काठमाडौं । सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक हुँदा धेरैले विद्यार्थीले यसलाई गलत रूपमा प्रयोग गर्ने चिन्ता व्यक्त गरे । खासगरी असाइनमेन्ट वा परीक्षामा च्याटजीपीटी दुरुपयोग हुने अनुमान लगाइएको थियो । नभन्दै च्याटजीपीटी प्रयोग गरी विद्यार्थीले चिट चोरेका थुप्रै घटना बाहिर आए । त्यसैलाई नियन्त्रण गर्न थुप्रै कम्पनीले एआई डिटेक्सन टुल सार्वजनिक गर्न थाले । खासगरी यस्ता टुलले कुनै पनि कन्टेन्ट एआईले तयार पारेको हो वा होइन भन्ने पहिचान गर्न सक्छन् ।
अहिले भने च्याटजीपीटी निर्माता कम्पनी ओपनएआई आफैले यस्तो टुल निर्माण गरेको खुलासा गरेको छ, जसले च्याटजीपीटीले लेखेको टेक्स्ट पहिचान गर्न सक्छ ।
द वाशिङटन पोस्टका अनुसार यस प्रविधिले च्याटजीपीटीले लेखेका सामग्री ९९.९ प्रतिशत सटीकताका साथ मापन गर्न सक्छ, जसले अब कुन शब्द (टोकन) आउँछ भन्ने अनुमान समेत लगाउँछ । त्यसपछि एआई डिटेक्सन टुलले टोकनमा केही परिवर्तन गरेर त्यसमा वाटरमार्क छोड्छ । यस्तो वाटरमार्क आँखाले देख्न सक्दैन । तर, उक्त टुलले भने त्यही कन्टेन्ट एआईबाट तयार पारेको हो वा होइन भन्ने पहिचान गर्छ ।
यो प्रविधि विगत एक वर्षदेखि तयारी अवस्थामा रहे पनि कम्पनीभित्रै यसबारे विवाद सिर्जना भएपछि सार्वजनिक नगरिएको बताइएको छ । च्याटजीपीटीले लेखेको सामग्री पत्ता लगाउने टुल बाहिरिए प्रयोगकर्ता घट्ने अड्कल गरिएको छ । तर, पारदर्शिता कायम राख्न यो टुल सार्वजनिक गर्नुपर्ने कम्पनीभित्रकै कतिपय कर्मचारीको मत छ ।
च्याटजीपीटी र जेमिनाईजस्ता जेनेरेटिभ एआई टुलले प्रयोगकर्ताले सोधेका प्रश्नको जवाफ मान्छेको बोलीचालीकै शैलीमा दिन्छन् । कुनै लामो लेख पठाएर त्यसबाट विभिन्न प्रश्न सोधियो भने त्यसको जवाफ पनि तुरुन्तै दिन्छन् । अध्ययन तथा अनुसन्धान गर्न यी टुलले ठूलो सहयोग पुर्याएको बताइन्छ ।