close

ओटीटी एप कान्तिपुर सिनेमाजमा वेब सिरिज ‘द नाइट डायरिज’ निःशुल्क हेर्न पाइने

टेकपाना टेकपाना

साउन १३, २०८१ १९:३

ओटीटी एप कान्तिपुर सिनेमाजमा वेब सिरिज ‘द नाइट डायरिज’ निःशुल्क हेर्न पाइने

​काठमाडौं । नेपाली ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजमा ‘द नाइट डायरिज’ वेब सिरिज निःशुल्क स्ट्रिमिङ गरिएको छ । कम्पनीले बिहीबारदेखि वेब सिरिजको स्ट्रिमिङ थालेको हो ।

यस वेब सिरिजलाई ‘मिनी सिरिज’ को अवधारणामा तयार पारिएको कान्तिपुर सिनेमाजले जनाएको छ ।

“यो कन्सेप्ट नेपालका लागि एकदमै नयाँ हो,” कान्तिपुर सिनेमाजका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीले भने, “अन्तर्राष्ट्रिय प्लेटफर्ममा छोटा-छोटा कथाहरूको श्रृङ्खला मिनी सिरिजको रूपमा टिभी वा ओटीटीमा रिलिज गर्ने चलन छ ।” पुरीले यो नेपाली ओटीटी प्लेटफर्ममा रिलिज भएको पहिलो मिनी वेब सिरिज भएको बताए ।

काठमाडौं सहरमा बस्ने चार युवा र चार युवतीको एक रातको कथालाई समेटेर ‘द नाइट डायरिज’ निर्माण गरिएको हो । यस सिरिजमा किशोरावस्थाको प्रेम, आकर्षण, चाहना आदिलाई देखाइएको पुरीको भनाइ छ ।

कान्तिपुर सिनेमाजका लागि कान्तिपुर फिल्म एकेडेमीका फिल्म विद्यार्थीको समूहले तयार पारेको मिनी सिरिजमा चार एपिसोड छन् । कम्पनीले बुधबारसम्मका लागि चारै एपिसोड निःशुल्क स्ट्रिमिङ गर्ने जनाएको छ । त्यसपछि भने ‘द नाइट डायरिज’ हेर्न कान्तिपुर सिनेमाजको सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ ।

फरक विधाका चलचित्र, भिजुअल कन्टेन्ट र स्वतन्त्र (इन्डिपेन्डेन्ट) फिल्म मेकरहरूका लागि कान्तिपुर सिनेमाज एक उपयुक्त विकल्प बन्दै गएको पुरीले बताए । उनका अनुसार हाल उक्त एपमा फिचर फिल्म, अवार्ड विनिङ सर्ट फिल्म, वेब सिरिज, प्ले सिरिज र मिनी सिरिज गरी २५ ओटा प्रिमियम कन्टेन्ट रिलिज भइरहेका छन् ।

यस प्लेटफर्मलाई विश्वभर कान्तिपुर सिनेमाजको वेबसाइट लगइन गरेर वा मोबाइल एप डाउनलोड गरेर हेर्न सकिन्छ । मासिक २९९ रुपैयाँ तिरेर कान्तिपुर सिनेमाजको सब्स्क्रिप्सन लिन सकिन्छ । कान्तिपुर सिनेमाजको एप डाउनलोड गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: साउन १३, २०८१ १९:३