close

चन्द्रमामा भेटियो ठूलो गुफा, भविष्यमा मानिसको घर हुन सक्ने !

टेकपाना टेकपाना

साउन १, २०८१ १४:३९

चन्द्रमामा भेटियो ठूलो गुफा, भविष्यमा मानिसको घर हुन सक्ने !

काठमाडौं । वैज्ञानिकहरूले चन्द्रमामा एउटा ठूलो भूमिगत गुफा फेला पारेका छन् । नासाको चन्द्र अन्वेषण उपग्रह लुनार रुकनेसेन्स अर्बिटर (एलआरओ) को रेडार डेटाका आधारमा गुफा फेला परेको हो ।

यो गुफा ५५ वर्षअघि नील आर्मस्ट्रङ र बज एल्ड्रिन सवार एपोलो ११ अवतरण गरेको ‘मेयर ट्रान्क्विलिटाटिस’ नजिकै रहेको छ । 

वैज्ञानिकहरूका अनुसार यो गुफा चन्द्र सतहदेखि १५० मिटर तल रहेको छ र ४५ मिटर चौडा र ८० मिटर लामो रहेको छ । यस गुफालाई चन्द्रमा जाने अन्तरिक्षयात्रीहरूले बासका लागि प्रयोग गर्न सक्ने सम्भावना छ ।

चन्द्रमामा हुने विकिरण, अस्थिर तापक्रम तथा प्रतिकूल वातावरणबाट बचाउन गुफाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने वैज्ञानिकहरूले आशा व्यक्त गरेका छन् ।

गुफामा पानीको बरफ पनि हुन सक्ने सम्भावना छ, जसले अन्तरिक्ष यात्रीहरूको जीवनयापनका लागि आवश्यक स्रोत प्रदान गर्न सक्नेछ । यसकारण यो गुफा चन्द्रमामा बास बस्नका लागि उत्तम विकल्प हुनसक्ने विश्लेषण गरिएको छ ।

वैज्ञानिकहरूले यस प्रकारका गुफा चन्द्रमामा अझ धेरै भेटिन सक्ने अनुमान गरेका छन् । तर गुफाको संरचना र बारम्बार गइरहने भूकम्प चुनौतीपूर्ण हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ ।

यस खोजले चन्द्रमामा भविष्यका मिशनहरूका लागि नयाँ सम्भावनाहरू खोल्ने र मानव बसोबासका लागि थप सुरक्षाको सुनिश्चितता प्रदान गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: साउन १, २०८१ १६:२१