close

राष्ट्रिय परिचयपत्र नम्बर भएकाले अस्थायी कार्ड आफै प्रिन्ट गर्न सक्ने

टेकपाना टेकपाना

साउन २०, २०८१ १४:३७

राष्ट्रिय परिचयपत्र नम्बर भएकाले अस्थायी कार्ड आफै प्रिन्ट गर्न सक्ने

काठमाडौं । राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अस्थायी कार्ड आफै प्रिन्ट गर्न सक्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी रूपमा भौतिक कार्ड आवश्यक पर्ने सेवाग्राहीलाई लक्षित गर्दै यस्तो व्यवस्था ल्याउने तयारी गरेको हो । 

विभागका महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्र नम्बर भएका व्यक्तिले डिजिटल प्रति प्राप्त गर्न तथा त्यसको प्रिन्ट गर्न सक्नेगरी व्यवस्था ल्याउन लागेको जानकारी दिए । “भौतिक कार्ड नै हुनुपर्छ भन्ने छैन, भर्चुअल कार्डलाई पनि प्रयोगमा ल्याउन सकिन्छ,” कटेलले टेकपानासँग भने, “त्यससँगै अस्थायी कार्ड आवश्यक पर्ने सेवाग्राहीले कार्ड आफै प्रिन्ट गर्न सक्ने व्यवस्था पनि ल्याउन लागेका छौं ।”

अहिले अस्थायी कार्ड प्रिन्ट गर्न सकिने व्यवस्थाका लागि तथ्याङ्क भण्डारणको काम भइरहेको विभागका कम्प्युटर इन्जिनियर ई. राम थापाले जानकारी दिए । “सर्वसाधारणलाई प्रिन्ट गरेर दिने कार्डको छुट्टै महत्त्व छ,” ई. थापाले भने, “राष्ट्रिय परिचयपत्र नपाउँदासम्म प्रमाणको रूपमा अस्थायी कार्ड प्रिन्ट गर्न सकियोस् भन्नका लागि यो व्यवस्था आउन लागेको हो ।”

प्रणाली तयार भई अहिले तथ्याङ्क प्रशोधनको काम भइरहेको बताउँदै उनले अबको तीन हप्तासम्ममा कार्ड आफै प्रिन्ट गर्न सकिने व्यवस्था सुरु गर्ने जानकारी दिए । “हामीसँग डेढ करोड बढी डेटा छ । तीन हप्तामा सबै प्रोसेसिङ सकेर पब्लिकलाई हस्तान्तरण गर्छौं,” उनले भने । 

उनका अनुसार यस्तो कार्डमा वास्तविक कार्डको जस्तै विवरण हुनेछन् । आधिकारिक रूपमा राष्ट्रिय परिचयपत्र प्रिन्ट भएर आउन समय लाग्ने र अस्थायी रूपमा कार्डको प्रमाण आवश्यक पर्ने सेवाग्राहीले यो सुविधा लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: साउन २०, २०८१ १४:४९