close

चार्ज सकिंदा ब्याट्री नै फेर्न मिल्ने गोगोरका तीन स्मार्ट स्कुटर नेपाली बजारमा

टेकपाना टेकपाना

भदौ १२, २०८१ १९:४८

चार्ज सकिंदा ब्याट्री नै फेर्न मिल्ने गोगोरका तीन स्मार्ट स्कुटर नेपाली बजारमा

काठमाडौं । ब्याट्री स्वापिङ इकोसिस्टमको अग्रणी ताइवानी कम्पनी गोगोरो र नेबुला इनर्जी प्रालिले ​नेपाली बजारमा आफ्नो व्यावसायिक सुरुवातको औपचारिक घोषणा गरेका छन् । यसअन्तर्गत गोगोरोले काठमाडौं उपत्यकामा ४५ ओटा ब्याट्री स्वापिङ स्टेसन र तीन मोडेलका स्मार्ट स्कुटरहरू सार्वजनिक गरेको छ ।

काठमाडौंमा जारी नाडा अटो शोमा गोगोरोले हाइपर-इलेक्ट्रिक स्कुटर 'पल्स' (Gogoro Pulse), हाइपरफर्मेसन सिटी राइड 'जेगो' (Gogoro JEGO) र एसयूभी क्रसओभर 'जीएक्स २५०' (Gogoro GX250) स्मार्ट स्कुटरहरू सार्वजनिक गरेकाे हो । 

यी स्कुटरमध्ये पल्सलाई विश्वकै पहिलो हाइपर-इलेक्ट्रिक भएको दाबी गरिएको छ । यसमा नयाँ ९ किलोवाटको गोगोरो-डिजाइन पावरट्रेन, एरोडाइनामिक डिजाइन र प्यानोरामिक एचडी टच डिस्प्ले रहेको छ । 

जेगो स्कुटरमा डुअल ब्याट्री अप्सन, फराकिलो सिट, चौडा ट्रंक र हलुका तौल रहेको छ । त्यस्तै क्रसओभर जीएक्स २५० भने दुई पाङ्ग्रे एसयूभी हो, जुन क्रसओभर सिरिजको नयाँ फ्रेममा निर्माण गरिएको छ । यसमा फराकिलो सिट र स्टोरेज स्पेस तथा राम्रो ग्राउन्ड क्लियरेन्स भएको कम्पनीको भनाइ छ ।

गोगोरोले काठमाडौं उपत्यकामा ४५ नयाँ ब्याट्री स्वापिङ स्टेसनहरू स्थापना गर्ने घोषणासमेत गरेको छ । यसअन्तर्गत २-३ किलोमिटरको दूरीभित्र प्रत्येक स्थानमा यस्ता स्टेसन उपलब्ध हुने बताइएको छ । हाल यस्तो स्वापिङ स्टेसन लाजिम्पाट र त्रिपुरेश्वर गरी दुई ठाउँमा उपलब्ध छ ।

कम्पनीका अनुसार यी स्टेसनहरू पेट्रोल पम्प, मार्ट, मल तथा सार्वजनिक चासोका स्थानहरूमा राखिनेछन्, जसले गर्दा ग्राहकहरूलाई सहजता र पहुँच सुनिश्चित हुनेछ ।

गोगोरोका स्कुटरहरूमा ब्याट्री स्वापिङ टेक्नोलोजी प्रयोग गरिएको छ, जसले प्रयोगकर्ताहरूलाई ब्याट्री खरिद गर्न आवश्यक नपर्ने सुविधा प्रदान गर्दछ । 

गोगोरो स्मार्ट ब्याट्रीहरूमा केही सेकेन्डमै 'स्वाप एन्ड गो'को सुविधाजनक पहुँच प्रदान गर्न ब्याट्री स्वापिङ अप्टिमाइज गरिएको छ ।

नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको सङ्ख्याभन्दा धेरै गोगोरो गो स्टेसन स्थापना गर्ने योजना ल्याएकाे छ ।  नेबुलाका अध्यक्ष मनोज गोयलले सस्टेनेबल मोबिलिटीको नयाँ युग सुरु गर्दै गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

नेबुलाले सेप्टेम्बरको मध्यतिर नक्सालको नारायणचौरमा पहिलो गोगोरो शोरुमको उद्घाटन गर्ने योजना समेत बनाएको छ । यो शोरुममा ग्राहकहरूले स्कुटर परीक्षण गर्न र विशेष प्रारम्भिक मूल्यमा प्रि-बुकिङ गर्न सक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १२, २०८१ २०:५