काठमाडौं । नेसनल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (न्यासआईटी)ले ११ विधामा अवार्ड वितरण गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै न्यासआईटीले विभिन्न विधामा उत्कृष्ट ठहरिएका कम्पनी एवं परियोजनालाई पुरस्कृत गरेको हो ।
यसअन्तर्गत टर्सीयरी स्टुडेन्ट प्रोजेक्ट (अन्डरग्र्याड) विधामा मनिटरिङ सिटी एयर क्वालिटी इन्डेक्स (वायु) परियोजनाले अवार्ड जितेको छ । त्यस्तै सजिलो सेवाले मार्केटप्लेसेज विधामा अवार्ड पायो भने काठमाडौ लिभिङ ल्याब्स कन्सल्टले तयार पारेको बाटो भेहिकल राउटिङ सिस्टमले ट्रान्सपोर्ट एन्ड लजिस्टिक्स अवार्ड पायो ।
सुरक्षा समाधानतर्फ त्रिलोक्य टेक्नोलोजी प्रालिले विकास गरेको कम्प्लायन्स म्यानेजमेन्ट सिस्टमले सेक्युरिटी सोलुसन्स अवार्ड पाउँदा टुना टेक्नोलोजी प्रालिको टुना एचएमएसले आईसीटी सर्भिस सोलुसन्स अवार्ड पायो ।
प्रोफेसनल सर्भिसेज सोलुसन्स अवार्ड भने रिगो टेक्नोलोजीले तयार पारेको रिगो एचआरले जित्यो । त्यस्तै शिक्षा क्षेत्रमा योगदान गरेको इन्ग्रेल्स प्रालिले तयार पारेको वेदले एजुकेसन अवार्ड जितेको छ ।
अलपास टेक्नोलोजी प्रालिले विकास गरेको एलएमसी अलर्ट सिस्टमले गभर्नमेन्ट, सिटिजन सर्भिसेस एन्ड डिजिटल गभर्नमेन्ट अवार्ड पाएको छ । त्यस्तै बैंकिङ, इन्स्योरेन्स र फाइनान्स क्षेत्रको अवार्ड खल्ती डिजिटल वालेटले प्राप्त गरेको छ ।