close

पत्रकारका लागि डिजिटल सुरक्षा सम्बन्धी निःशुल्क तालिम हुँदै, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

साउन ८, २०८१ १३:४६

पत्रकारका लागि डिजिटल सुरक्षा सम्बन्धी निःशुल्क तालिम हुँदै, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सीएमआर नेपाल जर्नलिजम एकेडेमीले ‘पत्रकारका लागि डिजिटल सुरक्षा’ (Digital Security for Journalists) तालिम सञ्चालन गर्ने भएको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित यस एकेडेमीले नेपाली पत्रकारहरूका लागि काठमाडौंमा यो तालिम सञ्चालन गर्न लागेको हो ।

तालिममा छनोट भएका पत्रकारलाई तालिमको शुल्कका लागि इन्टरलिङ्क एकेडेमीले फेलोशिप प्रदान गर्नेछ । सहभागीले पहिलो चरणमा छ दिनका लागि तालिम केन्द्रमा भौतिक रूपमा उपस्थित हुनुपर्ने छ । यो चरणको तालिम २७ देखि ३२ साउनसम्म काठमाडौंमा बिहान ९ देखि ५ बजेसम्म हुनेछ ।

त्यसपछि दोस्रो चरणमा सात हप्तासम्म अनलाइनबाट तालिम हुनेछ ।

इच्छुक पत्रकारले १९ साउनसम्म यहाँ क्लिक गरी आवेदन दिन सक्नेछन् । 

कसले आवेदन दिन सक्छन् ?

कम्तीमा तीन वर्ष अनुभव भएका नेपाली पत्रकारहरूले तालिमका लागि आवेदन दिनसक्ने छन् । यो आधारभूत तालिम भएकाले यसअघि डिजिटल सुरक्षाबारे अनुभव नभएकाहरूले पनि आवेदन दिनसक्ने छन् । 

डिजिटल सुरक्षा सम्बन्धी विभिन्न सीपहरूमा तालिम केन्द्रित हुनेछ । जोखिम मूल्याङ्कन, कम्प्युटर, मोबाइल लगायतका उपकरणको सुरक्षा, इन्टरनेट सुरक्षा, गोपनीयता, ईमेल र सञ्चार सुरक्षा, पासवर्ड, सोसल मिडिया, डेटा सुरक्षा लगायतका विषय यस तालिममा समेटिनेछन् । 

तालिमका छनोट भएका काठमाडौं उपत्यकाका सहभागीको तालिम शुल्क एकेडेमीले बेहोर्नेछ भने काठमाडौं उपत्यका बाहिरका सहभागीको हकमा तालिम शुल्क, यातायात र आवास खर्च एकेडेमीले बेहोर्नेछ ।

भौतिक र अनलाइनबाट हुने दुवै चरणका तालिममा सहभागी पत्रकारले प्रमाणपत्र पाउने छन् । 

आवेदन दिनका लागि बायोडेटाको डक्स वा पीडीएफ पठाउनु पर्ने एकेडेमीको सूचनामा उल्लेख छ । त्यस्तै छनोट भएका सहभागीले कार्यरत संस्थाबाट तालिमका लागि स्वीकृति र तालिम अवधिका लागि बिदा दिइएको पत्र बुझाउनु पर्नेछ ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८१ १४:८