काठमाडौं । सामाजिक सञ्जाल आजको समयमा सूचना प्रवाह गर्न सशक्त माध्यम बनिसकेको छ । छोटो समयमा धेरै व्यक्तिसम्म सूचना पुर्याउने यो सबैभन्दा राम्रो विकल्प हो । यसै कारण, सूचना पाउन सामाजिक सञ्जालमा भर पर्नेहरूको संख्या बढिरहेको छ ।
यही भएर सूचना पाउन सामाजिक सञ्जालमा भर पर्नेहरूको संख्या बढिरहेको छ । नेपालमा फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्स, लिङ्क्डइन जस्ता सामाजिक सञ्जाल लोकप्रिय छन्। । तर दर्जन बढीको संख्यामा रहेका नेपाली विश्वविद्यालयहरूको सामाजिक सञ्जालमा उपस्थिति भने निकै कमजोर रहेको पाइएको हो ।
विश्वविद्यालयहरूको नाममा नक्कली अकाउन्टको संख्या पनि बढिरहेको छ, जसले साधारण व्यक्तिलाई वास्तविक अकाउन्ट चिन्नेमा अन्योल पैदा गर्छ ।
अहिलेसम्म कुनै पनि नेपाली विश्वविद्यालयहरूको सामाजिक सञ्जाल अकाउन्ट भेरिफाइड छैन ।
विश्वविद्यालयका लागि सामाजिक सञ्जालमा उपस्थिति महत्वपूर्ण हुन्छ । किनकि विद्यार्थीहरूको लागि सूचना पुर्याउन, भर्ना सम्बन्धी जानकारी दिन र विश्वविद्यालयको छवि निर्माण गर्न सामाजिक सञ्जाल प्रभावकारी माध्यम हुन सक्छन् ।
हामीले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा नमुना सर्वेक्षण गर्दा अधिकांश विश्वविद्यालयहरूले सामाजिक सञ्जाललाई प्राथमिकता नदिएको पायौं ।
त्रिभुवन विश्वविद्यालयले फेसबुक पेज र एक्स अकाउन्ट चलाइरहेको छ भने काठमाडौं विश्वविद्यालयले फेसबुक, लिङ्क्डइन, इन्स्टाग्राम, एक्स, टिकटक र युट्युब च्यानल चलाइरहेको छ ।
त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयले फेसबुक र एक्स अकाउन्ट मात्र प्रयोग गरिरहेका छन् । तर, यी अकाउन्टहरू मध्ये धेरैजसो सक्रिय छैनन् ।
पोखरा विश्वविद्यालयका सूचना अधिकृत लोक प्रसाद ढकालले व्यवस्थापन गर्न गाह्रो भएकाले अकाउन्ट सक्रिय नगरेको बताए । अहिले आफूहरूले फेसबुक पेजमा मात्र विश्वविद्यालयको गतिविधि पोस्ट गरिरहेको उनको भनाइ छ ।
“फेसबुक पेज चलाएता पनि विश्वविद्यालय अन्तर्गत रहेका विभिन्न विभाग तथा सम्बन्धन प्राप्त कलेजहरूको गतिविधिलाई समेट्न सकेका छैनौं,” उनले भने । सर्वसाधारणलाई विश्वविद्यालयको छवि सुधार गर्ने माध्यम सामाजिक सञ्जाल भएपनि यसमा आफूहरू चुकिरहेको उनले स्वीकारे ।
काठमाडौं विश्वविद्यालयको सामाजिक सञ्जाल अकाउन्ट हेर्ने शिव थापा मगरले भने, “युवापुस्ताले चलाउने प्लेटफर्ममा विश्वविद्यालय सक्रिय छ । भर्ना, गोष्ठी, सेमिनार, कार्यक्रम, गतिविधिहरू पोस्ट गरिरहेका छौं ।” यसबाहेक विश्वविद्यालय अन्तर्गतका विभाग र स्कुलले पनि आ-आफ्नै सामाजिक सञ्जाल अकाउन्ट चलाइरहेको उनले सुनाए ।
काठमाडौं विश्वविद्यालयले सक्कली पेज चिनाउन प्रोफाइल चित्रहरूमा नीलो पृष्ठभूमिमा लोगो राखेको छ । यसबाहेक वेबसाइटमा पनि सामाजिक सञ्जालहरूको लिङ्क राखिएको छ ।
त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय भने सामाजिक सञ्जाल व्यवस्थापनमा कमजोर देखिन्छन् । सामाजिक सञ्जालका लागि खास नीति नहुँदा यस्तो अवस्था सिर्जना भएको त्रिभुवन विश्वविद्यालयका सूचना अधिकृत भीमबहादुर श्रेष्ठले बताए । अब आउँदा दिनमा यस कुरालाई प्राथमिकतामा राख्ने उनले उल्लेख गरे ।
सामाजिक सञ्जालमा नेपाली विश्वविद्यालयका नक्कली पेज आधिकारिक पेजभन्दा पनि बढी सक्रिय देखिन्छन् । उदाहरणका लागि, त्रिभुवन विश्वविद्यालयले चलाइरहेको 'त्रिवि सूचना' पेजभन्दा अनौपचारिक पेज टीयू स्टुडेन्समा फलोअर धेरै छन् र पेज पनि उत्तिकै सक्रिय छ ।
विश्वविद्यालयहरूको नाम राखेर अनौपचारिक रूपमा खोलिएका पेज तथा ग्रुपहरूको सक्रियता र फलोअर दुवै धेरै छन् ।
विश्वविद्यालयका लागि सामाजिक सञ्जालको प्रयोग किन महत्त्वपूर्ण ?
सूचना प्रविधि विस्तारको यो समयमा विश्वविद्यालयका लागि सामाजिक सञ्जालको उपयोग अत्यावश्यक बनेको छ । यसले विद्यार्थी, शिक्षक, अभिभावक र अन्य सरोकारवालाहरूसँग प्रत्यक्ष र प्रभावकारी संवाद गर्न सकिने माध्यम प्रदान गर्छ ।
सामाजिक सञ्जालमार्फत विश्वविद्यालयले आफ्ना गतिविधि, पाठ्यक्रम, गोष्ठी, सेमिनार, भर्ना प्रक्रिया र अन्य महत्त्वपूर्ण जानकारीहरू शीघ्र र व्यापक रूपमा फैलाउन सक्छन् । यस्ता माध्यममा सक्रिय उपस्थिति जनाउँदा विश्वविद्यालयको छवि सुधार गर्न समेत सहयोग पुग्छ ।
यसकारण विश्वविद्यालयहरूले आधिकारिक अकाउन्टहरू भेरिफाइ गर्न, नियमित रूपमा ताजा सामग्री पोस्ट गर्न, विद्यार्थीहरूको सुझाव र प्रतिक्रियालाई सम्बोधन गर्न र नक्कली अकाउन्टहरूको पहिचान र नियन्त्रणमा विशेष ध्यान दिनुपर्छ ।
सामाजिक सञ्जाल नीति निर्माण गरेर र आवश्यक जनशक्ति तथा स्रोत साधन परिचालन गरी विश्वविद्यालयहरूले यसको प्रभावकारी प्रयोग गर्न सक्छन् ।