काठमाडौं । दुई नेपाली पब्जी टिम डीआरएस गेमिङ र होरा ई-स्पोर्ट्सले पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२४ मा प्रतिस्पर्धा गर्ने भएका छन् । पीएमएसएल सेन्ट्रल एन्ड साउथ एसिया फल २०२४ मा होरा ई-स्पोर्ट्स छैटौँ स्थानमा रही पीएमजीसी २०२४ मा छनोट भएको हो भने डीआरएस गेमिङ यस पहिले नै पीएमजीसी पोइन्टका आधारमा छनोट भएको थियो ।
पीएमएसएल सेन्ट्रल एन्ड साउथ एसिया फल २०२४ को फाइनल चरणमा प्रतिस्पर्धा गरेका १६ टिममध्ये नौ टिमले पब्जी विश्वकप खेल्ने पक्का गरेका छन् । छनोट भएका टिमहरूमा फोमिराकल भाइब्स, फाल्कोन फोर्स, डीआरएस गेमिङ, एएस आइएट ई-स्पोर्ट्स छन्, जो पीएमजीसी पोइन्टको आधारमा छनोट भए । अन्य पाँच टिम भने यस प्रतियोगिताबाट छनोट भएका हुन्, जसमा स्टलवार्ट ई-स्पोर्ट्स, होरा ई-स्पोर्ट्स, मेजर प्राइड, डीई मुर्ते र एओआर ई-स्पोर्ट्स छन् ।
प्रतियोगिताको नतिजा
फोमिराकल भाइब्सले यस प्रतियोगितामा १८ खेलमा तीन चिकेन डिनर, ९५ एलिमिनेसन पोइन्ट र २८ लिग र्याङ्किङ पोइन्टसहित कुल १७३ पोइन्ट ल्याउँदै उपाधि उचालेको छ । दोस्रो स्थानमा रहेको फाल्कोन फोर्सले १६४ पोइन्ट पायो भने तेस्रो र चौथो स्थानमा रहेका स्टलवार्ट ई-स्पोर्ट्स र डीआरएस गेमिङले क्रमशः १५८ र १५२ पोइन्ट प्राप्त गरे ।
पीएमजीसी २०२३ को विजेता आईएचसी ई-स्पोर्ट्स भने आगामी पीएमजीसी २०२४ का लागि छनोट हुन सकेन ।
प्रतियोगिताको विजेता फोमिराकल भाइब्सले २६ हजार डलर (करिब ३७ लाख ३८ हजार रुपैयाँ) पाएको छ । नेपाली टिम डीआरएस गेमिङले फाइनलबाट १० हजार ६०० डलर (करिब १४ लाख २० हजार रुपैयाँ) र होरा ई-स्पोर्ट्सले छ हजार ४०० डलर (करिब आठ लाख ५७ हजार रुपैयाँ) प्राप्त गरेको छ ।
पीएमजीसी २०२४ आगामी अक्टोबर-नोभेम्बरमा हुने अनुमान छ ।