close

खतरामा तपाईँ-हाम्रो डिजिटल इतिहास, बचाउन को जिम्मेवार ?

टेकपाना टेकपाना

असोज १, २०८१ १७:०

खतरामा तपाईँ-हाम्रो डिजिटल इतिहास, बचाउन को जिम्मेवार ?

काठमाडौं । विगतमा कसैले पुराना अभिलेख बचाएकै कारण हामीले इतिहासबारे थाहा पाउन सकेका छौं । ११औं शताब्दी ताका बेलायतको नर्थम्बरल्याण्डमा कति संख्यामा पशुहरू पालिएका थिए भन्ने कुरा डोम्सडे पुस्तकबाट थाहा हुन्छ । जुन बेलायतको राष्ट्रिय अभिलेखालयमा राखिएको सबैभन्दा पुरानो दस्तावेज हो ।

चिठीपत्र र उपन्यासहरूमार्फत भिक्टोरियन युगको सामाजिक जीवन कस्तो थियो भनेर जीवन बुझ्न सकिन्छ । तर भविष्यका इतिहासकारहरूलाई २१औं शताब्दीको सुरुवातमा हामीले हाम्रो जीवन कसरी बितायौँ भन्ने कुरा बुझ्न सङ्घर्ष गर्नुपर्ने हुन सक्छ । यसको कारण हाम्रो जीवनमा डिजिटल प्रविधिको व्यापक प्रभाव र यस युगका सूचनाहरूको संरक्षण र अभिलेखमा प्रयास नगरिनु हो ।

तर केही संस्थाहरूले अहिलेको समयलाई जोगाउने काम गरिरहेका छन् । तीमध्ये धेरैजसो स्वयंसेवीका रूपमा काम कार्यरत छन् । वेबलाई बचाउने काममा अहिले इन्टरनेट आर्काइभ पर्यायवाची बनेको छ । यो सान फ्रान्सिस्कोमा आधारित एक अमेरिकी गैरनाफामूलक संस्था हो । सन् १९९६ मा इन्टरनेट पायोनियर ब्रुस्टर काहलले एक परियोजनाका रूपमा यसको सुरुवात गरेका थिए ।

हालसम्म यस संस्थाले विश्वभरबाट ८६६ अर्ब वेब पेज, साढे चार करोड पुस्तक, एक करोड चलचित्र/टेलिभिजन कार्यक्रम लगायतका डिजिटल सामग्री सङ्कलन गरिसकेको छ । विश्वभरि छरिएका डेटा सेन्टरमा राखिएका इन्टरनेट आर्काइभका सामग्री र यो जस्तै काम गर्ने अन्य केही समूहले आजको डिजिटल संसारलाई बचाउने काम गरिरहेका छन् ।

इन्टरनेट आर्काइभको वेब्याक मसिनका निर्देशक मार्क ग्राहमका अनुसार यो एउटा यस्तो उपकरण हो, जसले वेबसाइटहरूको स्न्यापशट लिएर भविष्यका लागि सुरक्षित गर्ने गर्छ ।

यद्यपि अहिले इन्टरनेट आर्काइभ जस्ता संस्थाले वित्तीय जोखिम, प्राविधिक चुनौती, साइबर आक्रमण र कानुनी लडाईं भोग्नु परिरहेको छ । हालैमात्र इन्टरनेट आर्काइभले ठूलो कानुनी हार बेहोरेको छ । त्यसले इन्टरनेट अभिलेखिकरण गर्ने काम कतै क्षणिक त होइन भन्ने प्रश्न उब्जाएको छ ।

अहिले मनोरञ्जन, समाचार, कुराकानी जस्ता हरेक कुरा डिजिटल बनिरहेको छ । तर ग्राहम डिजिटल संसार स्वाभाविक रूपमा कमजोर र अस्थायी भएको बताउँछन् ।

हालै मात्र प्यू रिसर्च सेन्टरको एक अध्ययनले सन् २०१३ देखि २०२३ बीचका २५ प्रतिशत वेब पेज सदाका लागि हराइसकेको देखाएको छ । भविष्यका लागि ती हाम्रा इतिहास हुन सक्थे ।

हराउने कुरा छँदै छ, सँगै पुराना वेब पेजहरूमा समस्या भएको पनि उक्त अध्ययनले देखाएको छ । अध्ययनले सन् २०१३ मा खुल्ने वेब पेजमध्ये ३८ प्रतिशत आजकल नखुल्ने देखाएको छ । यो समस्या हालैका वर्षहरूमा पनि देखिएको पाइएको छ । उक्त अध्ययनले सन् २०२३ मा प्रकाशित भएका करिब आठ प्रतिशत वेब पेजहरू सोही वर्ष नै नचल्ने तथ्य उजागर गरेको छ ।

