काठमाडौं । युट्युबले कपिराइट लागेका म्युजिक (सङ्गीत) हटाउन थप सजिलो बनाउने भएको छ । क्रियटरका लागि 'इरेज सङ टुल'मा अपडेट ल्याउँदै युट्युबले कपिराइट लागेका म्युजिक मात्र हटाउन सजिलो बनाएको हो ।
हालै अपडेट गरिएको टुलबाट अन्य अडिओ तथा साउन्ड इफेक्टमा असर नपर्ने गरी कपिराइट लागेका सङ्गीत मात्र हटाउन सकिने छ । युट्युबले यही टुल केही समयदेखि बेटा भर्सनका रूपमा चलाइरहेको थियो । तर, सो टुल त्यति सही भने थिएन । अब भने क्रियटरले सजिलै त्यस्ता सङ्गीतलाई हटाउन अथवा आवाजविहीन बनाउन सक्नेछन् ।
यसका लागि युट्युबले एआईयुक्त एल्गोरिदम प्रयोग गरेको जनाएको छ । यहीकारण कपिराइट लागेका बाहेक अन्य सामान्य अडिओमा प्रभाव नपर्ने बताइएको हो । तर, हटाउन गाह्रो हुने खालका गीत भए यसले सधैं काम नगर्ने पनि युट्यबको सपोर्ट पेजमा उल्लेख छ । त्यस्तो अवस्थामा हटाउनुका साटो अडिओलाई आवाज रहित बनाउँदा कपिराइटको मुद्दाबाट बँच्न सकिने जनाइएको छ ।