close

सामाजिक सञ्जालमा कोही किन जहिल्यै नकारात्मक लेख्छन् ?

टेकपाना टेकपाना

असोज १८, २०८१ १५:२०

सामाजिक सञ्जालमा कोही किन जहिल्यै नकारात्मक लेख्छन् ?

काठमाडौं । सामाजिक सञ्जालमा अभ्यस्त भइरहँदा तपाईंले पक्कै पनि नकारात्मक कमेन्ट तथा पोस्ट आइरहेको देख्नु भएकै होला । वा, सम्भवतः कहिलेकाहीं तपाईं आफैले पनि नकारात्मक लेखिरहनु भएको हुन सक्छ । आखिर मान्छेले सामाजिक सञ्जालमा किन नकारात्मक टिप्पणी गर्छन् ? यसको पछाडिको मनोवैज्ञानिक कारण के हो ?

काठमाडौं विश्वविद्याल, अङ्ग्रेजी विभागका प्राध्यापक डा. सिद्धार्थ ढुङ्गानाका अनुसार सामाजिक सञ्जालमा मान्छे विभिन्न कारणले नकारात्मक लेख्छन् । त्यसमध्ये एउटा हो, अर्बन साइकोलोजी (सहरी मनोविज्ञान) ।

“मान्छेले सहरी मनोविज्ञानलाई आत्मसात गर्न नसक्दा चिन्तामुक्त गर्ने बहानामा सामाजिक सञ्जालको प्रयोग गर्छन्,” डा. ढुङ्गाना भन्छन्, “खासगरी आधुनिकीकरण विस्तार भइरहेको अवस्थामा आफू अगाडि बढ्न सकिरहेको हुँदैन । त्यसमा साइकोलोजीलाई रिल्याक्स चाहिन्छ । यसको रिल्याक्सिङ प्रोसेसमा मान्छे नकारात्मक टिप्पणी गर्छ । ”

डा. ढुङ्गानाका अनुसार साइकोलोजीको 'रिल्याक्सिङ' प्रक्रियामा सामाजिक सञ्जालका फिडहरू नयाँ-नयाँ जानकारी आइरहेको बेला मान्छेले आफूले के कमेन्ट गरेको थिएँ भन्ने नै सम्झिन सक्दैन । त्यस्तोमा क्षणिक रूपमा आवेशमा आएर मान्छे नकारात्मक प्रतिक्रिया जनाउने उनी बताउँछन् ।

त्यस्तै समथा साइकोलोजिकल केयर प्रालिकी अध्यक्ष एवं मनोवैज्ञानिक अनिता प्रजापति पनि डा. ढुङ्गानाको धारणमा समर्थन जनाउँछिन् । उनी भन्छिन्, “सामाजिक सञ्जालको लत लागेपछि अरू विषयमा ध्यान केन्द्रित हुन सकिंदैन । जसले गर्दा काममा असर पर्ने, जाँगर नलाग्ने, कामै नगर्ने, अध्ययन नगर्ने बानी बस्छ । यस्तो हुँदा व्यक्तिमा आर्थिक र मानसिक असर पर्छ । त्यही आवेग पोख्ने ठाउँ सामाजिक सञ्जाल बनिदिन्छ ।”

सामाजिक सञ्जालमा व्यक्ति वास्तविक पहिचानबाटै आउनुपर्छ भन्ने हुँदैन । जसले जुन नामबाट अकाउन्ट बनाए पनि हुन्छ । अर्काको नाम वा फोटो प्रयोग गरेको सन्दर्भमा भने साइबर अपराधतिर जोडिन्छ यो विषय । यसरी अज्ञात रहेर प्रयोग गर्ने सुविधा भएकाले व्यक्तिको वास्तविक पहिचान बाहिर आउँदैन । त्यसैमा ढुक्क भएर पनि केही व्यक्तिको स्वभाव नै सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया दिने हुने गरेको प्रजापतिको भनाइ छ ।

