काठमाडौं । एप्पल फोल्डेबल आईफोन निर्माणको तयारीमा जुटेको छ । बजारमा फोल्डेबल फोनको चर्चा बढेसँगै एप्पल पनि यस्तो योजनामा काम गर्न थालेको हो ।
द इन्फरमेसनमा प्रकाशित रिपोर्ट अनुसार फोल्डेबल आईफोनको डिजाइन सामसङको ग्यालेक्सी जेड फ्लिपसँग मिल्दोजुल्दो हुनेछ । भी६८ कोडनेम परियोजना अन्तर्गत कम्पनीले फोल्डेबल फोन विकास गर्न थालेको रिपोर्टमा उल्लेख छ ।
तर, एप्पलले प्रायः परियोजनाहरू बीचमै छोड्ने गरेकाले यो फोन बजारमा आउने वा नआउने भन्नेमा अझै अन्योलता छ । यदि फोल्डेबल आईफोन बजारमा आयो भने आईफोनको डिजाइनमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो परिवर्तन हुनेछ ।
सामान्यतया, आईफोनहरू निर्माण गर्न २४ महिना लाग्छ । तर, फोल्डेबल आईफोनमा नयाँ प्रविधि समावेश हुने भएकोले यसलाई थप समय लाग्ने बताइएको छ ।
एप्पलका डिजाइनरहरूले फोल्डेबल आईफोनलाई सामान्य आईफोनभन्दा आधा पातलो बनाउने लक्ष्य राखेका छन् ।
फोल्डेबल आईफोनमा सीमित फिचर दिएर उच्च शुल्क लिँदा ग्राहकलाई न्याय दिन सक्छ कि सक्दैन भन्ने चुनौती पनि एप्पललाई छ ।
रिपोर्ट अनुसार एप्पलले आईफोन १६ लाई थप अपग्रेड गर्ने तयारी गरिरहेको छ । खासगरी फोटो र भिडिओ खिच्नका लागि प्रेसर सेन्सेटिभ बटन राख्ने योजना छ । त्यस्तै, आईफोन १६ मा परिवर्तन गर्न सकिने किसिमको ब्याट्री पनि हुने बताइएको छ ।
यसबाहेक, आईफोन तात्तिने समस्या कम गर्न ब्याट्रीमा ग्रेफाइट शिट प्रयोग गरिनेछ । आईफोन १६ मा आईफोन १५ भन्दा उच्चस्तरीय अप्टिकल जुम पनि हुनेछ । यो फोन आईफोन १५ सिरिजको तुलनामा महँगो पर्ने बताइएको छ ।