close

बिक्रीका लागि फेसबुकमा राखेको बाइक टेस्ट ड्राइभ गर्ने भन्दै लिएर भाग्ने ३ जना पक्राउ

टेकपाना टेकपाना

साउन ३२, २०८१ १८:३६

बिक्रीका लागि फेसबुकमा राखेको बाइक टेस्ट ड्राइभ गर्ने भन्दै लिएर भाग्ने ३ जना पक्राउ

काठमाडौं । अनलाइनमा बिक्रीका लागि राखिएको मोटरसाइकल टेस्ट ड्राइभ गर्ने भन्दै लिएर भाग्ने तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका २० वर्षीय राकेश थापा, भक्तपुरका १९ वर्षीय सुरोजन शाही र २९ वर्षीय विकास थामी रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बाइक चोरेको आरोपमा उनीहरूलाई पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो ।

यसअघि अपराध अनुसन्धान कार्यालयमा आफ्नो बाइक चोरी भएको भन्दै १८ वर्षीय एक किशोरले उजुरी दिएका थिए । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार ती युवकले आफ्नो केटीएम ड्युक २५० बाइक बिक्री गर्ने भन्दै हाम्रोबजार डटकम र फेसबुक मार्केटप्लेसमा विज्ञापन राखेका थिए ।

उक्त विज्ञापन देखेपछि आरोपी राकेश थापाले ती किशोरलाई सम्पर्क गरी आफूलाई उपयुक्त हुने ठाउँमा बोलाए । अनि टेस्ट राइड गर्ने भन्दै बाइक लिएर फरार भए । 

यो घटनामा मुख्य योजनाकार विकाश थामी रहेको खुलेको छ । थामी अनलाइन प्लेटफर्ममा बाइक कसले बिक्रीका लागि राखेको छ भन्ने खोज्थे । र, बेच्न खोज्ने व्यक्तिहरूसँग कुरा गरेपछि बाइक लिने जिम्मा राकेश थापा र सुरोजन शाहीलाई दिन्थे । यी तीनै जनाको सेटिङमा केटीएम ड्युक २५० बाइक चोरी भएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

उनका अनुसार ६ साउनमा धनुषामा आर वान फाइभ भी फोर बाइक चोरी गर्नेमा पनि यही समूह संलग्न रहेको थियो ।

उनीहरूले प्रयोग गर्ने दुई ओटा बाइक बरामद गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको आचार्यले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: साउन ३२, २०८१ १९:२१