close

हाम्रो बजारबाट अब उधारोमा सामान किन्न सकिने

टेकपाना टेकपाना

असोज ९, २०८१ २०:५१

हाम्रो बजारबाट अब उधारोमा सामान किन्न सकिने

काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म हाम्रोबजारबाट अब उधारोमा सामान किन्न सकिने भएको छ । हाम्रोबजारले एफवन सफ्ट इन्टरनेसनल प्रालिको फोनलोन सेवासँग सहकार्य गरी ‘बाई नाउ, पे लेटर’ (हाम्रो बीएनपीएल) सुविधा ल्याएसँगै उधारोमा सामान किन्न सकिने भएको हो ।

उपभोक्ताले किस्ताबन्दीमा भुक्तानी गर्नेगरी हाम्रोबजारमा उपलब्ध उत्पादन खरिद गर्न सक्नेछन् । यसका लागि foneloan.hamrobazaar.com नामको छुट्टै वेबसाइट सञ्चालनमा ल्याइएको छ । उपभोक्ताले यस वेबसाइटमा कुनै पनि प्रडक्टको डिटेल पेजमा गई मोबाइल बैंकिङ एपमार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

किस्ताबन्दीमा चाहेको सामान किन्ने सुविधा प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको एफवन सफ्टका निर्देशक सुवास शर्माले बताए । ‘फोनलोन’ एफवन सफ्ट अन्तर्गतको डिजिटल लेन्डिङ सेवा हो ।

यस्तै हाम्रोबजारले यस सेवामार्फत उपभोक्ताले सुविधाजनक र लचिलो किनमेलको विकल्प पाउने विश्वास लिएको छ । कम्पनीका अनुसार विश्वका चर्चित ब्राण्डका उत्पादन यो प्लेटफर्ममा समावेश गरिएको छ ।

कसरी प्रयोग गर्ने ?

  • हाम्रोबजारको वेबसाइटमा गई HamroBNPL ब्यानरमा क्लिक गर्नुहोस् वा सिधै foneloan.hamrobazaar.com वेबसाइटमा जानुहोस् ।

  • अब मनपर्ने उत्पादन छान्नुहोस् र पेजको तल रहेको 'स्क्यान टु पे' मा गई मोबाइल बैंकिङ एपमार्फत क्यूआर कोड स्क्यान गर्नुहोस् ।

  • उपलब्ध किस्ताबन्दी योजना छानी अर्डर कन्फर्म गर्नुहोस् ।

‘हाम्रो बीएनपीएल’मा योग्य हुन उपभोक्ता फोनपे पार्टनर बैंकको ग्राहक हुनुपर्छ । हाल यो सेवाका लागि पार्टनर बैंकहरूमा कृषि विकास बैंक लिमिटेड, कुमार बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक र नेपाल इन्भेसमेन्ट बैंक लिमिटेड रहेका छन् । यदि तपाईंले समयमै भुक्तानी नगरे ब्याज र जरिवाना शुल्क लाग्न सक्छ । सेवाका शर्त थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज ९, २०८१ २१:१४