close

टेकपाना फ्याक्टचेक: नपत्याउनुहोस्, भक्तपुर नगरकोटमा पाटे बाघ भेटिएको छैन

शिव बस्नेत शिव बस्नेत

बैशाख १०, २०८२ १०:१८

टेकपाना फ्याक्टचेक: नपत्याउनुहोस्, भक्तपुर नगरकोटमा पाटे बाघ भेटिएको छैन

काठमाडौँ । अप्रिल १८, २०२५ देखि सामाजिक सञ्जाल फेसबुकमा भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा पाटे बाघ देखिएको भन्दै केही तस्बिरहरू भाइरल भइरहेका छन् । धेरै प्रयोगकर्ताले सडकमा हिँडिरहेको बाघको तस्बिर शेयर गर्दै नगरकोटको जंगल क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेका छन् ।

कतिपयले यो घटना नगरकोटकै हुनसक्ने बताएका छन् भने केहीले स्रोत उल्लेख नगरी तस्बिरहरू पोस्ट गरेका छन् । केही स्थानीय मिडिया र फेसबुक पेजहरूले पनि यो खबरलाई प्रकाशन गरेका छन् । तर टेकपाना फ्याक्टचेकबाट भक्तपुर नगरकोटमा पाटे बाघ देखिएको भन्दै शेयर गरिएको फोटो भ्रामक रहेको र उक्त तस्बिर अन्यत्रकै पुरानो भिडिओबाट स्क्रिनशट लिएको पाइएको छ ।

दाबी

अप्रिल १८, २०२५ साँझ ६:४२ बजे ‘Gyanu Tamang’ नामका फेसबुक प्रयोगकर्ताले एउटा पोस्ट शेयर गरेका थिए । उक्त पोस्टमा “नगरकोटको बास्तोला गाउँदेखि गडगडेसम्मको जंगलको यात्रामा सावधानीपूर्वक यात्रा गर्नुहोला। हिजो भर्खरै पाटेबाग सडकको बीचबीचै हिँडिरहेको पाइयो। सावधान रहनुहोला!!!!" भन्ने क्याप्सनका साथ सडकबाट जङ्गलतिर जान लागेको जस्तो देखिने पाटे बाघको दुई ओटा तस्बिर राखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ४८ रियाक्सन, ७ कमेन्ट र ४९ शेयर देखिएको छ । ओरिजिनल लिङ्कआर्काइभ लिङ्क हेर्नुहोस् ।

ज्ञानु तामाङको उक्त पोस्टलाई नै कपी गरी अन्य फेसबुक प्रयोगकर्ताले पनि भक्तपुरको नगरकोटमा पाटे बाघ भेटिएको भन्दै शेयर गरिरहेका छन् ।

यसमध्ये भक्तपुरको स्थानीय सञ्चारमाध्यम चाँगुपत्रले अप्रिल १८ साँझ ७:२८ बजे ज्ञानु तामाङले राखेकै क्याप्सन र तस्बिर कपी गरेर आफ्नो फेसबुक पेज ‘changupatra.com’ मा पोस्ट राख्यो । उक्त पोस्टलाई अप्रिल १९ बिहान ६:०७ बजे एडिट गरी “नगरकोटको बास्तोला गाउँदेखि गडगडेसम्मको जंगलको यात्रामा सावधानीपूर्वक यात्रा गर्नुहोला। हिजो भर्खरै पाटेबाग सडकको बीचबीचै हिँडिरहेको पाइयो। सावधान रहनुहुन अनुराेध छ । शब्द/तस्बिर साभार गरिएको जानकारी गराउँदछु । यसबाट पाठक वर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छाैं । उक्त ठाउँमा जंगली जनावरको आतंक भने जारी छ। - (सम्पादक )" भन्ने ब्यहोरा थपिएको छ । याे समाचार तयार पार्दासम्म याे पाेस्टमा ११३ लाइक र ११३ शेयर आएकाे छ । ओरिजिनल लिङ्कआर्काइभ लिङ्क हेर्नुहोस् ।

फेसबुकमा ४६ हजार फलोअर भएको ‘Bageswori’ नामक पेजले अप्रिल १९ बिहान १०:२० मा सोही क्याप्सन र तस्बिर प्रयोग गरी पोस्ट गरेको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ९५० लाइक, ६३ कमेन्ट र ६८ शेयर पुगेको छ । यसको ओरिजिनल लिङ्कआर्काइभ लिङ्क हेर्नुहोस् ।

फेसबुक सर्चमा गई ‘पाटेबाग’​ किवर्ड सर्च गर्ने हो भने एक दर्जन बढी यस्तै पोस्ट फेला पार्न सकिन्छ ।

