काठमाडौं । वैज्ञानिकहरूले मंगल ग्रहको सतह मुनि ठूलो जलाशय फेला पारेको तथ्य सार्वजनिक गरेका छन् । नासाको मार्स इन्साइट ल्यान्डरको डेटा विश्लेषणपछि वैज्ञानिकहरूले मंगल ग्रहको बारेमा नयाँ तथ्य बाहिर ल्याएका हुन् ।
यसले मंगल ग्रहको सतह मुनि विशाल सागरहरू हुने अनुमानलाई थप बल पुगेको छ । यस ग्रहको ध्रुवीय क्षेत्रमा जमेको पानी र वायुमण्डलमा वाष्पको प्रमाण यसअघि नै वैज्ञानिकहरूले फेला पारेका थिए । ग्रहमा तरल पानी भेटिएको यो पहिलो पटक हो ।
वैज्ञानिकहरूले यस अध्ययनलाई 'प्रोसिडिङ्स अफ दि नेशनल एकेडेमी अफ साइन्सेस' मा प्रकाशित गरेका छन् । जहाँ उनीहरूले मार्स इन्साइट ल्यान्डरको डेटाका आधारमा ग्रहको सतहभित्र ठूलो जलाशय रहेको बताएका छन् । उक्त ल्यान्डरलाई मंगल ग्रहमा सन् २०१८ देखि २०२२ सम्म सञ्चालन गरिएको थियो ।
विभिन्न वैज्ञानिक अनुसन्धानका सन्दर्भमा नासाले उक्त ल्यान्डरमा सिस्मोमिटर जडान गरेको थियो । जसले चार वर्षसम्म निरन्तर रूपमा ग्रहको भूकम्प रेकर्ड गरेको थियो । यस क्रममा १३१९ पटक कम्पन रेकर्ड गरिएको छ । ती कम्पनहरूको विश्लेषणपछि वैज्ञानिकहरूले ग्रह मुनि पानी रहेको निष्कर्षमा पुगेका छन् ।
सामान्य रूपमा बुझ्दा, वैज्ञानिकहरूले मंगल ग्रहको भित्री बनावट कस्तो छ भनेर पत्ता लगाउन त्यहाँ कम्पन कति छिटो फैलिन्छ भनेर मापन गरेका थिए । पृथ्वीमा पानी र तेल फेला पार्न पनि सोही विधि प्रयोग गरिन्छ ।
सोही विधिका आधारमा वैज्ञानिकहरूले मंगल ग्रहभित्र करिब १० देखि २० किलोमिटर गहिराइ भएको जलाशय फेला पारेको बताएका छन् । विभिन्न वैज्ञानिक अध्ययनले प्राचीन कालमा मंगल ग्रहमा नदी र तालहरू भएको पुष्टि गरिसकेको छ । अब यस नयाँ तथ्यले ग्रहको अध्ययनलाई थप उचाइ दिने अपेक्षा गरिएको छ ।
यस अनुसन्धानमा संलग्न क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर माइकल मंगाले यो खोजले मंगल ग्रहको प्राचीन कालको पानी कहाँ गयो भन्ने प्रश्नको जवाफ दिने बताएका छन् । उनले पृथ्वीमा जस्तै, मंगल ग्रहमा पनि पानी भूमिगत हुन सक्ने तर्क गरेका छन् ।