close

ल्यापटप स्लो भयो ? यसरी अपग्रेड गर्नुहोस् र्‍याम

टेकपाना टेकपाना

साउन २२, २०८१ १७:३४

ल्यापटप स्लो भयो ? यसरी अपग्रेड गर्नुहोस् र्‍याम

काठमाडौं । ल्यापटप खुल्नै समय लाग्छ ? खुले पनि प्रोग्राम रन गर्न सकस पर्छ ? ब्राउजरमा धेरै ट्याप ‍खोल्दा रिलोडिङ मात्रै भइरहन्छ ? यस्ता समस्या भोगिरहनु भएको छ भने ल्यापटपको र्‍याम अपग्रेड गर्नुपर्ने सङ्केत हुन सक्छ । 

र्‍याम अर्थात र्‍यान्डम एक्सेस मेमोरीले कम्प्युटरको कार्य सम्पादन क्षमतमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । जब यो फुल हुन थाल्छ, त्यसपछि हार्ड ड्राइभमा डेटा पठाउन थाल्छ । जसले गर्दा प्रोसेसिङ गर्ने कार्य सुस्त हुन जान्छ । र, त्यसको असर कम्प्युटरको कार्य सम्पादनमा देखिहाल्छ । 

यसको समाधान र्‍यामको अपग्रेड गर्नु हो । सरल तरिकाले बुझ्दा कम्प्युटरमा थप र्‍याम बढाउनु हो । तर यसअघि कम्प्युटरमा प्रयोग भइरहेको र्‍यामको अवस्था जाँच गर्नुहोस् । 

र्‍यामको अवस्था चेक गर्ने तरिका

कतिपय व्यक्तिले कम्प्युटर केही ढिलो हुन साथ र्‍याप थपिहाल्छन् । तर अन्त्यमा कम्प्युटर ढिलो हुनुका कारण र्‍याम हुँदैन । यसो हुँदा तपाईंले नयाँ र्‍याम किन्नुअघि कम्प्युटरमा प्रयोग भइरहेको र्‍यामको अवस्था हेर्नु बुद्धिमत्ता हुन सक्छ । यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

-टास्क म्यानेजर खोल्नुहोस् । यसका लागि Ctrl‌‍‌‌‍‍‌‍‍‍‍‍‍‍‍‍‍‍‍+Alt+Delete एकै पटक थिच्नुहोस् । अथवा विन्डोज बटनमा क्लिक गरेर सर्च पनि गर्न सक्नुहुन्छ । 

-यसपछि पर्फमेन्स ट्याबमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले सीपीयू, मेमोरी, डिस्क लगायतका विकल्प देख्न सक्नुहुन्छ । जसमध्ये हामीलाई चाहिने मेमोरी हो । त्यहाँ तपाईंले अहिले प्रयोग भइरहेको र्‍यामको वास्तविक विवरण हेर्न सक्नुहुन्छ । अर्थात् रियल टाइम र्‍यामको प्रयोग हेर्न सकिन्छ । 

यसपछि तपाईंले हेर्नुपर्ने भनेको ल्यापटपमा र्‍याम थप्न मिल्छ/मिल्दैन भन्ने कुरा हो । किनकि सबै ल्यापटपमा र्‍याप थप्न मिल्दैन । यसका लागि ‘क्रुसियल्स मेमोरी एड्भाइजर’ जस्ता टुल प्रयोग गर्न सक्नुहुन्छ । जहाँ तपाईंले आफ्नो ल्यापटपमा प्रयोग हुन सक्ने र्‍यामको प्रकार, तिनको अधिकतम क्षमता, गति जस्ता कुराहरू थाहा पाउन सक्नुहुन्छ । यसरी थप्नुपर्ने र्‍यामको प्रकार, गति थाहा पाइसकेपछि तपाईंले खरिद गर्नुपर्ने हुन्छ । नेपालमा नियोस्टोर, आईटीटीई, दराजजस्ता अनलाइन प्लेटफर्मबाट समेत र्‍याम खरिद गर्न सकिन्छ । 

र्‍याम खरिद गरेपछि तपाईं आफैंले पनि आफ्नो ल्यापटपमा राख्न सक्नुहुन्छ । हरेक ब्रान्ड र मोडल अनुसार ल्यापटपको इन्टर्नल डिजाइन फरक-फरक हुन सक्छ । यद्यपि अधिकांश ल्यापटपमा लागु गर्न सकिने गरी र्‍याप अपग्रेड गर्ने तरिका यस प्रकार छ: 

-ल्यापटप अफ गर्नुहोस् । र, कुनै पनि ठाउँबाट ल्यापटपमा पावर गएको निश्चित हुनुहोस् ।

-ल्यापटपलाई पछाडि फर्काएर बेस प्लेट खोल्नुहोस् । यस क्रममा तपाईंले स्क्रुहरू पनि खोल्नुपर्ने हुन सक्छ । 

-प्राय: र्‍याम सीपीयूको छेवैमा क्लिपभित्र राखिएको हुन्छ । उक्त ठाउँ पत्ता लगाउनुहोस् । 

-अब क्लिपभित्र भएको पुरानो र्‍यामलाई निकाल्नुहोस् । तर, सम्झनुपर्ने कुरा तपाईंले र्‍यामलाई छेउको भागमा समात्नु पर्ने हुन्छ । 

-यसरी नै नयाँ र्‍यामलाई स्लटमा राख्नुहोस् । यसो गर्दा स्लटमा र्‍याम राम्ररी बसेको हुनु पर्छ । 

-अब राम्रोसँग र्‍याम बसेको निश्चित भएपछि क्लिप लक गर्नुहोस् । 

-पुन: ल्यापटपको बेस प्लेट राख्नुहोस् । र स्क्रु लगाउनुहोस् । 

-ल्यापटप अन गर्नुहोस् । र, सेटिङ>सिस्टम>अबाउटमा जानुहोस् । त्यहाँ तपाईंले नयाँ र्‍याम इन्स्टल भएको देख्न सक्नुहुने छ ।

‍-यदि त्यहाँ केही समस्या देखिए पुन: माथिको प्रक्रिया दोहोर्‍याएर स्लटमा बस्ने गरी र्‍यामलाई राम्ररी राख्नुहोस् । 

यद्यपि तपाईं अलि प्रविधिमैत्री हुनुहुन्न भने प्राविधिक कहाँ गएर यी सबै काम गर्न सक्नुहुने छ ।

पछिल्लो अध्यावधिक: साउन २२, २०८१ १७:५३