काठमाडौँ । काठमाडौँबाट फालिएको फोहोरलाई आफ्नो बनाउने ‘बञ्चरे डाँडा’ । केही समय पहिले त्यहाँको डम्पिङ साइटको भौगोलिक अवस्थाका बारेमा अध्ययन गरेर विकास योजना बनाउनुपर्ने थियो । उसो त त्यहाँको दुर्गन्ध र प्रदूषणले आजित स्थानीयले आफ्नो जग्गा नापिरहेको सहन सकेनन् । स्थानीयले विवाद सुरु गरेपछि भौतिक रूपमा जग्गाको सर्भे गर्न समस्या भयो ।
त्यसपछि ड्रोन प्रविधि प्रयोग गरेर त्यहाँको सर्भे गरियो । त्यसबेला सर्भे गर्ने काममा संलग्न थियो, ‘जिओभेसन नेपाल’ (Geovation Nepal) । सन् २०२१ देखि ड्रोनबाट विभिन्न क्षेत्रमा सेवा पुर्याउँदै आएको यस कम्पनीलाई कुमार पौडेल, दीपा लम्साल, प्रविन लम्साल, उपेन्द्र ओली, प्रविन राणा, क्षितिजा जसपाउले सञ्चालन गर्दै आएका छन् ।
जियोम्याट्रिक्स इन्जिनियरहरूले सुरु गरेको यो कम्पनीले सुरुमा त ड्रोन प्रयोग गरेर सर्भे र म्यापिङको काम थालेको सह-संस्थापक प्रविन लम्साल बताउँछन् । त्यसपछि बिस्तारै कम्पनीको सेवा अन्य क्षेत्रमा पनि विस्तार गरियो ।
जिओभेसन नेपालले नगरस्तरीय सर्भे, हाउस म्यापिङ, वन्यजन्तु गणना तथा वासस्थान म्यापिङ लगायतका काम गर्दै आएका छन् । केही समयअघि मात्र ड्रोन प्रयोग गरेर कम्पनीले दुर्लभ मानिने जनावर ‘नाउर’को गणना गरेको थियो । यसअघि घडियालको पनि गणना गरिएको थियो । यस्तै गैँडा र हाब्रे (रेड पाण्डा) गणना गर्ने योजना पनि छ ।
सुरक्षा जोखिम कम गर्न ड्रोन प्रविधि
परम्परागत रूपमा नापी गर्ने व्यक्तिहरू थिओडोलाइट, टेप, प्रिज्म, डेटा कलेक्टर, ट्राइपड, कम्पासजस्ता सामान बोकेर जमिनका हरेक कुनामा नापेर सर्वेक्षण गर्छन् । तर, नेपालजस्तो जटिल भूगोल भएको ठाउँमा हिमाल र पहाडका खोँचका हरेक कुनामा पुगेर मापन गर्दा अनेकौँ समस्या र सुरक्षा जोखिम आउन सक्छन् । यसको समाधान ड्रोन नै रहेको लम्साल सुनाउँछन् ।
नयाँ पुस्ता प्रविधिसँग अभ्यस्त भएकाले पहिले जस्तो चार–पाँच दिन हिँडेर सर्भे गर्ने जनशक्ति कम हुँदै गएको लम्सालले बताए । उनले भने, “राति जङ्गलमा बास बसेर, जोखिम मोलेर सर्भे गर्ने जनशक्ति पाउन गाह्रो हुँदैछ । त्यसको उत्तम विकल्प ड्रोन हो ।”
ड्रोन प्रविधिले सुरक्षा जोखिम गर्नुको साथै समय पनि बचत गर्ने उनले बताए । “सामान्य रूपमा नापी गर्न एक महिना लाग्ने काम ड्रोनबाट केही दिनमा नै गर्न सकिन्छ । ड्रोनले एक दिनमा २०० हेक्टरसम्मको जमिन सर्भे गर्न सक्छ ।” ड्रोनबाट खिच्न धेरै समय नलागेपनि नापी गर्नुपर्ने स्थानमा जान र फर्कन भने केही दिनको समय चाहिने उनले बताए ।
ड्रोनबाट डेटा सङ्कलन गरेर ल्याएपछि कार्यालयमा बसेर डेटा विश्लेषणको काममा भने अलि बढी समय लाग्ने भए पनि परम्परागत तरिकाभन्दा निकै छिटो हुने उनी बताउँछन् ।
ड्रोन प्रविधिको प्रमुख ग्राहक नै सरकार
कम्पनीको मुख्य ग्राहक नेपाल सरकार नै हो । सङ्घीय सरकार, प्रदेश सरकार र पालिकाका विभिन्न विकास परियोजनाको सर्भेको काम यो कम्पनीले गर्दै आएको छ । सरकारका सडक, सिँचाइजस्ता पूर्वाधार सम्बन्धी कामका लागि नापी गर्दै आएको कार्यकारी निर्देशक कुमार पौडेलले बताए । यस्तै लगानी बोर्डजस्ता सरकारी निकायका काम कम्पनीले गर्दै आएको छ ।
