close

एनसेल फाउन्डेसन घोषणा, २० करोड रुपैयाँको सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता

टेकपाना टेकपाना

असोज १, २०८१ १७:५९

एनसेल फाउन्डेसन घोषणा, २० करोड रुपैयाँको सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरू सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ । आफ्नो यात्राको १९औं वार्षिकोत्सवका अवसरमा कम्पनीले फाउन्डेसन स्थापना गरेको हो ।  

“विगतका १९ वर्षमा एनसेलले एक करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गरी दुई अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको छ । हाम्रा सबै राम्रा कार्यलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्त्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।

एनसेलले सामाजिक उत्तरदायित्त्वका कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । २०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको थियो । साथै आफ्ना परिवारजन तथा आफन्तहरूसँग सम्पर्कमा रही रहन कम्पनीले ग्राहकलाई एक अर्ब ६० करोड रुपैयाँ बराबरको सेवा सुविधा निःशुल्क उपलब्ध गराएको थियो ।

कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड रुपैयाँ योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो । गत वर्षको जाजरकोट भुकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो र भुकम्प प्रभावित क्षेत्रका १० विद्यालयहरूलाई कक्षा कोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो । 

त्यसैगरी २०७१ सालमा देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरूको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गरेको थियो । 

१९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेल फाउन्डेसनले आगामी पाँच वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ सामाजिक पहलहरूमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ । 

“एनसेलले टावरहरू राख्ने, मानिसहरूलाई दूरसञ्चार सेवा प्रदान गर्ने र रोजगारी दिने काम मात्र गर्दैन । सीएसआरमा दिगो, प्रभावकारी र ‘हामी तपाईंकै लागि’ थिम अनुसार काम गर्दै नेपालमा एक उदाहरणीय कम्पनीका रुपमा स्थापित हुने लक्ष्य सहित अगाडि बढेको कम्पनी पनि हो एनसेल,” जाब्बोरले भने । 

सोही कार्यक्रममा एनसेलले हालै मात्र पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान पनि गरेको छ । 

एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजन पनि घोषणा गरिएको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यहरू कार्यान्वयन गरिने र प्रत्येक एक आयोजनाले १० लाख सीड फन्डको रुपमा सहयोग प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष ‘एटीन फर एटीन’ अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयन रहेका छन् । 

सन् २००५ मा आजकै दिन अर्थात् सेप्टेम्बर १७ देखि एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याएको को थियो । ‘‘यो यात्रा हाम्रो ग्राहक, साझेदारहरू, सरकारी निकाय तथा नियामक निकायको बलियो साथ र भरोस बिना सम्भव थिएन । यसै साथ र भरोसालाई आगामी दिनको लागि आत्मसाथ गर्दै नेपाललाई डिजिटल भविष्यतर्फ डोयउन हामी तत्पर छौ,’’ जाब्बोरले भने । 

उनका अनुसार नेपालको एक ठूलो करदाताको रूपमा एनसेलले सरकारलाई हालसम्म ३२० अर्ब रुपैयाँभन्दा बढी कर तथा शुल्क बुझाइसकेको छ ।

१९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले वृक्षारोपण, शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग, रक्तदान कार्यक्रम, स्किल क्याम्प लगायतका विभिन्न कार्यक्रमहरू आयोजना गर्नेछ । साथै एनसेल व्यवस्थापनका उच्चपदस्थ अधिकारीहरू र अन्य कर्मचारीहरू ग्राहकहरूसँग अन्तरक्रिया गर्न र उनीहरूको माया र निरन्तर सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरू र पोइन्ट अफ सेल्सको भ्रमण पनि गर्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज १, २०८१ १८:१९