close

अब सामसङ फोनबाटै घरको ढोका खोल्न सकिने !

टेकपाना टेकपाना

असोज १८, २०८१ १८:२८

अब सामसङ फोनबाटै घरको ढोका खोल्न सकिने !

काठमाडौं । यदि तपाईंसँग ग्यालेक्सी फोन छ भने चाँडै नै त्यसमा ट्याप मात्र गरेर घरको ढोका खोल्न सक्नुहुने छ । यसका लागि सामसङले ग्यालेक्सी फोनलाई ढोका खोल्ने साँचो बनाइरहेको छ ।  

यसपछि तपाईंले साँचो हराउने झन्झट लिइरहनु पर्दैन । तपाईंको फोन नै साँचो बन्ने छ । यसका लागि सामसङले आफ्नो वालेटको डिजिटल होम कीमा अलिरो (Aliro) स्मार्ट की प्रयोग गर्ने घोषणा गरेको छ । 

इन्टरनेट अफ थिङ्स (आईओटी)का विभिन्न स्ट्यान्डर्डहरू विकास तथा प्रवर्द्धन गर्ने कनेक्टिभिटी स्ट्यान्डर्स अलायन्स (सीएसए)ले स्मार्ट लकका लागि हालै जारी गरेको नयाँ स्ट्यान्डर्ट नै अलिरो हो । हाल यो स्ट्यान्डर्ड विकासको चरणमा छ । यसलाई सामसङ, एप्पल र गुगलले अन्य लक तथा चिप निर्माताहरूसँगै विकास गरिरहेका छन् ।

यसमा कुनै पनि स्मार्ट ढोकाको ताला खोल्न ट्याप टू अनलक र ह्यान्ड्सफ्री अनलक फिचर हुनेछ । हुन त स्मार्ट ताल्चा खोल्न सकिने फिचर अहिले पनि ग्यालेक्सी फोनहरूमा उपलब्ध छ । यसका लागि तपाईंले आफ्नो सामसङ वालेटमा डिजिटल की राख्नुपर्ने हुन्छ । 

तर यस फिचर आएपछि भने तपाईंले स्मार्ट ताल्चा खोल्न सामसङ वालेटमा जानुपर्ने अथवा मोबाइलको लक खोल्ने झन्झट गरिरहनु पर्दैन । तपाईंले फोन अथवा स्मार्टवाचमा ट्याप गरेकै भरमा ढोका खोल्न सक्नुहुन्छ ।

सामसङले ल्याउन लागेको ट्याप टू अनलक फिचर भने एप्पलको होम की फिचर जस्तै हुनेछ । त्यसमा ढोकामा नजिक गएपछि स्मार्टफोन वा स्मार्टवाचमा ट्याप गर्नासाथ ढोका स्वतः: खुल्छ । यो फिचर सन् २०२५ भित्र उपलब्ध हुने अनुमान छ । यसका साथै ग्राहकसँग अलिरोसँग मिल्ने स्मार्ट ढोका पनि हुनु पर्नेछ । 


 

पछिल्लो अध्यावधिक: असोज १८, २०८१ १८:४३