close

बलियो स्मार्टफोन ‘ओप्पो ए थ्री’ नेपाली बजारमा

टेकपाना टेकपाना

भदौ १३, २०८१ १७:३८

बलियो स्मार्टफोन ‘ओप्पो ए थ्री’ नेपाली बजारमा

काठमाडौं । चिनियाँ ब्रान्ड ओप्पोले ‘ए’ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । बलियो, राम्रो डिजाइन र पर्फमेन्स भएको स्मार्टफोन चाहने प्रयोगकर्ताका लागि लक्षित गर्दै कम्पनीले ए थ्री (Oppo A3) मोडेल ल्याएको हो ।

यो फोनमा ५१०० एमएएच क्षमताको ब्याट्री छ, जसका लागि ४५ वाटको सुपरभोक फास्ट चार्जर दिइएको छ । कम्पनीका अनुसार ३० मिनेटमै शून्यदेखि ५० प्रतिशतसम्म र ७५ मिनेटभित्र फुल चार्ज हुन्छ । 

फोनमा ९० हर्ज रिफ्रेस रेटसहित ६.६७ इन्चको एलसीडी डिस्प्ले पाउन सकिन्छ । एन्ड्रोइड १४ मा आधारित यो फोन कलरओएस १४ बाट सञ्चालित छ भने चिपसेट स्न्यापड्रागन सिक्स एस फोरजी जेन वन रहेको छ ।

फोनमा रहेको अल्ट्रा भोल्युम मोडमार्फत सामान्य अडिओलाई ३०० गुणासम्म बढाएर सुन्न सकिने छ । 

दैनिक प्रयोगमा फोनलाई बचाउन यसमा डबल टेम्पर्ड ग्लास प्रयोग गरिएको छ । कम्पनीका अनुसार  फोन भुइँमा खस्दा पनि केही हुँदैन । साथै कठिन वातावरण समेत सामना गर्न फोनले एआईएल एसटीडी ८१० प्राप्त गरेको छ । 

ओप्पो ए थ्रीले मिलिटरी-ग्रेड शक रेजिस्टेन्स (Military-Grade Shock Resistance) का लागि एमआईएल-एसटीडी ८१०एच प्रमाणपत्र प्राप्त गरेको छ । साथै पानी र धुलोबाट बचाउन फोनमा आईपी ५४ प्रविधि छ ।

यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको डेप्थ क्यामेरा रहेको छ । त्यस्तै सेल्फी क्यामेरा ८ मेगापिक्सेलको छ । फोनमा एआई पोर्ट्रेट रिटचिङ, डुअल-भ्यू भिडिओ, थर्ड-पार्टी भिडिओ रिटचिङजस्ता क्यामेरा फिचरहरू पनि छन्, जसले प्रयोगकर्तालाई आफ्नो सिर्जनशीलता देखाउन थप अवसर दिने कम्पनीको भनाइ छ ।

नेपालमा यो फोन स्टारलाइट ह्वाइट र स्टार्री पर्पल रङमा किन्न सकिन्छ ।

मूल्यको कुरा गर्दा ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको २२ हजार ९९९ रुपैयाँ र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको २७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १३, २०८१ १७:५७