close

लाइभ भिडिओमै कार जम्प गरी स्टन्ट देखाएका स्ट्रिमर ‘आईशोस्पिड’ लाई युट्युबले लगायो प्रतिबन्ध

टेकपाना टेकपाना

साउन २३, २०८१ १४:०

लाइभ भिडिओमै कार जम्प गरी स्टन्ट देखाएका स्ट्रिमर ‘आईशोस्पिड’ लाई युट्युबले लगायो प्रतिबन्ध

काठमाडौं । ‘आईशोस्पिड’ नामबाट चर्चित युट्युबर एवं स्ट्रिमर ड्यारिन ज्यासन वाट्किन्स जुनियरलाई युट्युबले ​कारबाही गरेको छ । लाइभ भिडिओमै दुई ओटा गाडीमाथि कुदेपछि आईशोस्पिडलाई युट्युबले अस्थायी रूपमा प्रतिबन्ध लगाएको हो । 

उनले तीन दिन पहिले युट्युबमा लाइभ भिडिओमार्फत लगातार ल्यामबोर्गेनी र म्याकल्यारेन कारमाथि कुदेको देखाएका थिए ।

यसअघि उनले चर्चित फुटबलर क्रिश्चियानो रोनाल्डोको लोगो भएको तीव्र गतिमा चलेको ल्यामबोर्गेनीमाथि कुदेको भिडिओ सामाजिक सञ्जालका विभिन्न माध्यममा राखेका थिए । धेरैले उक्त भिडिओ भीएफएक्स गरी तयार पारेको शङ्का व्यक्त गरेपछि उनले लाइभ भिडिओमै तीव्र गतिमा कुदिरहेका दुई ओटा गाडीमाथि उफ्रेर आफूलाई प्रमाणित गर्न खोजेका थिए ।

उनको सो लाइभ भिडिओ युट्युबमा भने उपलब्ध छैन । त्यसको छोटो भिडिओ उनले इन्स्टाग्राममा राखेका छन् । 

टाइम्स नाउका अनुसार उनले आफ्ना फ्यानलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत युट्युबले आफूलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको जानकारी दिएका छन् । उनका अनुसार अहिले उनी युट्युबमा लाइभस्ट्रिम गर्न वा भिडिओ अपलोड गर्न असमर्थ छन् । 

आफ्ना एडिटरले ड्याशबोर्डको स्क्रिनशट सार्वजनिक गरेपछि आईशोस्पिडले यस्तो प्रतिक्रिया दिएको बताइएको छ । उनले भनेका छन्, “यो कसैले पनि घरमा प्रयास नगर्नुहोला । म यसमा पोख्त छु । यसका लागि मैले तालिम लिएको छु । र, लामो समयदेखि थुप्रै पटक यो कार्य गरेको छु ।”

उनले आफूमाथि शंका नगर्न भन्दै भिडिओमै चेतावनी समेत दिएका छन् । आईशोस्पिडले भिडिओमा डिस्क्लेमर राख्दाराख्दै पनि युट्युबले प्रतिबन्ध लगाएको भन्दै उनका समर्थकले निराशा व्यक्त गरेका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by IShowSpeed (@ishowspeed)

पछिल्लो अध्यावधिक: साउन २३, २०८१ १४:२५