काठमाडौं । नेपाली प्रविधि कम्पनी स्विभ्टले ‘उद्यमी शिखर सम्मेलन नेपाल २०२४’ आयोजना गर्ने भएको छ । कम्पनीले यही १९ असोजमा सोल्टी होटेल काठमाडौंमा उक्त सम्मेलन गर्न लागेको हो ।
कार्यक्रमले एसिया प्रशान्त क्षेत्रमा रहेका भेन्चर क्यापिटालिस्ट (भीसी), एन्जल इन्भेस्टर्स, वित्तीय संस्था, व्यावसायिक व्यक्ति तथा उद्यमशील समुदायलाई जोड्ने उद्देश्य राखेको छ । यसले नेपालको स्टार्टअप इकोसिस्टमलाई अझ बलियो बनाउन अवसरहरू सिर्जना गर्ने कम्पनीले विश्वास लिएको छ ।
विदेशी लगानीलाई आकर्षित गर्न र व्यावसायिक नवीनतालाई अघि बढाउन यस कार्यक्रमले मद्दत पुर्याउने स्विभ्टका संस्थापक तथा सीईओ सुवास शाहीले बताए । उनका अनुसार स्टार्टअप संस्थापक, लगानीकर्तालाई नेटवर्किङ, साझेदारी र सहकार्यका लागि यस कार्यक्रमले मञ्चको रूपमा काम गर्नेछ ।
यस शिखर सम्मेलनमा एक्सिरेट भेन्चर्सका सहसंस्थापक लियो लिउ, एसिया सीईओ कम्युनिटीका संस्थापक तथा सीईओ गेरी लाम, फिनटेक ग्लोबल बैंकिङ सोलुसन्सका माइकल हउ लगायत आउने भएका छन् । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल लगानी बोर्डका सीईओ सुशील ज्ञवालीसमेत कार्यक्रममा उपस्थित हुनेछन् ।