काठमाडौं । आफ्नो वर्कस्पेस सुटमा गुगलले हालै थपेको टुल हो, गुगल भिड्स । जुन २०२४ मा सार्वजनिक भएको यो टुल एआईमा आधारित छ । हेर्दा यो टुल एआई एकीकृत गरिएको गुगल स्लाइड्स जस्तै छ ।
तर यसले भिडिओ एडिटर सफ्टवेयरको काम पनि गर्छ । यसकारण भिडिओ सम्बन्धी काम गर्न मन पराउने जोकोहीलाई यो टुल उपयोगी हुन सक्छ । तर यसबाट प्रोफेसनल तरिकाले भिडिओ सम्पादन भने गर्न सकिँदैन ।
सामान्य खालका अझ भनौं प्रेजेन्टेसनभन्दा अलि बढी काम भने यसबाट मज्जैले गर्न सकिन्छ । आफ्ना प्रोडक्टबारे जानकारी दिन, तालिम सम्बन्धी भिडिओ बनाउन यो टुल उपयोगी हुन्छ । यहीकारण गुगल भिड्सको युजर इन्टरफेस (यूआई) सामान्य खालको बनाइएको छ ।
तपाईं यदि युगल स्लाइड्स चलाइरहनु हुन्छ भने करिबन त्यस्तै युआई पाउनुहुन्छ । अलि नयाँ भनेको यो टुलमा टेक्स्ट, इमेज, भिडिओ थप्न साधारण खालको भिडिओ टाइमलाइन दिइएको छ ।
गुगल भिड्समा १० मिनेट लामो भिडिओमा मात्र काम गर्न सकिन्छ । त्यसैगरी तेर्सो (होरिजेन्टल) भिडिओमात्र सपोर्ट गर्छ । यसमा भिडिओ भने फ्रेम अनुसार सम्पादन गर्न सकिन्छ । खासमा गुगल यो टुल स्लाइड्सबाट प्रभावित भएर बिजनेस प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ल्याएको हो ।
प्रयोगकर्तालाई सजिलो होस् भनेर गुगलले टुलमा आफ्नै एआई मोडल जेमिनाई प्रयोग गरेको छ । हाल एआईले सिन (दृश्य) सुझाव गर्ने, स्क्रिप्ट लेख्ने, स्टोरीबोर्ड तयार पार्ने जस्ता काममा सहयोग गर्छ । यी काम गर्न तपाईंले केही प्रम्प्ट लेखे पुग्छ । यसो हुँदा गुगल भिड्समा काम गर्दै जाँदा केही समस्या भइहाले एआई छँदै छ ।
त्यस्तै गुगल डक्समा जसरी यसमा पनि अन्य प्रयोगकर्तासँग मिलेर उही समयमा काम गर्न सकिन्छ । हुन त यसमा पहिल्यै तयार पारिएका केही डिजाइन टेम्प्लेट पनि छन् । जसलाई तपाईंले आफ्नो भिडिओमा प्रयोग गर्न सक्नुहुन्छ ।
यसका साथै भिडिओमा सङ्गीत चाहिए रोयल्टी तिर्नु नपर्ने सङ्गीतहरू गुगल लाइब्रेरीबाट छान्न सक्नुहुन्छ । टुलमा तपाईं अथवा कम्प्युटर स्क्रिनको भिडिओ खिच्ने बिल्ट इन फङ्सन पनि रहेको छ । यसरी सबै काम गरिसकेपछि तपाईंले भिडिओलाई लिङ्क मार्फत अथवा एमपी फोरमा डाउनलोड गरेर शेयर गर्न सक्नुहुन्छ ।
हाल वर्कस्पेस सप्सक्रिप्सन लिएर वर्कस्पेस ल्याब एक्टिभेट गरेका अथवा जेमिनाई अल्फा प्रयोगकर्ताहरूबीच मात्र यो टुल सीमित गरिएको छ ।
भिडिओ सम्पादन सम्बन्धी बजारमा अनेकन् टुल पाइन्छन् । यसकारण गुगल भिड्सको भविष्य कस्तो हुन्छ भन्ने कुरा प्रयोगकर्ताहरूले यस कति रुचाउँछन्, त्यसमा भर पर्ने देखिन्छ ।