काठमाडौं । प्रविधि क्षेत्रका उद्यमीहरूको सहभागितामा ‘टेक्नोप्रेनर कनेक्ट २०२४’ सम्पन्न भएको छ । टेक्सपायर कलेज र नेपाल एसोसियसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनिज न्यास–आईटीको सहकार्यमा प्रशिक्षणले आयोजना गरेको उक्त कार्यक्रममा नेपालको प्रविधि क्षेत्रका १० जना उद्यमीहरू वक्ताका रूपमा सहभागी थिए ।
उद्योग र शैक्षिक क्षेत्रबीच रहेको अन्तर कम गर्ने उद्देश्यका साथ यो कार्यक्रम बानेश्वरस्थित टेक्सपायर कलेजमा बुधबार आयोजना भएको थियो । कार्यक्रममा सय जना भन्दा बढी आईटी विषय पढ्न चाहने तथा हाल अध्ययनरत विद्यार्थीहरू सहभागी रहेको कलेजले जनाएको छ । जहाँ प्रविधिका विभिन्न विषयमा प्रस्तुतिका साथै विद्यार्थीहरूले उपस्थित उद्यमीहरूसँग छलफल गर्ने अवसर समेत पाएका छन् ।
कार्यक्रममा गल्ली म्याप्सका संस्थापक राज विक्रम महर्जन, टिककी सह–संस्थापक प्राथना शाक्य, रमाइलो गेम्सका सह–संस्थापक उत्तम अधिकारी, नेपाल रियालिस्टिक सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन श्रेष्ठ, डिजिटल नेपालका सीईओ इन्जिनियर आदित्य राज, इनड्राइभकी निेर्दशक रिता पोखरेल, भक्सक्रोका सीईओ सुशान्त राई र प्रिक्सा टेक्नोलोजीका निर्देशक अनिरुप घिमिरेले आफ्ना अनुभव बाँड्नुका साथै सूचना प्रविधि क्षेत्रका अवसरबारे चर्चा गरेका थिए ।
यस्ता कार्यक्रमले प्रविधि र शिक्षा क्षेत्रलाई जोड्न मद्दत गर्नुका साथै ज्ञान आदान प्रदान र नयाँ आविष्कार र अन्वेषणका लागि समेत प्रोत्साहन मिल्ने कलेजले जनाएको छ ।
‘‘यो कार्यक्रमले नेपालको प्रविधि क्षेत्रका आगामी पुस्तालाई शिक्षा सँगै नेटवर्किङको वातावरण समेत प्रदान गरेको छ,’’ कलेजका सीईओ तथा प्रधानाध्यापक लक्ष्मण पोख्रेलले भने, ‘‘यो खालको कार्यक्रम उद्योग र शिक्षा क्षेत्रबीचको सहकार्यमा भएको एउटा नयाँ आयाम हो । बजारको माग अनुसार विद्यार्थीलाई तयार गर्न समेत मद्दत पुग्नेछ ।’’