सोही अध्ययनका अनुसार पाँचवटा सरकारी वेबसाइटहरूमध्ये कम्तीमा एउटामा काम नलाग्ने लिङ्क हुने गर्छ । अनि आधाभन्दा बढी विकिपीडिया पेजहरूको सन्दर्भ खण्ड राखिएको लिङ्कले काम गर्दैन । यसले अनलाइन इन्साइक्लोपेडिया (विश्वकोश)को सूचना प्रमाणित गर्ने सन्दर्भ इन्टरनेटबाट हराउँदै गइरहेको अर्थ दिने विश्लेषण गरिएको छ ।  

तर इन्टरनेट आर्काइभको वेब्याक मसिनले गर्दा सबैमा यस्तो अवस्था सिर्जना हुन दिएको छैन । यस परियोजनामा वेबसाइहरूलाई सुरक्षित गर्न रोबोटहरू प्रयोग गरिएको छ । जसले संसारभरका वेबसाइटहरू खोजेर तिनीहरूको वेबपेज भविष्यका लागि सुरक्षित गर्छन् । यसले गर्दा उक्त वेबसाइट काम नलाग्ने भए पनि ती कस्ता थिए र तिनमा के थिए भनेर भविष्यमा नि:शुल्क हेर्न सकिन्छ ।

यस अर्थमा इन्टरनेट आर्काइभले अनलाइन समाजका अभिलेखहरू भविष्यका लागि सुरक्षित गरिरहेको छ । यसबाहेक अन्य केही सानाठूला संस्थाहरूले यही प्रकृतिको परियोजनाहरूमा काम गरिरहेका छन् । 

उदाहरणका लागि, अमेरिकी कांग्रेस पुस्तकालयले सरकारी वेबसाइट, कांग्रेस सदस्यहरूको साइट र अमेरिकी समाचार साइटहरूको संग्रह सुरक्षित राखेको छ । यस पुस्तकालयले ट्विटर (एक्स) को स्थापना भएदेखि सन् २०१७ सम्ममा गरिएका हरेक ट्वीटको प्रतिलिपि सुरक्षित राखेको छ । युके वेब आर्काइभले डट युके (.UK) डोमेन नाम भएका वेबसाइटहरूको वर्षमा एकपटक भए पनि स्न्यापशट लिएर सुरक्षित गर्ने गर्छ ।

तर यी परियोजनाहरूको दायरा सीमित छ । अर्कोतर्फ इन्टरनेट आर्काइभले कुनै एक क्षेत्र अथवा देश नभएर विश्वभर आफ्नो काम गरिरहेको छ । अहिले उपलब्ध स्रोतहरूलाई हेर्दा इन्टरनेटमा आउने सबै कुरालाई अभिलेख गर्नु सम्भव छैन । यद्यपि यस्तो कामलाई फराकिलो बनाउन भने सकिन्छ । 

आजकल विकिपीडिया पेजमा मूल वेबसाइट लिङ्क गर्नुको साटो वेब्याक मेसिनमा राखिएको प्रतिलिपि प्रयोग गर्ने अभ्यास मानक बन्दै गइरहेको छ । हुन नि हो, किनकि यसले संस्थाले डिजिटल युगभन्दा पहिलेका मिडियादेखि आजको दिनसम्मका धेरै डिजिटल सामग्री सुरक्षित राखेको छ । 

उदाहरणका रूपमा यसमा सन् १९७७ को चर्चित कमेडी श्रृंखला ‘फ्रेनउड टू नाइट’ निःशुल्क हेर्न सकिन्छ । जुन कुनै पनि स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध छैन । किताब, पत्रपत्रिका र वेबसाइटमा पनि त्यस्तै अवस्था छ । तीमध्ये कतिपय किताब/पत्रपत्रिका भौतिक पुस्तकालयमा पाइँदैन ।

यसमा तपाईं आफैंले पनि भिडिओ, वेबसाइट जस्ता डिजिटल सामग्री यस संस्थाको सर्भरमा अपलोड गर्न सक्नुहुन्छ । जुन अरू कसैका लागि भविष्यमा निकै उपयोगी हुन सक्छ । यो फिचर यस संस्थाको सबैभन्दा राम्रो पक्ष हो ।

सन् २०२३ मा आफ्नो वेबसाइटबाट हजारौं समाचार हटाएपछि टेक समाचार वेबसाइट सीनेट (CNET) विवादमा तानिएको थियो । उक्त कार्यले दशकौंको इतिहास हराएको विश्लेषण गरिएको थियो । यता सीनेटले भने हटाएका सबै समाचार वेब्याक मेसिनमा सुरक्षित गरिएको प्रतिक्रिया दिएको थियो ।

तर सम्झनु पर्नु कुरा इन्टरनेट आर्काइभ एक गैर नाफामूलक संस्था हो । प्राप्त हुने दानले यो संस्था चल्ने गर्छ । खासमा यो एउटा अन्त्यहीन परियोजना जस्तै हो । तर यसको सञ्चालन गर्न निरन्तर बढिरहेको छ । किनकि हामी जति इन्टरनेट आर्काइभमा निर्भर हुँदै जान्छौं, त्यसमा खतराहरू पनि त्यति नै बढ्दै जाने गर्छ ।

