close

गतिलो प्रोफाइल फोटो छान्नै आधा घण्टा बिताउँछन् टिन्डर प्रयोगकर्ता, अब छिटो गर्न एआईले सघाउने

टेकपाना टेकपाना

साउन ४, २०८१ १६:१८

गतिलो प्रोफाइल फोटो छान्नै आधा घण्टा बिताउँछन् टिन्डर प्रयोगकर्ता, अब छिटो गर्न एआईले सघाउने

काठमाडौं । टिन्डरले प्रयोगकर्तालाई उपयुक्त डेटिङ प्रोफाइल फोटो छान्न सजिलो बनाउन एआईमा आधारित फिचर सार्वजनिक गरेको छ । कम्पनीले 'म्याच' (मिलन) गराउने सम्भावना बढाउन आकर्षक फोटो छान्ने अड्कलको कामलाई दूर गर्ने फोटो सेलेक्टर नामक टुल ल्याएको हो ।

फोटो सेलेक्टर प्रयोग गर्नका लागि प्रयोगकर्ताले टिन्डरबाटै सेल्फी खिच्नुपर्ने र एपलाई डिभाइसको क्यामेरा रोलमा एक्सेस दिनुपर्नेछ । त्यसपछि टिन्डरको एआई फिचरले फेसियल रिकग्निसन (अनुहार पहिचान गर्ने प्रविधि) प्रयोग गरी प्रयोगकर्ताले प्रोफाइल तस्वीर राख्न सक्ने गरी उपयुक्त फोटोको सङ्कलन तयार पार्नेछ ।

टिन्डरको सिस्टममा अपलोड नगरिकनै डिभाइसमै एआईले फोटो छनौटको प्रक्रियाका सम्पन्न गरिदिनेछ । टिन्डरका अनुसार फोटो सेलेक्टरको प्रयोजन डेटिङ प्रोफाइल राख्ने क्रममा समयको बचत गर्दै प्रयोगकर्तालाई 'अर्थपूर्ण कनेक्सन बनाउन' सघाउनु हो ।

एपले १८ देखि २५ वर्ष उमेर समूहका सात हजार प्रयोगकर्तामा गरेको अध्ययनबाट एक जना व्यक्तिले औसतमा ३३ मिनेट आफ्नो उपयुक्त प्रोफाइल फोटो छान्नका लागि खर्चिने गरेको देखाएको थियो । यो नयाँ फोटो सेलेक्टर फिचरले उक्त समय कम गर्न सघाउन सक्छ ।

तर यसले प्रयोगकर्तालाई थकान महसुस गराउने डेटिङ एपको मुख्य समस्यालाई पूर्णतः सम्बोधन गर्न भने नसक्ने जस्तै ठानिएको छ । आईओएस र एन्ड्रोइड सिस्टम भएका डिभाइसहरूमा फोटो सेलेक्टर उपलब्ध हुनेछ ।

जसको रोलआउट यही जुलाई देखि अमेरिकाबाट सुरु हुने कार्यतालिका रहेको छ । बाँकी देशहरूमा भने अगस्टसम्म लाग्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८१ १७:२९