close

दशैं बिदामा गितार सिक्न चाहनुहुन्छ ? यी युट्युब च्यानल हेर्नुहोस्

टेकपाना टेकपाना

असोज २५, २०८१ १०:२२

दशैं बिदामा गितार सिक्न चाहनुहुन्छ ? यी युट्युब च्यानल हेर्नुहोस्

काठमाडौं । चाडबाडको छुट्टी भएता पनि दशैं बिदा लामै हुने गर्छ । पारिवारिक भेटघाट बाहेक तपाईंले यो समयमा आफ्नो लागि समय छुट्ट्याउन सक्नुहुन्छ । कुनै नयाँ सीप सिक्न सक्नुहुन्छ । ती मध्ये बिदामा गितार बजाउन सिक्नु एउटा राम्रो विकल्प हो ।

यदि तपाईंसँग गितार छ, तर बजाउन आउँदैन भने चिन्ता लिनु पर्दैन । किनकि युट्युबमा सजिलै गितार बजाउन सिकाउने भिडिओ पाउन सकिन्छ । त्यसमाथि नेपाली गितारवादकहरूले पनि यस प्रकारको भिडिओ हाल्ने गरेका छन् । सामान्य: गुगल सर्च गर्ने हो भने धेरैले यस प्रकारको भिडिओ युट्युबमा अपलोड गरेको भेट्टाउन सकिन्छ ।

भिडिओ संख्या, नियमितता, गुणस्तर, भ्युज, कमेन्ट, सब्सक्राइबर आदिलाई आधार मानेर आज हामी गितार सिकाउने केही नेपाली युट्युब च्यानलबारे चर्चा गर्नेछौं ।

नेपाली वर्णानुक्रम ती च्यानलबारे तल चर्चा गरिएको छ:
 

गोपाल रसाइली (Gopal Rasaili)

नेपालका चर्चित गितारवादक हुन्, गोपाल रसाइली । उनले आफ्नो नामबाट खोलेको च्यानलमा गितार सम्बन्धी भिडिओ हाल्ने गरेका छन् । च्यानलमा उनले गितार लेसनबाहेक सङ्गीत सम्बन्धीकै अन्य भिडिओ राखिरहेका हुन्छन् । ती हेर्दा पनि गितार बजाउन खोजिरहेकालाई फाइदा नै हुन्छ ।

उनको च्यानलमा अहिलेसम्म १४७ ओटा भिडिओ छन् । भिडिओको संख्या कम भएता पनि आधारभूत ज्ञान लिन यो च्यानल उपयोगी हुन सक्छ ।

गितार शप (Guitar Shopााा)

गितार शप सङ्गीत सम्बन्धीका सामग्रीहरूको विक्रीवितरण गर्ने कम्पनी हो । तर कम्पनीले आफ्नो च्यानलमार्फत गितारसम्बन्धीको भिडिओ नियमित रुपमा अपलोड गरिरहेको हुन्छ । प्राय: जसो गितार शपको भिडिओमा हरि कुँवर देखिरहेका हुन्छन् ।

उनले गितार बजाउन सिकाउने मात्र होइन, गितारमा आवश्यक पर्ने अन्य उपकरणबारे जानकारी दिइरहेका हुन्छन् । त्यस्तै यस च्यानलमा विभिन्न गितार र सहयोगी डिभाइसहरूको रिभ्यु, सिद्धान्त, अन्य कलाकारसँगको कुराकानी आदिका पनि भिडिओ अपलोड हुन्छ । यसो हुँदा गितार बजाउन सिक्ने मात्र नभएर अन्य विषयको पनि ज्ञान लिन सकिन्छ ।

 

कुश प्लेज (Kush Plays)

भारतको सिलिगुडीमा बसिरहेका कुशल लामाले चलाइरहेको च्यानल हो, कुश प्लेज । घर भारतमा भए पनि उनले नेपाली भाषाका गीतहरू गितारमा बजाउन सिकाइरहेका हुन्छन् । च्यानल सुरु गर्दै गर्दा कभरहरू बजाए पनि उनले त्यही समयदेखि नै गितार लेसनको भिडिओ हाल्दै आएका छन् । अहिलेसम्म उनको च्यानलमा साढे छ हजार बढी भिडिओ अपलोड भइसकेको छ ।

उनले गितार बजाउन मात्र नभएर गितारको सैद्धान्तिक पक्षहरू पनि सिकाएका छन् । त्यस्तै ‘कराओके’ (karaoke) पनि उपलब्ध छ । यसले गर्दा गितारसँगै तपाईंले गीत पनि गाउन सक्नुहुन्छ । उनले पनि नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका गीत बजाउन सिकाएका छन् ।

नेपाल गितार ट्युटोरियल (Nepal guitar Tutorial)  

सुनिल शाक्यको नेतृत्वमा सञ्चालन भइरहेको यो च्यानल गितार सिक्न चाहनेका लागि अर्को राम्रो युट्युब च्यानल हो । यस च्यानललाई ‘एनजीटी’ नामले पनि चिनिन्छ । च्यानलमा सङ्गीतका सिद्धान्त, गितार ट्युटोरियल, रिभ्यु, कराओके , भ्लग, रियाक्सन भिडिओ अपलोड हुने गर्छ ।

सुरुमा यस्ता सबै कुरा एकै ठाउँमा भन्ने तपाईंलाई लाग्न सक्छ । तर यो च्यानल गितार बजाउन सिक्ने मात्र नभइ एउटा गितारवादकको जीन्दगी हेर्ने च्यानल पनि हो । च्यानलमा गितार बजाउन सिकाउने भिडिओको संख्या कम भए पनि शाक्यले सकभर सङ्गीत सिद्धान्त पनि सिकाउन खोजिरहेका हुन्छन् । यसकारण गितार बजाउने कलासँगै सैद्धान्तिक ज्ञान पनि बलियो बनाउन यो च्यानल राम्रो विकल्प हुन सक्छ ।

नेपाली ई-कर्ड्स (Nepali E-chords) 

सम्भवत: युट्युबमा गितार बजाउन सिकाउने पहिलो नेपाली  च्यानल हो,  नेपाली ई-कर्ड्स । साजिद पौड्यालको नेतृत्वमा चलिरहेको यस च्यानल अहिले सक्रिय छैन । तर च्यानलमा गितार बजाउन सिकाउने भिडिओ प्रशस्तै छन् । केही वर्षअघिसम्मका गीतहरू बजाउन सिक्न यो च्यानल राम्रो विकल्प बन्न सक्छ ।

विवेकएसी अफिसियल (bibekac OFFICIAL)

गितारवादक विवेक अछामीले यो च्यानलमा विगत छ वर्षदेखि नियमित रूपमा गितार बजाउन सिकाउँदै आएका छन् । अहिलेसम्म उनको च्यानलमा १२०० भन्दा बढी भिडिओ अपलोड भइसकेका छन् । उनले नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका गीतमा गितार बजाउन सिकाएका छन् । च्यानलमा विभिन्न गायक, भाषा, उत्सव आदिका आधारमा उनले प्लेलिस्ट समेत बनाएका छन् ।

त्यस्तै गितार सोलो, युकेलीली समेत उनले बजाउन सिकाएका छन् । यसका साथै उनले भिडिओ पनि नियमित रूपमा अपलोड गरिरहेका हुन्छन् । यसले गर्दा गितार बजाउन भर्खर सिक्दै गरेकादेखि गितार हल्का जान्नेसम्मका लागि यो च्यानल उपयुक्त हुन सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २५, २०८१ १०:२२