त्यसैगरी सामाजिक सञ्जालमा भर्खर भर्खर मात्र सक्रिय हुन थालेका व्यक्तिलाई नकारात्मक र सकारात्मक प्रतिक्रियाको बारेमा खासै वास्ता हुँदैन । त्यस्तै अश्लील वा नकारात्मक कमेन्ट गर्दा उनीहरूलाई आफ्ना आफन्त, साथीभाइ वा चिनेका व्यक्तिलाई थाहा हुँदैन भन्ने लाग्छ । र, कमेन्ट गर्छन् । जब कि फेसबुक लगायतका सामाजिक सञ्जालले सार्वजनिक पोस्टमा गरेका कमेन्ट कतिबेला कसको फिडमा पुर्‍याउँछ भन्न सकिंदैन ।

डा. ढुङ्गाना र प्रजापतिले औंल्याएका विभिन्न मनोवैज्ञानिक कारणलाई सूचीका रूपमा यहाँ प्रस्तुत गरिएको छ:

१) गुमनाम हुने सुविधा र जवाफदेहीताको अभाव
सामाजिक सञ्जालका प्लेटफर्ममा गुमनाम बस्न सकिने सुविधा हुन्छ । गुमनाम हुँदा मानिस केही प्रतिक्रिया जनाउन कम सङ्कोच मान्छ । यसले गर्दा उनीहरूले प्रत्यक्ष कुरा गर्ने स्थितिमा भन्दा बढी नकारात्मकता प्रकट गर्न सक्छन् । यसलाई अनलाइन ‘डिसिन्हिबिसन इफेक्ट’ (Disinhibition Effect) भनिन्छ । जब प्रयोगकर्तामा गुमनामको अवस्था महसुस हुन्छ, तब उनीहरूलाई आफ्नो व्यवहारको प्रत्यक्ष परिणामको सामना गर्नुपर्दैन भन्ने भावना हुन्छ । जसले उनीहरूलाई चोट पुर्‍याउने वा आलोचनात्मक टिप्पणी गर्न प्रोत्साहित गर्न सक्छ ।

२) सामाजिक तुलना
मानिसले प्रायः सामाजिक सञ्जालमा आफूलाई अरूसँग तुलना गर्छन् । यसले असमर्थता, ईर्ष्या वा निराशाको भावना ल्याउन सक्छ । यस भावनात्मक प्रतिक्रिया स्वरूप मान्छे नकरात्मक टिप्पणी गर्न प्रेरित हुन्छन् । यो सामाजिक तुलना सिद्धान्तसँग मेल खान्छ जहाँ अरूको सफलता वा खुसीलाई देखेर ईर्ष्या उत्पन्न हुन सक्छ । यसले केहीलाई आक्रोशित गर्न प्रेरित गर्न सक्छ ।

३) ध्यान खिच्ने
नकरात्मक टिप्पणी केही व्यक्तिहरूको लागि 'एटेन्सन सिक' अर्थात् अर्काको ध्यान आफूतिर आकर्षित गर्ने तरिका हुन सक्छ । त्यसका लागि प्रयोगकर्ता ‘ट्रोल’ वा विरोधाभास विचारको सहायता लिन्छन् । यस्ता सामग्री प्रकाशन गर्नु र अर्काको ध्यान आफूतिर खिच्न सामाजिक सञ्जाल सबैभन्दा उपयुक्त माध्यम गइरहेको छ । सकारात्मक विचार राख्नेभन्दा नकारात्मक र विरोधाभास विचार गर्ने व्यक्ति छिट्टै अरूको नजरमा पर्ने सम्भावना बढी हुन्छ । यसैले पनि मानिसहरू सामाजिक सञ्जालमा नकारात्मक हुन्छन् ।

४. ग्रुप मेन्टालिटी
‘ब्यान्ड वागन इफेक्ट’ वा ग्रुप मेन्टालिटी (भीड मानसिकता)ले मानिसहरूलाई नकरात्मक टिप्पणी गर्न प्रेरित गर्न सक्छ । विशेषगरी एउटा कसैले नकारात्मक विचार राखेको छ भने त्यसलाई आफ्नो विचार समान मानी समर्थन गर्नेहरू हुन्छन् । उस्तै नकारात्मक विचार भएका व्यक्तिको बहुमत हुँदा त्यो ‘विषाक्त व्यवहार’ मा परिणत हुन्छ ।