हालैमात्र गुगलमा सर्च गर्दा वेब्याक मसिनको लिङ्क पनि देखाउने गरी संस्थाले अल्बाफेट (गुगल)सँग साझेदारीको गरेको घोषणा गरेको छ । तर आइरहेका समाचारले यो परियोजना अझै कमजोर भएको देखाउँछ । 

किनकि इन्टरनेट आर्काइभविरुद्ध पुस्तक प्रकाशक, संगीत लेबल आदिले मुद्दा लगाएका छन् । यदि यी मुद्दा हारे संस्थाको अस्तित्वलाई नै खतरामा पर्न सक्ने विश्लेषणहरू गरिएको छ । यद्यपि यस प्रकारको संस्थालाई मुद्दा मात्र खतरा होइन । ब्रिटिश लाइब्रेरीको युके वेब आर्काइभले २०२३ को अक्टोबरमा साइबर आक्रमणको सामना गर्नु पर्यो । यसको असर अहिले पनि परिरहेकै छ । 

यता इन्टरनेट आर्काइभले पनि गत मे २०२४ मा डीडस (DDoS) आक्रमणको सामाना गर्नु परेको थियो । केही समय वेब्याक मेसिन अफलाइन समेत भएको थियो । 

एक व्यक्तिबाट सुरु भएको इन्टरनेट आर्काइभ अहिले इन्टरनेटको केन्द्रबिन्दु जस्तै बनेको छ । तर यसलाई सञ्चालन गर्न त्यति सजिलो छैन । यो एउटा संस्था भएकाले कानुनी ढाँचामा मात्र बस्नु पर्ने छँदै छ । सँगै दैनिक रूपमा थपिने हजारौं इन्टरनेट सामग्रीलाई अभिलेख गर्न प्राविधिक पाटो पनि बलियो बनाउनु पर्ने छ ।

यदि अहिले नै इन्टरनेट आर्काइभको काम रोकिए र यस्तै अर्को संस्था नआए सार्वजनिक वेबमा उपलब्ध धेरै कुरा हराउन सक्ने ग्राहम चेतावनी दिन्छन् । तर उनी अहिले नै आफ्नो जिम्मेवारीबाट पछि नहट्ने सान्त्वना दिन्छन् । 

अब इन्टरनेटका सामग्रीलाई बचाउन प्राथमिकीकरण र विकेन्द्रीकरण गर्नु पर्ने भर्जिनिया विश्वविद्यालयकी प्रविधि इतिहासकार मार हिक्स बताउँछिन् । उनी इन्टरनेटलाई जानकारी र सामग्रीहरूको फोहोरको पाइप मानिन्छन् । उनका अनुसार फोहोर पाइपबाट निस्केको सबै कुरा समात्ने प्रयास गर्नु स्रोतको दृष्टिकोणबाट उपयुक्त हुँदैन ।

यसैकारण डिजिटल संसारमा भएका केलाई बचाउने भनेर प्राथमिकीकरण गर्नुपर्ने उनी सुनाउँछिन् । नत्र लोकप्रिय वेबसाइटहरूको डुप्लिकेट वा ट्रिप्लिकेट प्रतिलिपिहरू हुने र बेवास्ता गरिएका अन्य इतिहासबाट हराउने उनको भनाइ छ । 

त्यस्तै डिजिटल प्रिजरभेसन कोअलिशनका एन्ड्रु ज्याक्सन पनि इन्टरनेटका सबै कुरा सुरक्षित गर्न धेरै महँगो पर्ने सुनाउँछन् । उनी पश्चिमी संसारबाहेकका अन्य ठाउँको संसारलाई कम अभिलेख गरिएको स्वीकार गर्छन् । र यसका लागि पर्याप्त ठाउँ भएको बताउँछन् । 

इन्टरनेट अभिलेख गर्न प्राय: स्वतन्त्र समूह सक्रिय रहेको उनको बुझाइ छ । उनीहरूले आफ्नो फुर्सदको समयमा यस्तो काम गर्ने र जिम्मेवार निकायहरू भने आफ्नो जिम्मेवारी पूरा नगरी बस्ने उनी आरोप लगाउँछन् ।

इतिहासकार हिक्स भन्छिन् कि इन्टरनेटलाई अभिलेख गर्ने जिम्मेवारी कसको हो वा कसको चासो हुन्छ त्यो स्पष्ट छैन । तर अभिलेखको संरक्षणमा हामी सबैले समर्थन गर्नु पर्ने उनी मत राख्छिन् । इन्टरनेट अभिलेखको मुख्य उद्देश्य केवल सामग्री सङ्कलन गर्नु मात्र नभएर अनिश्चित भविष्यसम्म टिकाइरहनु भएको उनको भनाइ छ ।

-बीबीसीको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज १, २०८१ १७:२३