close

एक्कासि विश्वभर ठप्प हुन थाले विन्डोज कम्प्युटर, बैङ्किङ सेवा समेत अवरुद्ध*

टेकपाना टेकपाना

साउन ४, २०८१ १२:५४

एक्कासि विश्वभर ठप्प हुन थाले विन्डोज कम्प्युटर, बैङ्किङ सेवा समेत अवरुद्ध*

काठमाडौं । क्राउडस्ट्राइक एन्टिमालवेयर सफ्टवेयरमा आएको अपडेटका कारण एक्कासि विश्वभरका थुप्रै कम्प्युटरहरू ठप्प हुन थालेका छन् । नेपाली समय अनुसार आज शुक्रबार बिहान साढे ११ बजेतिर आएको क्राउडस्ट्राइक फाल्कन (crowdstrike falcon) अपडेटका कारण यस्तो समस्या देखिएको हो ।

यो समस्याका कारण नेपालका विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूको सेवा नै अवरुद्ध हुन पुगेको छ । ​क्राउडस्ट्राइक अपडेट इन्स्टल गर्दा प्रयोगकर्ताले ब्लु स्क्रिन अफ डेथ (बीएसओडी) एररको समस्या सामना गर्नु परेको छ ।

यो समस्या आउँदा कम्प्युटर अन गरिसकेपछि नीलो स्क्रिन मात्र देखिन्छ । खासगरी लाइसेन्स प्राप्त विन्डोज १० र ११ सिस्टममा सञ्चालित कम्प्युटरहरूमा यसखाले समस्या बढी आएको टाइम्स नाउले उल्लेख गरेको छ ।

क्राउडस्ट्राइक सेन्सर भर्सन प्रयोग गर्ने विश्वभरका सबैजसो कर्पोरेट तथा इन्टरप्राइज ग्राहकले यसखाले समस्या भोग्नु परेको हो । यस्तो सिस्टम नेपालमा नेपाल टेलिकम, एनसेल तथा प्रायः सबैजसो बैङ्कहरूमा प्रयोग हुँदै आएको छ । 

नेपालसँगै भारत, अस्ट्रेलिया, युरोप लगायतका देशहरूमा यस्तो समस्या बढी देखिएको साइबर सुरक्षाविज्ञ विजय लिम्बुले जानकारी दिए ।  

समस्या सामना गरिरहेका ग्राहकले क्राउडस्ट्राइकको सपोर्टमा सम्पर्क गर्न सक्नेछन् । क्राउडस्ट्राइक कम्पनीका अनुसार अहिले यो समस्या समाधान गर्ने काम भइरहेको छ ।

(*शीर्षक परिवर्तन गरिएको छ । स. )

पछिल्लो अध्यावधिक: साउन ४, २०८१ १३:३०