निजी क्षेत्रअन्तर्गत जलविद्युत् परियोजनाका लागि सर्भे गर्दै आएको कम्पनीले विश्व बैंक, एसियाली विकास बैंक, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) जस्ता अन्तर्राष्ट्रिय संस्थासँग मिलेर काम गर्दै आएको छ । यस्तै कृषि सहकारीहरूसँग मिलेर कृषि उपज उत्पादनका लागि जमिन कस्तो छ भनेर मापन गर्ने योजना रहेको उनले सुनाए । आगलागी तथा अन्य विपद्को समयमा ड्रोन प्रविधिको प्रयोग कसरी गर्ने भनेर नेपाल प्रहरीलाई ड्रोन प्रयोग सम्बन्धी तालिम पनि दिएको छ ।
पौडेलका अनुसार कम्पनीको हरेक परियोजनाका लागि छुट्टै अनुमति लिनुपर्छ । साना ड्रोनका लागि जिल्ला प्रशासन कार्यालयबाट ड्रोनको अनुमति पाउने भए पनि दुई किलोग्रामभन्दा ठुला ड्रोनहरूको अनुमति गृह मन्त्रालयबाट लिने गरिएको छ । यसरी अनुमति लिने क्रममा हप्तादेखि महिनासम्म पनि समय लाग्ने गरेको उनले बताए ।
यद्यपि ड्रोन प्रविधिलाई लिएर सरकारी निकायको बुझाइ भने केही परिवर्तन हुँदै गएको सह-संस्थापक लम्साल बताउँछन् । उनले भने, “पहिले सरकारले ड्रोनलाई थ्रेटजस्तो बुझ्ने गर्थ्यो । अहिले धेरै बुझ्ने भएकाले प्रक्रिया पहिलेभन्दा सजिलो र सुधारिएको छ । ड्रोनलाई विद्युतीय वा फोटोग्राफीमा राख्ने भन्ने खालको अन्योलता थियो । तर, अहिले त्यो हटेको छ ।”
समय बित्दै जाँदा सरकारबाट सकारात्मक प्रतिक्रियासँगै परियोजनाहरू पाउने क्रम पनि बढेको उनले बताए । उनी भन्छन्, “यो विकास आयोजनाका लागि निकै उपयोगी छ । त्यसैले पूर्वाधार विकासको कामका लागि पनि प्रोजेक्ट मिल्न थाल्यो ।” तर, सरकारले अनुमति प्रक्रियालाई अझै सरल बनाउन सक्ने भए पनि त्यसमा खासै चासो नदेखाएको कम्पनीको अनुभव छ ।
ड्रोनले काम सहज बनाए पनि प्रविधि भने महँगो
जिओभेसनसँग सर्भे, म्यापिङ, वन्यजन्तु गणना, कृषि जस्ता विभिन्न कामका लागि फिक्स्ड विङ, मल्टी रोटर, भिटोल, थर्मल, मल्टिस्पेक्ट्रल सेन्सरजडित ड्रोनहरू छन् ।
कम्पनीको सुरुवातमा डीजेआईको फ्यान्टम मोडेलको ड्रोनबाट काम सुरु गरिएको थियो । जुन फोटोग्राफी र भिडिओग्राफीका लागि प्रयोग गरिन्थ्यो । यसमा थर्ड-पार्टी सफ्टवेयरको प्रयोग गरेर सर्वेक्षण गरिन्थ्यो । त्यसपछि विस्तारै अन्य ड्रोन प्रयोग गर्न थालियो ।
तर, ड्रोन प्रविधि निकै महँगो छ । उनका अनुसार कम्पनीसँग दुई लाख ५० हजारदेखि एक करोड रुपैयाँसम्म तिरेर किनेका ड्रोन छन् । तथ्याङ्क विश्लेषणका लागि हार्डवेयर, रोबोटहरू महँगो शुल्क तिरेर किनिएका छन् भने महँगो शुल्क तिरेर सफ्टवेयरको वार्षिक सदस्यता लिइएका छन् ।
प्रविधि महँगो भएपनि ड्रोनले छोटो समयमा नै काम गर्नसक्ने भएकाले अझ सस्तो हुनुपर्ने खालको धारणा ग्राहकबाट मिल्ने गरेको छ । लम्साल भन्छन्, “छिट्टै सर्भे गरिसक्ने भएकाले यो सस्तो हुनुपर्ने धारणा आउँछन् । तर यसलाई चलाउन महँगो प्रविधि र जनशक्तिको प्रयोग भएका हुन्छन् । यसले दिने सुरक्षा र सहजताको मूल्याङ्कन खासै गर्दैनन् ।”
कृषि क्षेत्रमा पनि प्रयोग गर्ने योजना
