काठमाडौं । काठमाडौं जिल्लास्थित सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको स्टेसन सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक सूचना निकाल्दै सबै स्थानीय तहमा स्टेसन विस्तार गरिएको जानकारी दिएको हो ।
यससँगै अब राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने काम काठमाडौं जिल्लास्थित सबै नगरपालिकाको कार्यालयबाट गर्न सकिने भएको छ । काठमाडौं महानगरपालिकाको हकमा भने राष्ट्रिय सभागृहमा स्टेसन हुने छ ।
यसअघि नारायणहिटी दरबार (साविकको राहदानी विभाग) मात्र हुँदा अत्यधिक चाप हुने गरेको थियो । त्यसमाथि सरकारले सामाजिक सुरक्षा भत्ता लगायत विभिन्न सरकारी सेवा प्राप्त गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि चाप बढेको थियो ।
अब भने राष्ट्रिय परिचयपत्र स्टेसन स्थापना भएसँगै सेवाग्राहीहरूले आफूलाई पायक पर्ने नगरपालिकाको कार्यालयबाट विवरण दर्ता गर्न सक्ने छन् । यसका साथै जिल्ला प्रशासन कार्यालयमा समेत छुट्टै विवरण दर्ता स्टेसन रहेको छ ।