close

प्रतिबन्ध खुलेपछि नेपालमा टिकटकको कार्यक्रम, साना व्यवसायीलाई प्लेटफर्म सदुपयोग गर्न आग्रह

टेकपाना टेकपाना

असोज २१, २०८१ २२:३२

प्रतिबन्ध खुलेपछि नेपालमा टिकटकको कार्यक्रम, साना व्यवसायीलाई प्लेटफर्म सदुपयोग गर्न आग्रह

काठमाडौं । नेपालमा साना तथा मझौला व्यवसायहरूलाई डिजिटल क्षेत्रमा थप सशक्त बनाउने उद्देश्यसहित टिकटकले एक कार्यशाला आयोजना गरेको छ । आइतवार राजधानीमा ‘#GrowWithTikTok मास्टरक्लास’ नाममा भएको कार्यशालामा टिकटकको प्रभावकारी उपयोगमार्फत व्यवसायलाई कसरी प्रवर्द्धन र विस्तार गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा व्यवसायी, मार्केटर तथा उद्यमीहरू सहभागी थिए । सो अवसरमा युवा पुस्तासँग सजिलै जोडिन र उत्पादन तथा सेवालाई रचनात्मक ढंगले प्रस्तुत गर्न टिकटक कसरी उपयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा सहभागीहरूलाई जानकारी दिइएको थियो ।

साथै टिकटकमा उपलब्ध कन्टेन्ट क्रियसन टुल प्रयोग गरेर व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने बारेमा पनि चर्चा गरिएको थियो । 

विशेषज्ञहरूको नेतृत्वमा सञ्चालन भएको कार्यशालामा टिकटक अभियानहरूलाई प्रभावकारी बनाउने रणनीति र साना व्यवसायका लागि यस प्लेटफर्मको महत्त्वको बारेमा छलफल गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार ​सहभागीहरूले थोरै लागतमा ठूलो संख्यामा ग्राहकसम्म पुग्न सकिने टिकटकका फाइदाबारे जान्न पाएका थिए ।

कार्यशालामा सहभागीहरूले प्रशिक्षणसँगै विभिन्न उद्योगका व्यवसायीहरूसँग नेटवर्किङ गर्ने अवसर पनि पाएका थिए । 

नेपालमा आफूमाथि लागेको प्रतिबन्ध हटेसँगै टिकटकले सार्वजनिक रूपमा विभिन्न कार्यक्रम गर्न थालेको छ । स्थानीय व्यवसायी र युवा समुदायलाई सशक्त बनाउनेगरी नयाँ अवसरहरू सिर्जना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २१, २०८१ २२:४७