close

तपाईंले जिमेल अकाउन्ट नचलाएको २ वर्ष पुग्न लाग्यो ? डिलिट हुनबाट यसरी बच्नुहोस्

टेकपाना टेकपाना

भदौ २६, २०८१ १३:४६

तपाईंले जिमेल अकाउन्ट नचलाएको २ वर्ष पुग्न लाग्यो ? डिलिट हुनबाट यसरी बच्नुहोस्

काठमाडौं । भनिन्छ, विश्वभर करिब एक अर्ब ८० करोड मानिसले गुगलको नि:शुल्क मेल सर्भिस जिमेल प्रयोग गर्छन् । तर गत १ डिसेम्बरदेखि गुगलले जिमेल अकाउन्टहरू पनि डिलिट गर्न थालेको छ ।

यदि कुनै जिमेल अकाउन्ट दुई वर्षसम्म सक्रिय भएनन् भने अब स्वतः डिलिट हुन्छन् । यस्तो खालका जिमेल अकाउन्टहरू डिलिट भए भने जिमेल एड्रेसमात्र होइन, त्यससँग सम्बन्धित डक्स, ड्राइभ, क्यालेन्डर, फोटोज सबै डिलिट हुन्छन् ।

एक पटक डिलिट भइसकेको जिमेल अकाउन्ट पुन: फर्काउन सम्भव हुँदैन । यद्यपि, अकाउन्ट डिलिट गर्नुअघि गुगलले सम्बन्धित अकाउन्ट र रिकभरी अकाउन्टमा चेतावनी मेल पठाउने गर्छ । यो गुगलको अन्तिम सूचना हो ।

गुगलको नीतिले के भन्छ ?

यी सबै प्रक्रिया ‘गुगल इनएक्टिभ अकाउन्ट पोलिसी’ अन्तर्गत भइरहेको छ । यस नीति अनुसार दुई वर्षसम्म सक्रिय नभएका जिमेल अकाउन्ट स्वतः निष्क्रिय हुन्छन्, जसलाई गुगलले डिलिट गर्ने अधिकार राख्छ ।

गुगलले जिमेललाई सुरक्षित राख्न लाखौं रुपैयाँ खर्च गरिरहेको छ, चाहे अकाउन्ट हाइज्याकबाट बचाउन होस् वा फिशिङ स्पामहरूबाट जोगाउन । तर कुनै पनि जिमेल अकाउन्ट लामो समयसम्म प्रयोग नगर्दा ह्याकरहरूले ती अकाउन्टहरूलाई सजिलै आक्रमण गर्न सक्छन् । निष्क्रिय अकाउन्टहरू सुरक्षा दृष्टिकोणले निकै जोखिमपूर्ण हुन्छन् ।

किनकि ती अकाउन्टहरूमा लगइन गर्ने पासवर्ड कमजोर हुने र टू-फ्याक्टर अथेन्टिकेसन प्रयोग नगरिने समस्या हुन्छ, जसले सुरक्षामा ठूलो कमी ल्याउँछ । यसै कारण गुगलले यस्तो कदम चालेको हो ।

अकाउन्ट डिलिट हुनबाट कसरी बचाउने ?

डिलिट हुनबाट जोगिन निकै सरल छ । २४ महिनामा कम्तीमा एक पटक लगइन गर्नुभयो भने अकाउन्ट डिलिट हुनबाट जोगिन्छ । तर यति मात्र पर्याप्त छैन । किनकि कहिलेकाहीँ मात्र प्रयोग गरिएका अकाउन्टहरू पनि डिलिट हुने सूचीमा पर्न सक्छन् ।

यस बाहेक गुगलका विभिन्न सेवाहरू जस्तै; डक्स, ड्राइभ वा युट्युब प्रयोग गर्दा पनि अकाउन्ट सक्रिय रहन्छ । तपाईंले निम्न गतिविधिहरू गर्न सक्नुहुन्छ:

  • ईमेल खोल्ने वा पठाउने
  • गुगल डक्स प्रयोग गर्ने
  • युट्युबमा भिडिओ हेर्ने
  • गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्ने
  • गुगल सर्च गर्ने
  • थर्ड पार्टी एप तथा सेवाहरूमा गुगल लगइन गर्ने आदि ।

यदि तपाईंले गुगल प्रोडक्ट वा सब्सक्रिप्सन खरिद गर्नुभएको छ भने यी माथिका काम गर्नु पर्दैन । संस्थासँग सम्बन्धित अकाउन्टहरू पनि डिलिट हुने छैनन् । साथै, युट्युब च्यानल भएको अकाउन्टमा पनि डिलिटको समस्या हुनेछैन ।

खैर, यदि तपाईंले त्यस्ता अकाउन्टको पासवर्ड वा ईमेल बिर्सेर चलाउन सकिरहनु भएको छैन भने गुगलले त्यसका लागि पनि विकल्प दिएको छ । त्यस्ता गुगल अकाउन्ट वा जिमेल रिकभर गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

साथै अरूको अकाउन्ट व्यवस्थापन गर्ने जिम्मा तपाईंले लिनु भएको छ अथवा मृत्यु भइसकेका व्यक्तिको ईमेलमा तपाईंको पहुँच छ, तर अब थप चलाउन सक्नुहुन्न भने त्यस्ता अकाउन्टको डेटा यहाँ क्लिक गरी डाउनलोड गर्न सक्नुहुन्छ । 

अथवा यहाँ क्लिक गरी तपाईं आफैंले निश्चित समयका लागि अकाउन्ट निष्क्रिय समेत गराउन सक्नुहुन्छ । त्यसबेला गुगलको यो नीतिले असर नगर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८१ १३:५९