काठमाडौं । सीजी मोर्टसले नाडा अटो शो २०२४ मा विभिन्न प्रिमियम विद्युतीय सवारी सार्वजनिक गर्ने भएको छ । मङ्गलबारदेखि सुरु हुने अटो शोमा कम्पनीले विभिन्न ईभी ब्रान्ड र त्यसका प्रोडक्ट सार्वजनिक गर्ने तयारी गरेको हो ।
कम्पनीका एक प्रतिनिधिका अनुसार सीजी मोटर्सले यस वर्ष कूल आठ ओटा स्टल बुक गरेको छ । त्यसमध्ये अधिकांशमा विद्युतीय गाडी प्रदर्शनीका लागि राखिनेछन् । कम्पनीले यस वर्ष बहु प्रतीक्षित प्रिमियम लक्जरी एसयूभी ‘अवतार ११’ मोडेल सार्वजनिक गर्ने जनाएको छ । यसको मूल्य नेपाली बजारमा एक करोड ४५ लाख रुपैयाँ तोकिएको छ ।
प्रिमियम सेग्मेन्ट अन्तर्गत नै कम्पनीले एक्सपेङ ब्रान्ड लन्च गर्न लागेको छ । यस ब्रान्डको भीसी मोडेल नेपालमा छ । सार्वजनिक भएपछि नै यसको मूल्य र अन्य विवरण बाहिर आउने बताइएको छ ।
त्यस्तै कम्पनीले नेटा एक्स पनि सार्वजनिक गर्न लागेको छ । यसअघि नेटाको नेटा भी मोडेल सार्वजनिक भएको थियो । नेटा भीभन्दा केही स्तरीय भएकाले यो मोडेल पनि ईभी प्रेमीको नजरमा परेको छ । यसको मूल्य ५३ लाख रुपैयाँभन्दा बढी हुने बताइएको छ ।
त्यसैगरी कम्पनीले हालै मात्र नेपालमा आयोन ब्रान्डको वाई मोडेल सार्वजनिक गरेको थियो । अटो शोमा कम्पनीले सोही ब्रान्डकको ‘भी’ मोडेल सार्वजनिक गर्ने तयारी गरेको छ ।
ईभी प्लेटफर्ममा निर्माण भएको रिडारा आरडी सिक्स पनि मङ्गलबार नै सार्वजनिक हुनेछ । कम्पनीले ब्रान्ड लन्च गरिसकेपछि गाडी सार्वजनिक गर्ने योजना बनाएको छ । यसलाई कम्पनीले ईभी प्लेटफर्ममा बनेको नेपालमा सार्वजनिक हुने पहिलो पिकअपको रूपमा प्रस्तुत गरिरहेको छ ।
प्यासेन्जर सेगमेन्टमा पनि सीजीले दुई ओटा मोडेल सार्वजनिक गर्दैछ । कम्पनीले किङलङ ब्रान्डको १९ सिटर ईभी माइक्रो बस पनि प्रदर्शन गर्दैछ । त्यस्तै सीजीले सात ओटा सिट भएको लक्जरी केवाईसी गाडी पनि सार्वजनिक गर्नेछ । यी ईभीको मूल्य र फिचर कम्पनीले सार्वजनिक गरेपछि बाहिर ल्याउने नै छ ।