close

नेपालीले कहिले देखि चलाउन पाउलान् युट्युबको भिडिओ एडिटिङ एप ?

टेकपाना टेकपाना

साउन ८, २०८१ ९:५३

नेपालीले कहिले देखि चलाउन पाउलान् युट्युबको भिडिओ एडिटिङ एप ?

काठमाडौं । युट्युबले गत वर्ष युट्युब क्रियटको घोषणा गरेको थियो । यस्तो एप, जसले क्रियटरलाई फोनबाटै भिडिओ एडिट गर्न मद्दत गरोस् । खासगरी युट्युब प्रयोगकर्तालाई लक्षित गर्दै उनीहरूलाई इङ्गेज गराइराख्ने फिल्टर, साउन्ड ट्रयाक, ट्रान्जिसन लगायतका आकर्षक फिचर भएको एप थिएन । टिकटककै मातृ कम्पनी बाइटडान्सले सञ्चालनमा ल्याएको एप क्यापकट भए पनि त्यो टिकटकमा बढी केन्द्रीत छ ।

यही आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले २८ फेब्रुअरी २०२४ का दिन केही सीमित देशमा युट्युब क्रियट सार्वजनिक गरेको थियो । सुरुवाती समयमा १३ देशमा उपलब्ध भएको यो एप हाल २१ ओटा देशमा उपलब्ध छ । तर नेपालमा भने यो एप हालसम्म उपलब्ध छैन । यदि तपाईं यहाँ उल्लेख भएका देशमा हुनुहुन्छ भने युट्युब क्रियट एप इन्स्टल गरेर प्रयोग गर्न सक्नुहुन्छ । एन्ड्रोइडमा युट्युब क्रियट इन्स्टल गर्न यहाँ क्लिक गर्नुहोस् । विश्वसनीय प्लेटफर्मबाट उक्त एपको एपीके भर्सन इन्स्टल गरेर तपाईंले यसका फिचरहरू अन्वेषण गर्न भने सक्नुहुन्छ । 

आज हामी युट्युब क्रियटमा भएका विभिन्न फिचरको जानकारी दिंदैछौं । 

१) फोनबाट रेकर्ड गरिएका क्लिपलाई सहजै एरेन्ज गर्न सकिने 

युट्युब क्रियटको सहायताले फोनबाटै खिचिएका भिडिओ क्लिपलाई सहजै मिलाएर राख्न सकिन्छ । उदाहरणका लागि तपाईं कतै यात्रा गर्दै हुनुहुन्छ भने भ्लगका लागि पहिला ससाना क्लिप खिच्नु हुन्छ । अनि त्यसलाई एरेन्ज गरेर एउटा उत्कृष्ट भिडिओ बनाउन सक्नुहुन्छ ।

२) रोयल्टी फ्रि म्युजिक 

युट्युब म्युजिक लाइब्रेरीमा गई कपीराइट नलाग्ने म्युजिक छान्ने काम झन्झटिलो हुन्छ । त्यसैलाई गुगलले युट्युब क्रियट मार्फत क्रियटरलाई सहज बनाउने प्रयास गरेको छ । गुगलका अनुसार क्रियटरले यसबाट ५० हजारभन्दा बढी म्युजिक प्रयोग गर्न पाउँछन् । जसमा कपीराइट लाग्दैन । 

३) ट्रान्जिसन र बिट 

भिडिओमा ट्रान्जिसनसँगै बिट मिलाउने काम पनि केही जटिल नै हुन्छ । सामान्य तरिकाले भिडिओ एडिट गर्न खोज्ने व्यक्तिलाई ट्रान्जिसनसँगै सुहाउँदो बिट राख्न सकस नै पर्छ । यसलाई सहज बनाउन युट्युब क्रियटमा ट्रान्जिसनसँगै बिट सिंक हुने फिचर छ । अर्थात् तपाईंले ट्रान्जिसन सेट गर्नुभयो भने सोही अनुसार उपयुक्त बिट आफैं छनोट हुन्छ । 

४) इफेक्ट, फिल्टर, स्टिकर र अन्य आकर्षक फिचर 

युट्युब क्रियटमा अडियन्सलाई इङ्गेज बनाइराख्न मद्दत गर्ने हजारौं स्टिकर, जीआईएफ, ईफेक्ट र फिल्टरहरू छन् । खासगरी एनिमेसन स्टिकर राख्नुपर्‍यो भने पनि यसमा भएका उपयुक्त एनिमेटेड स्टिकर छान्न सकिन्छ । 

त्यसबाहेक यसमा भएका विभिन्न ट्रान्जिसन, इफेक्ट र फिल्टरले भिडिओलाई स्मुथ बनाउन सघाउने कम्पनीले जनाएको छ । 

५) अडिओ क्लिनअप 

तपाईंले खिचेको भिडिओ क्लिपमा आएको ब्याकग्राउन्ड न्वाइजले भिडिओको स्तर घटाएको हुन सक्छ । युट्युब क्रियटमा त्यसका लागि अडिओ क्लिनअपको फिचर छ । यो फिचर प्रयोग गर्नासाथ तपाईंको भिडिओको ब्याकग्राउन्डमा भएको न्वाइज हट्छ । 

६) भ्वाइसओभर र अटो क्याप्सनको फिचर 

आफूले खिचेको भिडिओमा छुट्टै भ्वाइसओभर राख्न चाहनु भयो भने युट्युब क्रियटमा त्यसको फिचर पनि छ । तपाईंले यता भ्वाइसओभर गरेर त्यहींबाट अटो क्याप्सनको अप्सन छान्न सक्नुहुन्छ । यसले नेपाली भाषाका लागि काम गर्छ वा गर्दैन, स्पष्ट छैन । तर, युट्युबमा पछिल्लो समय नेपाली भाषामै पनि सही उच्चारण सहित अटो क्याप्सन राखिदिने भएकाले उक्त फिचर युट्युब क्रियटमा पनि उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ ।

७) एक्सपोर्ट गर्न झन्झट हुँदैन 

तपाईंले माथि भनिएका सबै फिचर प्रयोग गरी तयार पारेको भिडिओ एक्सपोर्ट गरेर छुट्टै अपलोड गरिरहनु पर्दैन । एक पटक भिडिओ तयार भयो भने स्वतः त्यही एपबाटै युट्युब च्यानलमा भिडिओ अपलोड गर्न सकिन्छ ।
 

यसमा एउटा सीमितता के छ भने तपाईंको फोनमा कम्तीमा पनि चार जीबी वा सोभन्दा बढी र्‍याम हुनुपर्छ । इन्ट्री लेभलका फोनमा दुईदेखि तीन जीबी र्‍याम हुने भएकाले त्यसमा भने यो एप प्रयोग गर्न सकिंदैन । हुन त पछिल्लो समय इन्ट्री लेभलकै फोनमा पनि कम्तीमा ४ जीबीको र्‍याम हुने कुरा सामान्य बन्दै गइरहेको छ । तपाईं युट्युब क्रियट प्रयोग गरी भिडिओ एडिट गर्नका लागि नयाँ फोन खरिद गर्दै हुनुहुन्छ भने कम्तीमा चार जीबी र्‍याम भएको फोन खरिद गर्ने कुरामा ध्यान दिनुहोस् । यट्युब आफैले पनि भिडिओ एडिट सम्बन्धी टिप्स राख्दै आएको छ । यहाँ क्लिक गरी युट्यब क्रियटबाट भिडिओ एडिट गर्न सिक्न सक्नुहुन्छ ।

 

पछिल्लो अध्यावधिक: साउन ८, २०८१ ९:५३