काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शैक्षिक संंस्थाको आईटी कोर्स पढाउने एक कलेजलाई विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । मन्त्रालयको उच्च शिक्षा शाखाले एक सूचना जारी गर्दै ललितपुरमा अवस्थित नेपाल एजुकेसन फाउन्डेसन क्लोन्सोर्टिम अफ कलेजेज (एईएफ सीसीएन) लाई विद्यार्थी भर्नामा रोक लगाएको हो ।
स्थानान्तरणको प्रक्रियामा रहेकाले हाल विद्यार्थी भर्ना गर्न नमिल्ने मन्त्रालयको सूचनामा उल्लेख छ ।
यस कलेजले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एआईटीबाट सम्बन्धन लिएर स्नातक तहमा दुई ओटा शैक्षिक कार्यक्रम ल्याएको छ, जसमा चार वर्षे ब्याचलर इन इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी पनि रहेको छ ।
मन्त्रालयले यसपटक विदेशी शैक्षिक संस्थाको कोर्स पढाउने ५६ कलेजलाई मात्र भर्ना गर्न अनुमति दिएको छ । नियमानुसार नवीकरण भएका, नियमित रूपमा हालसम्मको लेखापरीक्षण र कर चुक्ता गरेका, नियमानुसार कार्यक्रम थपको अनुमति प्राप्त गरेका, त्रिभुवन विश्वविद्यालयबाट नियमानुसार मान्यता तथा समकक्षता प्राप्त गरेका कलेजहरूलाई मात्र भर्नाको अनुमति दिइएको मन्त्रालयले जनाएको छ ।