काठमाडौं । कतिपय अवस्थामा मेसेन्जरले काम नगर्न सक्छ । त्यस्तो अवस्थामा पुराना मेसेजहरू लोड भइरहेका हँदैनन् । एपको सर्भरमा समस्या आउनु, एप पुरानो भर्सनको हुनु, डेटा अथवा नेटवर्क सम्बन्धी समस्या आउनु अथवा तपाईं ब्लकमा पर्नु, मेसेन्जरमा मेसेज लोड नुहुनुका कारण हुन् । तपाईंले तलका केही तरिका अपनाएर यो समस्या समाधान गर्न सक्नुहुन्छ:
-फेसबुक मेसेन्जर डाउन भए/नभएको हेर्नुहोस्
यदि मेसेन्जर डाउन भएको छ भने कुनै पनि व्यक्तिसँग गरिएको कुराकानी लोड हुँदैन । यसले तपाईँ मात्र नभएर ठूलो जनसंख्या प्रभावित हुने गर्छ । त्यसो हुँदा मेसेन्जर डाउन भएको सूचना तुरुन्त फैलिन्छ ।
-बन्द गरेर एप पुन: खोल्नुहोस्
एपलाई मिनिमाइज गर्नु र एप नै बन्द गर्नु फरक कुरा हुन् । यदि मेसेन्जर लोड भइरहेको छैन भने तपाईंले एप पूर्ण रुपमा बन्द गर्न सक्नुहुन्छ । यसो गर्दा पनि कतिपय अवस्थामा समस्या समाधान हुन्छ ।
-मेसेज गर्नुहोस्
फेसबुक मेसेन्जरमा मेसेज नजानु र मेसेज लोड नहुनु फरक कुरा हुन् । यसैकारण कुनै व्यक्तिसँग गरिरहेको कुराकानी लोड भइरहेको छैन भने तपाईंले उसलाई सुरुमा मेसेज पठाउन सक्नुहुन्छ । यसले गर्दा फेसबुकको सर्भरलाई नयाँ डेटा हेर्न र पछिल्ला टेक्स्ट तथा मिडिया लोड गर्न सहयोग गर्छ ।
-एयरप्लेन मोड अफ गर्नु
एयरप्लेन मोडले वाई-फाई र सेलुलर नेटवर्क डिसेबल गर्छ । अर्थात् एयरप्लेन मोड अन हुँदा कुनै पनि प्रकारको नेटवर्कले काम गर्दैन । सोही कारण तपाईंले एक पटक यो मोड अन भए/नभएको हेर्नु पर्छ ।
-भीपीएन डिसेबल गर्नु
सर्भर लोड र सेवा प्रदायक अनुसार विभिन्न कनेक्सन फरक फरक हुन सक्छ । सोही भएर यदि तपाईंले नि:शुल्क भीपीएनहरू प्रयोग गरिरहनु भएको छ भने तिनलाई 'अफ' गरिदिनुहोस् । यसले गर्दा तपाईंले मेसेन्जरमा समस्या भोगिरहनु भएको छ र सोही समयमा मेसेन्जरमा पनि अन छ भने 'अफ' गरिदिनुहोस् ।
-डिभाइस रिस्टार्ट गर्नु
स्मार्टफोनमा हुने कतिपय सामान्य समस्या फोन रिस्टार्ट गर्दा पनि समाधान हुन्छ । यसैले एक पटक तपाईंले पनि आफ्नो डिभाइस रिस्टार्ट गर्नुहोस् । यसो गर्दा मेसेन्जरको मात्र नभएर फोनमा भएका अन्य स-साना सामान्य सफ्टवेयर समस्या समाधान हुन सक्छन् ।
-मेसेन्जर अपडेट गर्नुहोस्
यदि मेसेन्जर एपको अपडेट उपलब्ध छ भने तुरुन्तै एप अपडेट गर्नुहोस् । किनकि एपको नयाँ भर्सनमा पुरानामा भएका धेरैजसो बगलाई समाधान गरिएको हुन्छ । त्यस्तै यदि अपरेटिङ सिस्टमको अपडेट नै उपलब्ध छ भने पनि अपडेट गर्नहोस् । अथवा तपाईंले एप नै अनइन्स्टल गरेर पुन: इन्स्टल पनि गर्न सक्नुहुनेछ ।
-एपका लागि डेटा सेभर अफ गर्नुहोस्
कतिपय अवस्थामा मोबाइल डेटा बचाउन डेटा सेभर अन गर्ने गरिन्छ । तर यसले फोटो तथा भिडिओ लोड हुन दिँदैन । यसलाई अफ गर्न मेसेन्जरको मेनु बटन>सेटिङ>डेटा सेभरमा जानुहोस् ।
-ब्राउजरको क्यास डिलिट गर्नुहोस्
यदि मोबाइल एप नभएर कुनै ब्राउजरबाट मेसेन्जर चलाइरहनु भएको छ भने तिनको क्यास मेमोरी डिलिट गर्नुहोस् । तर यसो गर्दा तपाईंले पुन: लगइन गर्नुपर्ने हुन्छ ।
यी माथिका उपायमध्ये तपाईंले कुनै पनि उपाय अपनाउन सक्नुहुन्छ । यदि यसो भएन भने फोनको डेटा सेभिङ फिचर प्रयोग गर्ने, नेटवर्क सेटिङ रिसेट गर्ने, अरुले ब्लक गरे/नगरेको हेर्ने लगायतका काम गर्न सक्नुहुन्छ ।