यसैगरी समाचार पोर्टल ननस्टप खबर डटकमले “नगरकोटमा पाटे बाघ पाइएको विषयमा वन कार्यालय नै छैन बिश्वस्त" शीर्षकमा समाचार प्रकाशित गरेको छ । समाचारमा भक्तपुरको ‘पर्यटकीय नगर चाँगुनारायणको नगरकोट क्षेत्रमा पाटे बाघ पाइएको हल्लाले मानिसहरु त्रसित भएका छन्’ भनिएको छ । साथै नगरकोटमा पाटे बाघ देखिएको विषयमा डिभिजन वन कार्यालय र चाँगुनारायण नगरपालिका भने विश्वस्त नभएको उल्लेख गरिएको छ । यहाँ क्लिक गरी ननस्टप खबरको समाचार पढ्नुहोस्  । 

तथ्य-जाँच

नगरकोटमा बाघ देखिएको दाबीसहित सामाजिक सञ्जालमा फैलिएका तस्बिरहरूको सत्यता जाँच्दा सबैभन्दा पहिले ज्ञानु तामाङको पोस्ट फेला पर्‍यो । उनले “नगरकोटको बास्तोला गाउँदेखि गडगडेसम्मको जंगलको यात्रामा सावधानीपूर्वक यात्रा गर्नुहोला। हिजो भर्खरै पाटेबाग सडकको बीचबीचै हिँडिरहेको पाइयो। सावधान रहनुहोला!!!!"  क्याप्सन राख्दै दुई ओटा फोटो पनि राखेका छन् ।

हामीले सबैभन्दा पहिले भाइरल भइरहेका बाघका तस्बिरहरूलाई गुगल रिभर्स इमेज सर्च लगायतका टुल प्रयोग गरेर इन्टरनेटमा खोज्यौं । रिभर्स इमेज सर्च गर्दा नेपालका विभिन्न फेसबुक पेज र प्रयोगकर्ताले नगरकोटमा पाटे बाघ भेटिएको भन्दै हालै पोस्ट गरेका सोही प्रकृतिका फेसबुक लिङ्कहरू देखिए । तर रिभर्स इमेज सर्च र अन्य टुलबाट यही फोटो सम्बन्धी पुरानो स्रोत फेला पार्न सकिएन ।

यसै क्रममा हामीले ‘नमस्ते भक्तपुर’ पेजले गरेको एक पोस्ट भेट्यौं, जसले तस्बिरको स्रोत फरक भएको संकेत गर्‍यो । ‘नमस्ते भक्तपुर’ ले ज्ञानु तामाङले फेसबुकमा राखेको फोटो ‘Shalini-Loves-Fashion’ नामक युट्युब च्यानलबाट रहेको भिडिओबाट स्क्रिनशट लिएको दाबी गर्‍यो । ‘नमस्ते भक्तपुर’ को फेसबुक पोस्ट हेर्नुहोस् ।

उक्त युट्युब च्यानलमा ‘Tiger raste me mila’ (बाघ बाटोमा भेटियो) शीर्षकमा दुई वर्षअघि अपलोड गरिएको एउटा भिडिओ भेटियो । हामीले त्यो भिडिओलाई ध्यानपूर्वक हेर्दा भाइरल भएका तस्बिरहरू त्यही भिडिओका ०:१५ देखि ०:१७ सेकेन्डका दृश्यहरूबाट लिइएका स्क्रिनशटहरू भएको स्पष्ट भयो । हेर्नुहोस्, सन् २०२२ अक्टोबर २८ मा  ‘Shalini-Loves-Fashion’ युट्युब च्यालनमा अपलोड भएको भिडिओ

भिडिओको अपलोड मिति (२ वर्ष पुरानो) ले तस्बिरहरू हालसालैका होइनन् भन्ने पुष्टि गर्‍यो । च्यानल भारतबाट सञ्चालित देखिनु र भिडिओको सन्दर्भले उक्त घटना नेपालको नगरकोट नभई अन्यत्रको भएको बलियो आधार दियो । भाइरल तस्बिर र युट्युब भिडिओका फ्रेम/स्क्रिनशटहरूलाई तुलना गर्दा बाघसँगै ब्याकग्राउन्डमा देखिएको दृश्य मेल खान्छ ।

