close

आफ्नै घरमा अन्तर्राष्ट्रिय कल बाइपास सेन्टर सञ्चालन, दुई जना पक्राउ

टेकपाना टेकपाना

साउन १०, २०८१ १८:५३

आफ्नै घरमा अन्तर्राष्ट्रिय कल बाइपास सेन्टर सञ्चालन, दुई जना पक्राउ

काठमाडौं । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४० वर्षीय भूपेन्द्र श्रेष्ठ र झापाका २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन् ।

वनस्थलीमा अवैध कल बाइपास सञ्चालन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक होवीन्द्र बोगटीले जानकारी दिए ।

“भूपेन्द्र श्रेष्ठले आफ्नै घरमा कर्मचारी (खुमप्रसाद) राखेर कल बाइपासको काम गरिरहेको फेला पारेपछि पक्राउ गरेका हौं,” प्रहरी उपरीक्षक बोगटीले भने, “यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”

काठमाडौं महानगरपालिका वडा नं. १६ खरिबोट, वनस्थलीमा श्रेष्ठले आफ्नो तीन तले घरको माथिल्लो तलामा कल बाइपास सेन्टर खोलेका थिए । प्रहरीका अनुसार उनले कल बाइपास गर्न ८ पोर्ट क्षमताको डिभाइसमा एनटीसी तथा एनसेलका सिमकार्ड प्रयोग गरेका थिए ।

नेपाल टेलिकम र एनसेलको प्राविधिक सहयोगमा उनीहरूलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

पक्राउ परेका व्यक्तिबाट टीपी लिङ्क वाई-फाई राउटर, भीओआईपी गेटवे, इन्भर्टर, ब्याट्री, नौ ओटा एनसेलका सिम र एउटा नमस्ते सिम बरामद गरिएको छ ।

बोगटीका अनुसार उनीहरूलाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८१ १९:०