५) भावनात्मक प्रकट गर्ने माध्यम
केहीका लागि सामाजिक सञ्जाल आफूहरूमा जम्मा भएको निराशा, रिस वा तनावलाई व्यक्त गर्ने माध्यम हो । जब मानिसहरू पहिले नै भावनात्मक रूपमा अशान्तिमा हुन्छन्, तब उनीहरू आक्रामक वा नकरात्मक टिप्पणीहरू पोस्ट गर्न बढी इच्छुक हुन सक्छन् । यसले भावनात्मक राहतको काम गरेको हुन्छ ।

६) सहानुभूतिको अभाव
डिजिटल सञ्चारले दूरी सिर्जना गरेको छ । यसले गर्दा मानिसहरू अरूलाई सहानुभूति दिनुपर्छ भन्ने मान्यताबाट टाढै हुन्छन् । यस्तोमा आफूले गरेको कमेन्ट वा पोस्टले अर्कालाई कस्तो भावनात्मक प्रभाव पर्छ भन्ने ख्याल गरिएको हुँदैन ।

७) संज्ञानात्मक पूर्वाग्रह
नकरात्मकता पूर्वाग्रह भनेको नकरात्मक अनुभवहरूले सकारात्मक अनुभवभन्दा एक व्यक्तिको मानसिक स्थितिमा बढी प्रभाव पार्ने प्रवृत्ति हो । सामाजिक सञ्जालमा मानिसहरू प्रायः के मन पर्छ, त्यसमा ध्यान केन्द्रित गर्छन् । र यसलाई व्यक्त गर्न प्रेरित महसुस गर्छन् । यसले नकरात्मक टिप्पणीहरूको अनुपातलाई अत्यधिक बनाउँछ ।

८) आत्म-सम्मानको कमी
केही व्यक्तिहरू जसको आत्म-सम्मान कम छ उनीहरूले आफ्नो असुरक्षालाई अरूमा सार्न नकरात्मक कमेन्ट गर्ने गर्छन् । अरूको आलोचना गर्दा उनीहरूको आफ्नै मूल्यको भावना अस्थायी रूपमा बढ्न सक्छ । र, यसले आफ्ना कमजोरीहरू वा संघर्षहरूबाट उनीहरूको ध्यान हटाउँछ ।

९) अन्यायको भावना
केही नकरात्मक कमेन्ट अन्यायको भावना वा असमानताको कारण उत्पन्न हुन्छन् । विशेषगरी विवादास्पद विषयमा कुरा भइरहेको छ भने नकारात्मक कमेन्ट बढी आउने गर्छन् । सामाजिक सञ्जालका माध्यम मानिसहरूका लागि उनीहरूको असन्तोष वा रिस व्यक्त गर्न एक प्लेटफर्म बनेका छन् । समाज, कुनै कम्पनी, ब्रान्ड, कुनै व्यक्ति वा अन्य प्रयोगकर्ताबाट अन्याय महसुस गरेको बेला आवेगमा आएर उनीहरू नकारात्मक कमेन्ट गर्छन् ।

१०) होच्याउने स्वभाव
केही प्रयोगकर्ता अरूलाई आफ्नो अधीनमा पारेको आभास गराउन नकारात्मक कमेन्ट गर्ने गर्छन् । वा, आफू कमजोर भएको अवस्थामा बलियो देखाउन पनि केही मानिसहरू नकारात्मक कमेन्टको सहारा लिन्छन् । अरूको आलोचना गरेर वा तिनीहरूलाई तल पार्दा उनीहरू आफ्नो स्थान माथि भएको वा आफू उच्च स्थानमा भएको महसुस गर्छन् ।

सामाजिक सञ्जालमा आउने नकारात्मक कमेन्टसँग कसरी सामना गर्ने ?