कृषि क्षेत्रमा पनि ड्रोन प्रयोग गरेर कृषि कार्यलाई थप सहज बनाउन सकिने लम्साल बताउँछन् । ड्रोनको सहायताले बाली लगाउनुभन्दा पहिले खेतको ढाँचा कस्तो छ, धान खेती गर्ने हो भने पानी लाग्छ कि लाग्दैन भन्ने जानकारी ड्रोनबाट लिन सकिन्छ । उक्त डेटाबेसबाट बाली लगाउन सहज हुने उनले बताए ।
त्यसपछि बालीमा कुनै रोग भएमा ड्रोनले सेन्सरबाट रोग पत्ता लगाउने, बालीहरूमा पानी पुगेको छ कि छैन भन्ने जानकारी लिन्छ । त्यसपछि रोगका लागि आवश्यक औषधीहरू ड्रोनबाटै स्प्रे गर्ने सुविधा दिने योजनाअनुसार स्प्रेयर ड्रोन अर्डर गरिसकेको उनले सुनाए ।
विपद् व्यवस्थापनका लागि भरपर्दो प्रविधि बन्न सक्छ ड्रोन
गत वर्ष असोजमा आएको बाढीले काठमाडौँ उपत्यकासँगै बागमती प्रदेशका अधिकांश क्षेत्रमा क्षति पुर्यायो । ललितपुरको नख्खु खोलामा आएको भीषण बाढीले हेर्दाहेर्दै टहराको छतमा बसेको परिवारलाई बगाएको थियो । यस्तो विपद्को समयमा उद्धारका लागि ड्रोन निकै उपयोगी हुने कार्यकारी निर्देशक पौडेल बताउँछन् ।
“त्यहाँ हामीले ड्रोन प्रयोग गरेर बाढीको बिचमा फसेकालाई यति समयसम्म होल्ड गरेर बस्नु भनेर सूचना दिन सक्थ्यौँ । हेलिकप्टरलाई नपर्खी डोरी फालेर आफैँ उद्धारमा खट्न सक्थ्यौँ,” उनले भने । विदेशमा विपद् व्यवस्थापनमा ड्रोनको ठुलो भूमिका रहँदै आएपनि नेपालमा यसको प्रयोग व्यापक रूपमा सुरु हुन नसकेको उनी बताउँछन् । “विभिन्न निकायसँग समन्वय गरेर विपद्को समयमा उद्धारमा खटिन हामी तयार छौँ,” उनी भन्छन् ।
नेपालका हिमतालको अवस्थाबारे जानकारी लिन पनि सरकारले ड्रोन प्रयोग गर्न सकिन्छ । कार्यकारी निर्देशक पौडेलका अनुसार कुनै प्राकृतिक विपद्का कारण नोक्सानी भएमा बीमा कम्पनीले उक्त ठाउँको सर्वेक्षणका लागि पनि ड्रोन प्रयोग गर्न सकिन्छ । “कुनै दुर्घटना भएमा बीमा कम्पनीलाई रकम भुक्तानी गर्न प्रमाण चाहिन्छ । यदि ठुला जलविद्युत् आयोजनामा दुर्घटना भयो भने तत्कालै ड्रोनबाट अनुगमन गरेर बीमा रकम भुक्तानी गर्न सकिन्छ ।”
ड्रोनमार्फत सर्भे काम गरेको कम्पनीले विगत तीन वर्षमा आफ्ना सेवालाई अन्य क्षेत्रमा पनि विस्तार गरेको छ । भूगोलको विश्लेषण, विपद् व्यवस्थापन, सहरी योजना, वन्यजन्तु तथा पारिस्थितिक संरक्षण, जलवायु कार्य र कृषि क्षेत्रमा ड्रोन प्रयोग गर्दै आएको छ ।
लिडार (LiDAR) सर्वेक्षण, हिमतालहरूको निगरानी, जलविद्युत्, सडकजस्ता पूर्वाधार निर्माणको निरीक्षण, प्रसारण लाइनको योजना, आवास सर्वेक्षण, बहु-क्षेत्रीय विश्लेषण तथा कृषियोग्य जमिनमा मल र कीटनाशक छर्ने काम गर्दै आएको छ । यस्तै परोपकारी संस्थाका साथै सरकारी र निजी क्षेत्रका विभिन्न मानिसलाई ड्रोनसम्बन्धी तालिम उपलब्ध गराउँछ ।
ड्रोनमा आधारित सर्भे, भूगोल सम्बन्धी सेवा, विकास आयोजनाको अनुगमन र निगरानी, विपद् व्यवस्थापन तथा उद्धार, पर्यावरणीय कार्य, संरक्षण क्षेत्रमा वन्यजन्तु गणना र ड्रोनमा आधारित कृषि सेवा ।
ग्राहक
१५ संस्था बढी
विशिष्ट विशेषता
ड्रोनमा आधारित पूर्ण सर्वेक्षण र तथ्याङ्क विश्लेषण सेवा
अवार्ड/ प्रमाणपत्र
आईसीटी स्टार्टअप अवार्ड २०२४ को फाइनलिस्ट
अबको योजना
वार्षिक ग्राहक २५ एजेन्सी पुर्याउने लक्ष्य, ड्रोन सेवामार्फत नयाँ सम्भावनाहरू उजागर गर्ने ।