काठमाडौं । एक्लोपनबाट टाढिन माइक्रोसफ्टका एक भारतीय इन्जिनियरले अटो चलाउन थालेको घटना बाहिर आएको छ । बैङ्गलोरमा बस्ने यो माइक्रोसफ्टका इन्जिनियर एक्लोपनबाट टाढिन अटो चलाउन थालेको बताइएको छ । भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्सका अनुसार अटो चलाउने व्यक्ति ३५ वर्षीय नम्म यात्री हुन् ।
प्रविधि क्षेत्रमै काम गर्ने वेन्कटेश गुप्ताले यी व्यक्तिको बारेमा सामाजिक सञ्जाल एक्समा फोटो राखेपछि यो घटनाले चर्चा पाएको हो । “सप्ताहन्तमा एक्लोपनसँग लड्न नम्म यात्री ड्राइभ गर्ने गर्छन्,” गुप्ताले एक्समा लेखेका छन्, “३५ वर्षीय नम्म माइक्रोसफ्टमा सफ्टवेयर इन्जिनियर छन् ।”
अहिले उक्त पोस्ट सामाजिक सञ्जालका विभिन्न माध्यममा भाइरल भइरहेको छ । यसमा माइक्रोसफ्टको लोगो भएको हुडी लगाएर अटो चलाउँदै गरेको व्यक्तिको तस्वीर देख्न सकिन्छ ।
सामाजिक सञ्जालमा यो घटना आएपछि धेरैले इन्जिनियरले एक्लोपनको सामना गर्नुपर्ने भन्दै सहानुभूति प्रकट गरेका छन् । प्रविधि क्षेत्रमा काम गर्दा एक्लोपनको अनुभव गर्ने अवस्था सामान्य भएको उनीहरूले प्रतिक्रिया दिएका छन् ।
कतिपयले आफ्नै अनुभव साझा गरेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया दिने एक प्रयोगकर्ताले आफ्नै कम्पनीका आईटी कर्मचारीले मानसिक स्वास्थ्य ठीक गर्न बारटेन्डरका रूपमा काम गर्ने गरेको बताएका छन् । केहीले भने विदेशमा आईटी कम्पनीमा काम गर्ने कर्मचारी राइड शेयरिङ एपमा समेत आवद्ध हुने गरेको सुनाएका छन् ।