भाइरल तस्बिर नगरकोटको नभएको पुष्टि भएपनि बास्तोला गाउँदेखि गडगडेसम्मको जंगलमा पाटे बाघ रहे/नरहेको बुझ्न हामीले डिभिजन वन कार्यालय भक्तपुरका प्रमुख विश्व कोइरालालाई सम्पर्क गर्‍यौं । उनले हालसम्मको तथ्याङ्क अनुसार बाहाल वनक्षेत्रमा मात्रै नभइ भक्तपुरभर पाटे बाघ कतैपनि नभेटिएको जानकारी दिए । “सामाजिक सञ्जालमा शेयर गरेको तस्बिर गलत हो । तर सामुदायिक वनकै मान्छेले पनि शेयर गरिरहँदा भ्रम र त्रास फैलिएको छ । यहाँको वनमा चितुवा प्रशस्त भएपनि अहिलेसम्म पाटे बाघ भएको जानकारी छैन,” कोइरालाले भने ।

चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले पनि सामाजिक सञ्जालमा पाटे बाघ भनी फैलिएको तस्बिरमा सत्यता नभएको जिकिर गरे । “बाहाल सामुदायिक वन घना जङ्गल भएको क्षेत्र हो । तर पाटे बाघ छ भनेर प्रमाण अहिलेसम्म छैन,” उनले भने ।

फेसबुकमा ज्ञानु तामाङकै पोस्टलाई विश्वास गरी शेयर गर्नेमध्ये राजन लामिछाने बाहाल सामुदायिक वन उपभोक्ता समितिकै अध्यक्ष रहेको पाइयो । ज्ञानु तामाङको पोस्टलाई विश्वास गरेर आफूले पनि शेयर गरेको र उनीसँग केरकार गर्दा पाटे बाघ नदेखिएको खुलेको लामिछानेले बताए । टेकपानाको फ्याक्टचेक टिमसँग सम्पर्कमा आएपछि उनले आफ्नो फेसबुक पोस्ट पनि हटाएका छन् । “चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा रहेको यस सामुदायिक वनको क्षेत्रफल ५४.९९ हेक्टर रहेको छ । भाइरल भएको तस्बिरको ब्याकग्राउन्ड हेर्दा त्यस्तो ठाउँ यस आसपास छैन । अहिलेसम्म यहाँ पाटे बाघ फेला परेको छैन । ज्ञानु तामाङ लगायतले पोस्ट गरेको फोटो गलत हो ।”

यसपछि टेकपाना फ्याक्टचेक टिम फेसबुकमा पहिलो पटक पोस्ट गर्ने ज्ञानु तामाङसँगै सम्पर्कमा पुग्यो । उनले सुरुमा आफैँले उक्त फोटो खिचेको दाबी गरे । “वैशाख ३ गते राति ९:२८ बजे बाइकबाट गन्तव्यमा जाने क्रममा साथी र मैले देखेका हौं । मोबाइलबाटै खिचेका हौं । फोटो वास्तविक हो,” भने । तर हामीले त्यो फोटो दुई वर्ष पुरानो युट्युब भिडिओबाट लिइएको स्क्रिनशट भएको प्रमाण पेश गरेपछि उनले आफ्नो दाबी प्रमाणित गर्न सकेनन् । खिचेको फोटो पठाउन आग्रह गर्दा उनले पठाउन चाहेनन् र फोन काटिदिए ।

दाबीकर्ता

ज्ञानु तामाङ, चाँगुपत्र, बागेश्वरी लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।

दाबी

भक्तपुरको नगरकोटको बास्तोला गाउँदेखि गडगडेसम्मको जंगल क्षेत्रमा  पाटे बाघ भेटिएको ।

तथ्य

पाटे बाघ देखिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरू नगरकोटको होइन र यो दुई वर्षभन्दा बढी पुरानो भिडिओको स्क्रिनशट हो । 

निष्कर्ष

ज्ञानु तामाङ, चाँगुपत्र, बागेश्वरी लगायतका फेसबुक पेज तथा प्रयोगकर्ताले भक्तपुर नगरकोटमा पाटे बाघ भेटिएको र नगरकोटको बास्तोला गाउँदेखि गडगडेसम्मको जंगलमा हिँड्दा सावधानी अपनाउन आग्रह गर्दै पोस्ट शेयर गरेका थिए । टेकपाना फ्याक्टचेकले गरेको अनुसन्धानले भक्तपुरको नगरकोट क्षेत्रमा पाटे बाघ देखिएको भन्ने दाबी झुटो र भ्रामक रहेको पत्ता लगाएको छ । ती तस्बिर नगरकोटका होइनन् । भक्तपुर डिभिजन वन कार्यालय, चाँगुनारायण नगरपालिका र बाहाल सामुदायिक वन उपभोक्ता समितिले समेत यहाँ पाटे बाघ देखिएको कुनै प्रमाण नभएको स्पष्ट पारेका छन् । त्यसकारण सामाजिक सञ्जालमा शेयर गरिएको नगरकोटमा पाटे बाघ देखिएको दाबीसहितका पोस्ट  गलत र भ्रामक हुन् ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ ११:२०