काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा प्रवेश गर्दा खादा, माला नलगाउन अनुरोध गरेको छ । विमानस्थलभित्रका एक्सरे, कन्भेयर बेल्ट, र स्केलेटर जस्ता सुरक्षा उपकरणमा गम्भीर क्षति पुगेको भन्दै विमानस्थल कार्यालयले खादा नलगाउन अनुरोध गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी हंसराज पाण्डेले टर्मिनल भवनभित्र खादा लगाउन वा झोलामा झुण्ड्याएर लैजान रोक लगाइएको जानकारी दिए ।
“धेरै यात्रुहरूले झोलाको बाहिरपट्टि खादा झुन्ड्याउनु हुन्छ,” टेकपानासँग पाण्डेले भने, “त्यो झोला जाँचका लागि एक्सरे मेसिनमा राख्दा खादा हल्का हुने भएकाले भित्रै बेरिएर मेसिन बिग्रिन थाल्यो ।”
त्यसका साथै यात्रु स्केलेटरबाट जाँदै गर्दा खादा रेलिङमा अड्किएर सामान्य दुर्घटना समेत हुने गरेको उनले सुनाए । “बिदाइको क्षण यसै पनि गाह्रो हुन्छ । त्यसैमा खादा रेलिङमा अड्किएर यात्रु घाइते भए भने त्यसले झनै नराम्रो अवस्था सिर्जना गर्छ,” उनले भने, “त्यसैले हामीले खादा झोलाभित्र राख्न अनुरोध गरेका हौं ।”
कतिपयले बिदाइका क्रममा लगाएका खादा र माला विमानस्थलका विभिन्न क्षेत्रमा छोड्ने भएकाले यसले विमानस्थलको सौन्दर्यमा समेत नकारात्मक असर पारेको उनले बताए ।
हालैमात्र विदेश उड्न लागेका एक यात्रुलाई खादा खोल्न लगाएको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भएको थियो । प्रहरीले खादा खोल्न लगाएर दुर्व्यवहार गरेको भनि चर्को विरोध भएपछि कार्यालयले सूचना जारी गरेर खादा–माला नल्याउन अनुरोध गरेको हो ।