काठमाडौं। माओवादी केन्द्रका सांसद एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारले पूर्ववर्ती सरकारले ल्याएको सूचना प्रविधि योजनालाई अपनाउनेमा शङ्का व्यक्त गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै पुनले अघिल्लो सरकारको सूचना प्रविधि कार्यक्रमलाई हालको सरकारले स्वीकार गर्नेमा आशंका राखेको बताए ।
गत वर्ष एक खर्ब रुपैयाँभन्दा बढीको आईटी सेवा निर्यात भएको उल्लेख गर्दै उनले अघिल्लो सरकारले १० वर्षभित्र १५ लाख जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको बताए । उनले बजेटमार्फत आगामी दशकलाई आईटी दशकको रूपमा परिभाषित गरिएको बताउँदै ३० खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्ने योजनाको आधार र तथ्याङ्क प्रस्तुत गरे ।
ओलीले विश्वासको मत लिने क्रममा प्रस्तुत गरेको तथ्याङ्क गलत भएको बताउँदै पुनले भने,"साल ७४/७५ मा ओली प्रधानमन्त्री हुँदा राष्ट्रिय ऋण कुल जीडीपीको २६ प्रतिशत थियो, जुन पछि क्रमशः बढ्दै ४०.७ प्रतिशत पुगेको थियो । वर्तमान सरकारले भने यसलाई केवल १ प्रतिशत मात्र बढाएको छ ।"
उनले ओलीको सरकारमा शोधनान्तरको अवस्था १२३ करोड रहेको र हालको अवस्थामा ४२ हजार ५२७ करोड पुगेको जनाउँदै यसले नेपालका वस्तु र सेवाको निर्यात १३ महिना धान्ने क्षमता रहेको बताए ।
पुनले थपे, "ओलीको सरकारले पुँजीगत खर्च ५७ प्रतिशत गरेको भए पनि, मेरो सरकारमा यो ६० प्रतिशत पुगेको छ । तथ्याङ्कका आधारमा सकारात्मक अवस्थालाई निराशा देखाइएको छ भन्ने प्रश्न उठाउँछ ।"