१) प्रतिक्रिया नजनाउने
सबैले राम्रै नियतले सामाजिक सञ्जालका पोस्टमा कमेन्ट गरेका हुन्छन् भन्ने हुँदैन । तपाईंको पोस्टमा आउने कमेन्टका पछाडि माथि उल्लेख गरिएका मनोवैज्ञानिक कारणहरू पनि हुन सक्छन् । त्यसैले नकारात्मक कमेन्ट छ भने त्यसलाई सोझै बेवास्ता गर्नुहोस् । त्यस्ता कमेन्टमा प्रतिक्रिया जनाउँदा तपाईं समस्यामा पर्ने जोखिम बढी हुन्छ । 

२) ब्रेक लिनुहोस् 

तपाईंले सामाजिक सञ्जालमा निरन्तर नकारात्मक कमेन्टको सामना गरिरहनु भएको छ भने ब्रेक लिनुहोस् । केही समय सामाजिक सञ्जालमा पोस्ट गर्ने वा विवादित हुने विषय वा विचार नराख्नुहोस् । 

३) रिपोर्ट वा ब्लक गर्नुहोस् 

तपाईंको पोस्टमा अनावश्यक नकारात्मक कमेन्ट आइरहेका छन् भने त्यस्ता अकाउन्टलाई रिपोर्ट गर्नुहोस् । वा, त्यो व्यक्तिको पोस्ट, कमेन्ट वा अन्य सामग्रीमा तपाईंलाई कुनै चासो छैन भने सोझै ब्लक गर्न सक्नुहुन्छ । 

४) सकारात्मक विषयमा केन्द्रित हुनुहोस् 

तपाईंले नकारात्मक कमेन्टको सामना गरेको भए पनि सामाजिक सञ्जालभरी नकारात्मक कमेन्ट मात्र हुन्छन् भन्ने हुँदैनन् । सामाजिक सञ्जाल प्रयोग गरिरहँदा सकारात्मक विषय वस्तुमा केन्द्रित हुनुहोस् । सकारात्मक पोस्ट पढ्नुका साथै सकारात्मक अन्तर्क्रियामा जोड दिनुहोस् । 

५) सहायता खोज्नुहोस् 

सामाजिक सञ्जालमा तपाईंलाई नकारात्मक कमेन्टले दिक्क बनाएका छन् भने यस विषयमा आफ्ना नजिकका आफन्त वा साथीभाइसँग कुरा राख्नुहोस् । आफूले सामाना गरेको नकारात्मक विषयको जानकारी अरूसँग बाँड्दा त्यसले पार्ने नकारात्मक प्रभाव कम हुन्छ ।

नकारात्मक कमेन्ट न्यूनीकरण गर्नका लागि व्यक्ति, समाज, सरकार र सम्बन्धित प्लेटफर्मले के गर्नुपर्ला ?

यसलाई कम गर्नका लागि सामाजिक सञ्जालका प्लेटफर्ममा फिल्टरका अप्सनहरू राख्नु जरुरी भएको डा. ढुङ्गानाको भनाइ छ । “हामीले सामाजिक सञ्जालका माध्यमलाई नै अनुरोध गरेर फिल्टरेसनको पार्टलाई सिस्टमबाटै व्यवस्थापन गर्न लगाउनु पर्छ,” डा. ढुङ्गाना थप्छन्, “यसमा सरकार गम्भीर भएर लाग्नुपर्ने हुन्छ । त्यस्तै समाजलाई प्रतिनिधित्व गर्ने व्यक्ति र संस्थाको पनि यसमा उत्तिकै दायित्व हुन्छ ।”

समाजका स-साना सफलताका कथालाई सामाजिक सञ्जाल र सञ्चार माध्यममा ल्याउन सकियो भने यसले मनोवैज्ञानिक रूपमा मान्छेको मनस्थितिमा नकारात्मक विषय उठाउनबाट कम गर्ने उनी सुनाउँछन्  । 

त्यसैगरी नकारात्मक पोस्ट वा कमेन्टलाई बेवास्ता गर्नु पनि उत्तिकै आवश्यकता छ । आफूसँग सम्बन्धित नै नभएको विषयमा बाझिन जाँदा त्यहाँ आउने कमेन्टले व्यक्तिमा नकारात्मक असर निम्त्याउँछ ।

पछिल्लो अध्यावधिक: असोज १८, २०८१ १५:४३