close

ब्याट्री फेर्न मिल्ने फोनका लागि बढी मूल्य तिर्नुपर्ने भयो भने तपाईं के गर्नुहुन्छ ?

टेकपाना टेकपाना

साउन १२, २०८१ २१:२

ब्याट्री फेर्न मिल्ने फोनका लागि बढी मूल्य तिर्नुपर्ने भयो भने तपाईं के गर्नुहुन्छ ?

काठमाडौं । स्मार्टफोन बढी टिकाउ हुने किसिमका हुन्छन् । हुन त फोन कति टिकाउने भन्ने विषय प्रयोगकर्ताको हातमा हुन्छ । तर, जतन गर्न सकियो भने एउटै फोन वर्षौं टिक्न सक्छ ।

पछिल्लो समय स्मार्टफोन निर्माताले फोनको सेक्युरिटी र सफ्टवेयर अपडेट पनि लामो समयसम्मको ल्याएका छन् । सामसङ ग्यालेक्सी एस २४ सिरिजमा सात वर्षको सेक्युरिटी र सफ्टवेयर अपडेट उपलब्ध गराउने कम्पनीले प्रतिबद्धता दिएको छ । 

सफ्टवेयरमा मात्र अपडेट दिएर साध्य हुँदैन । त्यसैले कम्पनीले हार्डवेयरमा पनि उत्तिकै मेहनत गर्नुपर्ने हुन्छ । आधुनिक स्मार्टफोनका ब्याट्री पक्कै पनि हामीलाई उपयोगी हुने किसिमकै छन् । तर, त्यसको ‘लाइफ’ भने प्रतिस्थापन गर्न आवश्यक छ ।

कम्पनीहरूले व्यक्ति वा सेवा केन्द्रले ब्याट्री परिवर्तन गर्न गाह्रो बनाइदिएका हुन्छन् । जसले गर्दा प्रयोगकर्ता ब्याट्री परिवर्तन गर्नुपर्ने फोन छ भने नयाँ फोन नै लिन रुचाउँछन् । त्यसबाहेक ब्याट्री फेर्नका लागि लाग्ने खर्च पनि त्यस्तै चर्को हुन्छ । जसले गर्दा ब्याट्री परिवर्तन गर्नुभन्दा फोन नै परिवर्तन गर्न प्रयोगकर्तालाई जायज लाग्छ । त्यसैले एउटै फोन धेरै वर्षसम्म प्रयोग गर्छु भन्ने योजनाबाट प्रयोगकर्ता पछि हट्न बाध्य छन् । 

ब्याट्री खोल्न मिल्ने वा खोलेर फेर्न मिल्नेमध्ये कुनै दुई ओटा फोन छान्न दिइयो भने तपाईं कुन फोनका लागि बढी शुल्क तिर्नुहुन्छ ? ब्याट्री स्वाप गर्न सकिने भयो भने बढी शुल्क तिर्नुहुन्छ कि, रिप्लेस गर्न सकिने वा मर्मत गर्न सकिने ब्याट्री राखियो भने बढी तिर्नुहुन्छ कि ? ब्याट्री रिमुभ गर्ने फोन नै तपाईंको प्राथमिकतामा पर्दैन वा अहिलेकै डिजाइन ठीक छ ? 

एन्ड्रोइड अथोरिटीले गरेको सर्वेक्षणमा ५३ प्रतिशत बढी प्रयोगकर्ताले ब्याट्री निकाल्न वा फेर्न मिल्ने भयो भने बढी रकम तिर्ने कुरामा सहमति जनाएका छन् । ब्याट्री निकाल्न मिल्ने सुविधा भयो भने त्यसका बेफाइदा पनि छन् । तर, त्यसका फाइदाहरू पनि उत्तिकै छन् । खासगरी तपाईं कतै यात्रा गर्दै हुनुहुन्छ भने दुई वा सोभन्दा बढी ब्याट्री बोक्न सक्नुहुन्छ । यसले ब्यागमा चार्जर बोकेर यात्रा गर्नुपर्ने बाध्यता हटाउँछ । 

ब्याट्री रिप्लेस गर्न सकिने किसिमको भयो भने प्रयोगकर्ताले आफ्नो फोनमा उपयुक्त हुने ब्याट्री आफै खरिद गरेर सेट गर्न सक्छन् । अर्थात् ब्याट्री परिवर्तन गर्नका लागि कसैलाई बढी शुल्क तिरिरहनु पर्दैन । तर, यसरी ब्याट्री परिवर्तन गर्न सकिने किसिमको फोन ल्याइयो भने अहिलेका प्रिमियम फोनको तुलनामा त्यस्ता फोन भद्दा देखिन्छन् । ती फोनलाई ग्राहकले कत्तिको आत्मसात गर्न सक्छन् भन्ने प्रश्न पनि अगाडि आउँछ । 

आईफोन १६ का सन्दर्भमा एप्पलले ब्याट्री रिप्लेस गर्न सकिने सुविधा ल्याउने चर्चा गरिएको छ । जसरी हामी बार फोनमा ब्याट्री रिप्लेस गर्न सक्छौं, त्यति सजिलै आईफोन १६ मा रिप्लेस गर्न सकिन्छ वा सकिंदैन भन्ने स्पष्ट छैन ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८१ २१:१६