close

एप्पलले सस्तो मानिने आईफोन एसईमा पनि एआई फिचर दिने !

टेकपाना टेकपाना

साउन २८, २०८१ १४:५०

एप्पलले सस्तो मानिने आईफोन एसईमा पनि एआई फिचर दिने !

काठमाडौं । आईओएस १८ को अपडेटसँगै एप्पलले पनि आईफोनमा एआई फिचर दिन थालेको छ । तर,  प्रयोगकर्ताले आईफोनका सबै मोडेलमा एआई फिचर प्रयोग गर्न पाउँदैनन् । 

यसका लागि आईफोन १५ प्रो नै चलाउनु पर्ने हुन्छ । अब भने केही समयपछि आउने आईफोन १६ का लाइनअपका सबै आईफोनमा एआई फिचर हुने अपेक्षा सबैले गरेका छन् । एप्पलले आफ्ना एआई फिचरलाई समष्टिगत रूपमा ‘एप्पल इन्टेलिजेन्स’ भन्ने गर्छ । तर, यो फिचर सस्तो मानिने आईफोन एसईमा पनि आउने खबर बाहिरिएको छ ।

ब्लुमबर्गका प्रविधि पत्रकार मार्क गुर्म्यानले आफ्नो न्युजलेटरमा आईफोन एसईमा एप्पल इन्टेलिजेन्स आउने बताएका हुन् । यो आईफोन सन् २०२५ को सुरुआत सम्ममा आउने अपेक्षा गरिएको छ । 

यो खबरले आईफोनका फ्यानहरूलाई खुसी पनि दिएको बताइन्छ । किनकि यो सस्तो आईफोन मध्येको एकमा पर्छ । यसको डिजाइन पनि पुरानो हुन्छ । र, महँगा आईफोन जस्तो राम्रो पनि हुँदैन । यस्तोमा महँगा मोडेलमा मात्र उपलब्ध फिचर सस्तोमा आउने खबर बाहिरिएको हो । 


अब भने एसई मोडलको डिजाइन आईफोन १४ जस्तै हुने बताइएको छ । यसका साथै उक्त आईफोनमा ६.१ इन्चको ओलेड स्क्रिन समेत हुने बताइएको छ । त्यस्तै एप्पल इन्टेलिजेन्सका लागि शक्तिशाली चिपसेट आवश्यक पर्ने गर्छ ।

सोही कारण आईफोन १५ मा एआई फिचर उपलब्ध नभएको हो । त्यस अर्थमा आईफोन एसई शक्तिशाली पनि हुने अपेक्षा गर्न सकिन्छ । 

यद्यपि एप्पलले यस विषयमा आधिकारिक जानकारी भने दिएको छैन ।

पछिल्लो अध्यावधिक: साउन २८, २०८१ १४:५०