफूले छनोट गरेका विषयका लागि पुग्ने रकम वालेटमा भए/नभएको निश्चित गर्नुहोस् । सबै भइसकेपछि आफूलाई उपयुक्त लाग्ने भुक्तानीको माध्यम छान्नुहोस् ।

यी दुवै माध्यमबाट भुक्तानी गर्न आईडी र पासवर्ड वा पिन राख्नुपर्ने हुन्छ । अरूलाई भुक्तानी गरेर कोड राखे पुग्ने विकल्प नभएकाले तपाईं आफैंले आफ्नो अकाउन्ट प्रयोग गर्नुपर्ने हुन्छ वा अकाउन्ट भएका व्यक्तिमार्फत आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि रिटोटलिङ रिजल्ट बोर्डकै वेबसाइटमा देखिने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असार १९, २०८१ १७:३