काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड शेयरिङ सम्बन्धी कार्यविधि बनाउन थालेपछि यातायात व्यवसायी विरोधमा उत्रिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीको नेतृत्वमा बिहीबार पोखरामा व्यवसायीहरूले एक घण्टा सवारी साधन रोक्दै विरोध प्रदर्शन गरेका हुन्।
महासंघसँग आबद्ध व्यवसायीहरूले पोखराको सिर्जनाचोक, पृथ्वीचोक, राष्ट्र बैंक चोक लगायतका मुख्य चोकहरूमा सवारी आवतजावत अवरुद्ध पार्दै विरोध जनाए । साथै उनीहरूले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय नजिक आफ्ना सवारी साधन रोक्दै शक्ति प्रदर्शन गरेका थिए ।
व्यवसायीहरूले सातबुँदे माग राख्दै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव शंकर पण्डितलाई ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्रमा वैज्ञानिक भाडा दर कायम गर्न र निजी सवारीलाई सार्वजनिक प्रयोगमा ल्याउन दिन नहुने लगायतका विषय समेटिएका छन् ।
महासंघ गण्डकीका सचिव योगेन्द्र केसीले माग सम्बोधन नभए आगामी सातादेखि गाडी चलाउन बन्द गर्ने र ग्यारेजमा थन्क्याउने चेतावनी दिए ।
यता गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदिपकुमार रेग्मीले राइड शेयरिङ सम्बन्धी कार्यविधि बन्ने प्रक्रिया सुरु भइसकेकाे बताएका छन् । “ऐन र नियमावली आइसकेपछि हाम्रो आर्थिक विधेयकले कार्यविधि बनाउन भनेको छ । त्यसमा हामीले राइड शेयरिङको विषयमा छलफल गरेका थियौं । उहाँहरूले त्यसैलाई आधार मानेर राइड शेयरिङलाई मान्यता नदिने माग सहित अन्य बुँदा समेटेर ज्ञापनपत्र बुझाउनु भएको छ ।”